शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउन्ड जुम्ला

सांसदमा कसैलाई नदोहोर्‍याउने जुम्लाले यो पटक के गर्ला ?

पुराना दललाई मत क्रसको डर, नयाँलाई मत बदलिने आश
आइतबार, २५ माघ २०८२, १४ : ३१
आइतबार, २५ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

सुर्खेत । प्रतिनिधि सभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको जुम्लामा एक पटक सांसद निर्वाचित भइसकेको व्यक्ति अर्को निर्वाचनमा फेरि निर्वाचित हुन सकेको छैन । ०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट नेपाल मजदुर किसान पार्टीका डिल्लीबहादुर महत निर्वाचित भए । ०५१ सालमा नेमकिपाले नै उम्मेदवार फेर्दै भक्तबहादुर रोकायालाई अघि सार्‍यो । रोकाया निर्वाचित हुँदा एमाले दोस्रो र कांग्रेस तेस्रो स्थानमा सीमित रहे ।

०५६ सालमा एमालेका देवीलाल थापा निर्वाचित भए । त्यसपछिका चुनावमा माओवादी प्रमुख राजनीतिक शक्तिका रूपमा उदायो । ०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीका नरेश भण्डारी निर्वाचित भए । ०७० को निर्वाचनमा कांग्रेसका ललितजंग शाही निर्वाचित हुँदा प्रतिस्पर्धी माओवादीका गजेन्द्र महत पराजित भए । ०७४ को निर्वाचनमा भने माओवादीका महत निर्वाचित भए । उक्त चुनावमा एमाले—माओवादीबिच गठबन्धन थियो ।

०७९ को प्रतिनिधि सभा चुनावमा भने कांग्रेस—माओवादीबिच गठबन्धन हुँदा पनि राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनाव जिते । यसरी हेर्दा जुम्ला अहिलेसम्म प्रतिनिधि सभातर्फ कुनै पनि सांसदलाई दोहोर्‍याएर मौका नदिने जिल्लामा पर्दछ ।

प्रतिनिधि सभाका निवर्तमान सांसद ज्ञानेन्द्र शाही राप्रपाबाट फेरि उम्मेदवार बनेका छन् । यहाँ नेकपा एमालेले शान्तिलाल महत, नेपाली कांग्रेसले दिपबहादुर शाही, नेकपाले नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीले बिनिता कठायत र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले मनऋषि धिताललाई उम्मेदवार बनाएको छ ।

नेकपाबाट उम्मेदवार बनेका भण्डारी ०६४ मा निर्वाचित भएका थिए । उनकै पहलमा ‘विकासको जुम्ला मोडल’ स्थापना भएको चर्चा हुन्छ । कर्णालीलाई ‘चाँदीको घेरा’ नामक पुस्तकमा चर्चा गरेका भण्डारी यसअघि गुमेको माओवादीको साख जोगाउने उद्देश्यसहित चुनावी मैदानमा फर्किएका छन् ।

०७४ मा प्रदेश झरेर कर्णालीको कानुनमन्त्री समेत बनेका भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चुकेनी जलविद्युत् जस्ता ठुला परियोजना आफ्नै परिकल्पनामा बनेको भन्दै जनताले त्यसको श्रेयसहित आफूलाई जिताउने दाबी गरेका छन् ।

उनी उम्मेदवार बन्ने भएपछि र पुनः सांसद नदोहोर्‍याउने ‘न्यारेटिभ’थाहा पाएका राप्रपाका ज्ञानेन्द्र सुरुमा सुर्खेत—२ बाट चुनाव लड्ने चर्चा थियो । उनी उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन सुर्खेत आएर यहाँको बस्तुस्थिति बुझेका थिए । यद्यपि, सुर्खेत–२ मा सकारात्मक माहोल पाएपछि उनी जुम्ला नै फर्किए ।

यहाँ दुई जना यसअघि सांसद भइसकेका नेताहरू चुनावी मैदानमा आउँदा अन्य दलबाट भने नयाँ अनुहार मैदानमा छन् । एमाले, कांग्रेस, रास्वपा, प्रलोपाका उम्मेदवार पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यहाँ सांगठनिक रूपमा सबैभन्दा बलियो राजनीतिक दल माओवादी (हाल नेकपा) हो, तर ०७९ को जनमत हेर्दा एमाले पहिलो दल हो । ०७९ मा समानुपातिकतर्फ एमालेले १० हजार ५४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ४५८ र माओवादीले ८ हजार ९६० मत पाएको छ ।

प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत पाउँदा समानुपातिक तर्फ उनको पार्टी राप्रपाले ५ हजार ७९६ मात्र पाएको छ । हाल नेकपामा समाहित दल एकीकृत समाजवादीले २ हजार ६४८, नेमकिपाले २ हजार ७३ र रास्वपाले झन्डै ९ सय मत पाएको छ ।

प्रदेश सभातर्फको समानुपातिक मतमा भने कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।

प्रत्यक्षतर्फ राप्रपा पहिलो हुँदा दोस्रोमा माओवादीका गोमा गौतम कुवँरले ११ हजार ९५९ र एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाएका थिए ।

