अब जुम्लाको नेतृत्व कांग्रेसले गर्छ : दीपबहादुर शाही
सारांश
- जुम्लामा नेपाली कांग्रेसले दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ, जो पहिलो पटक चुनावमा प्रतिस्पर्धा गर्दैछन्।
- शाहीले मतदाताको सकारात्मक प्रतिक्रिया पाएको र कांग्रेसले चुनाव जित्ने दाबी गर्दै अन्य दल असफल भइसकेको बताए।
- उनले जुम्लाको विकास र समृद्धिका लागि आफूसँग स्पष्ट योजना रहेको र कांग्रेसलाई जनताले रोज्ने विश्वास व्यक्त गरे।
सुर्खेत । सांसद नदोहोर्याउने जुम्लामा यो पटक नेपाली कांग्रेसले फ्रेस उम्मेदवारका रूपमा दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक चुनावमा भाग लिन लागेका हुन् ।
पहिलो चरणको चुनाव अभियानमा व्यस्त रहेका शाहीले यो पटक जुम्लामा आफूले चुनाव जित्ने दाबी गरे । उनले जुम्लामा अन्य दल असफल भइसकेको भन्दै अब कांग्रेसले नेतृत्व लिने बताए । प्रस्तुत छ, उनीसँगको चुनावी कुराकानीको अंश:
- पहिलो पटक चुनाव मैदानमा जानु भएको छ, अभियान कसरी चल्दै छ ?
तपाईंसँग कुरा गर्दा पनि म चुनाव अभियानमै व्यस्त छु । गुठिचौर गाउँपालिकाका केही बस्ती र वडाहरू, पातरासीको केही वडामा कार्यक्रम सकेको छु । अहिले म पातरासीको तल्पी गाउँमा छु । चन्दननाथ नगरपालिकाका केही बस्ती र जुम्ला बजारदेखि नाग्म गाउँसम्मका बजारहरूमा दाजुभाइहरूसँग भेटघाट गरेँ । बाँकी ठाउँहरूमा पनि हाम्रा नेता र शुभचिन्तकहरू खटिरहनुभएको छ ।
- कांग्रेसप्रति कस्तो प्रतिक्रिया पाउनुभयो नि ?
यो पटक कांग्रेसप्रति मतदाताको भरोसा निकै सकारात्मक पाएँ । देशले परिवर्तन खोजिरहेको बेला कांग्रेसको पछिल्लो महाधिवेशनबाट गगनकुमार थापाजस्ता युवा नेताहरू नेतृत्वमा आएपछि जनतामा नयाँ आशा पलाएको छ । कांग्रेसले नै देशका समसामयिक समस्या समाधान गर्न सक्छ भन्ने विश्वास मतदातामा देखिएको छ ।
- कांग्रेसले चुनाव परिणाम आफ्नो पक्षमा पार्न सक्ने सम्भावना कति छ ?
चुनावी प्रचारप्रसारका क्रममा जुम्लाका सम्पूर्ण मतदाताको भावना, अनुहार र विचार हेर्दै गर्दा अहिलेका सबै उम्मेदवारमध्ये मलाई निष्ठा, इमानदार र सेवाभावको राजनीति गर्ने व्यक्तिका रूपमा मतदाताले बुझेको पाएको छु । अरू पार्टीका मतदाताहरूले आ–आफ्नो पार्टीको वकालत गरे पनि समग्र जुम्लाको नेतृत्व तहदेखि शुभचिन्तक र मतदातासम्म कांग्रेस एकजुट भएर लागेको महसुस गरेको छु । जुम्लाका मतदाताहरूको मप्रति ठुलो आस र भरोसा छ ।
म सानै उमेरदेखि राजनीतिमा लागेको हो । ०४८ सालदेखि राजनीतिमा प्रवेश गरेर ०४९ र ०५४ सालमा गाविस अध्यक्ष भई निरन्तर जनताको घरदैलोमा छु । यो पटक जुम्ली जनताले मलाई न्याय गर्नेछन् र जुम्लाको नेतृत्व गर्ने अवसर दिनेछन् भन्ने विश्वास छ । सबै हिसाबले हेर्दा यो पटक जुम्लामा कांग्रेसले जित्ने निश्चित जस्तो छ । हाम्रा साथीहरू टोल–टोल र वडा–वडामा खटिरहनुभएको छ । मतदाताको उत्साह र उपस्थिति हेर्दा हामी ठुलो मतान्तरले जित्ने मेरो आकलन छ ।
- कांग्रेसको प्रतिस्पर्धी जुम्लामा कुन दल हो नि ?
अब चुनावी मैदानमा आएका सबै प्रतिस्पर्धी नै हुन् । म व्यवहारको राजनीति गर्ने मान्छे हो । लोकतन्त्र हो, चुनावी मैदानमा आएपछि सबै प्रतिस्पर्धी नै हुन् । समानुपातिक मत हेर्दा एमालेको धेरै मत छ, तर अहिले जनता परिवर्तन चाहन्छन् । कांग्रेसको नयाँ नेतृत्व र मेरो लामो राजनीतिक तथा समाजसेवाको इतिहासका कारण जुम्ली जनताले मलाई नै रोज्नेछन् । अर्को कुरा, जुम्ली जनता सधैँ परिवर्तनको पक्षमा उभिँदै आएका छन् । यहाँ सांसद दोहोर्याउँदैनन्, थाहै होला ।
- तर जुम्ला कांग्रेसभित्र गुटगत समस्या छ भन्छन् नि ? अन्तर्घातको डर कत्तिको छ ?
त्यस्तो केही छैन । जुम्लामा कांग्रेसका अग्रज नेतृत्वदेखि शुभचिन्तकसम्म सबै ढिक्का छन् । कतै पनि मत बाहिर जाने वा अन्तर्घात हुने अवस्था छैन । सबै जना उत्साहका साथ चुनावी मैदानमा हुनुहुन्छ ।
- तपाईंलाई जुम्ली जनताले किन मत दिने ? तपाईंका एजेन्डा के छन् ?
जुम्लाको विकास र समृद्धि नै सबैको एजेन्डा हो । यहाँबाट यसअघि निर्वाचित भइसकेका दल वा उम्मेदवारले जुम्लामा ‘मैले विकास गरेँ’ भन्ने गरेका छन् । सबैजसो जनप्रतिनिधिको काम नै जनताको सेवा गर्ने र जिल्लाका समस्या समाधान गर्ने हो, उहाँहरूले त्यो गर्नु भयो होला, तर जुम्ला जसरी अघि बढ्नुपर्थ्यो, त्यसरी अघि बढ्न सकेन ।
जुम्लाका चार वटा भेग छन्—सिंजा, चौधबीस, पान्से र असी । यी भेगका आ–आफ्नै समस्या छन् । ती समस्यालाई मैले नजिकबाट नियालेको छु र ती समस्या समाधान गर