पुराना र नयाँको आ–आफ्नै चिन्ता

समानुपातिक अङ्कगणितलाई विश्लेषण गर्दा कांग्रेस र एमालेबिच तै मुख्य प्रतिस्पर्धा हुने देखिए पनि जेनजी आन्दोलनपछिको राजनीतिक लहरले जुम्लालाई पनि स्वाभाविक रूपमा प्रभाव पारेकाले नतिजा यस्तै हुन्छ भनेर किटान गर्नसक्ने अवस्था छैन ।

कांग्रेसका उम्मेदवार शाही स्थानीयस्तरमा चिनिएकै नेता हुन् । यद्यपि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र गुटबन्दी र प्रतिशोधको राजनीति तीव्र हुँदै गएको छ । त्यसैले कांग्रेसको मत विभाजित हुने हो कि भन्ने चिन्ता शाहीलाई छ ।

एमाले उम्मेदवार महत ०७४ सालमा चन्दननाथ नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी एमाले जुम्लाका अध्यक्ष भइसकेका नेता हुन् । महत विगतका गल्ती सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै चुनाव प्रचारमा छन् । उनी सांसद नदोहोर्‍याउने जुम्लाको स्वभाव पनि यस पटक आफ्ना लागि अनुकूल हुने ठहर गर्छन् ।

पातारासीबाट कांग्रेस र नेकपाका भोट राप्रपाका ज्ञानेन्द्रलाई जाने डर पुराना दललाई छ । यी दल निकट मतदाना भएको सिंजा क्षेत्रमा पनि केही भोट ज्ञानेन्द्र र प्रलोपाका उम्मेदवार मनऋषितर्फ जाने विश्लेषण नेताहरूले गरेका छन् ।

धितालको उम्मेदवारी नेकपाका लागि ठुलो चुनौती बनेको छ । धिताल यसअघि माओवादीमा हुँदै चुनाव लड्न चाहेका थिए । ०७९ मा सुरुमा धितालले टिकट पाएर सुर्खेत आइपुगेको चर्चा थियो, तर बिच बाटोमै टिकट खोसेर गोमा गौतम कुँवरलाई थमाइएको सो पार्टीका नेता–कार्यकर्ता बताउँछन् ।

धिताल माओवादीले थालेको १० वर्षे सशस्त्र युद्धमा माओवादीको मुखपत्र जनादेश पत्रिकाका पत्रकार हुन् भने माओवादीभित्रका बौद्धिक युवा हुन् । उनले युद्धकालीन एक दर्जन पुस्तक लेखेका छन् । बौद्धिक वर्गभित्र उनको छाप राम्रो छ । सिंजाका धितालले अघिल्लो पटक टिकट नपाएको सहानुभूति आफ्नो गृह क्षेत्रबाट लिनसक्ने आकलन नेकपाका नेताहरूले गरेका छन् ।

एकातिर राप्रपाका शाही, अर्कातिर आफ्नै पूर्वसहकर्मीले भोट काट्ने र पार्टीभित्रको कलहले यो चुनाव नेकपाका भण्डारीलाई भारी पर्न सक्ने आकलन गरिन्छ । नेकपाभित्रकै अर्को समूह (पूर्वसांसद गजेन्द्र महतहरू)ले उनलाई कत्तिको साथ दिन्छन् भन्ने कुरालाई चासोका साथ साथ हेरिएको छ ।

सामाजिक सञ्जालमा राप्रपाका ज्ञानेन्द्रको चर्चा भए पनि ग्राउन्ड रिपोर्ट त्यस्तो नभएको स्थानीय बताउँछन् । ज्ञानेन्द्रले अघिल्लो पटक विकास र समृद्ध जुम्लाका लागि मत मागे पनि राजा फर्काउने अभियानमा लागेको आरोप उनीमाथि छ । असन्तुष्ट मतदातालाई उनले विश्वासमा लिन सक्छन् कि सक्दैनन् भन्ने विषयले नै उनको सफलता निर्धारण गर्न सक्छ ।

यही अवस्थाका बिच पुराना तीन दल कांग्रेस, एमाले र नेकपाका नेताहरू राप्रपा, प्रलोपा र रास्वपाका उम्मेदवारले आफूहरूको मत काट्ने भूमिका खेल्न सक्ने त्रासमा छन् । यद्यपि अघिल्लो निर्वाचनमा राप्रपाका शाहीको अप्रत्याशित जितलाई हेर्ने हो भने जुम्लाका जनताले अपत्यारिलो नतिजा दिएर फेरि पनि सबैलाई चकित नबनाउलान् भन्न सकिँदैन ।

यहाँ रास्वपाले उम्मेदवार बनाएकी कठायत यसअघि समानुपातिक सांसद थिइन् । उनले मतदताहरूलाई परिवर्तनका लागि भन्दै भोट तान्ने प्रयत्न गरिरहेकी छन् ।

जुम्लामा ७१ हजार ७३९ मतदाता संख्या छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप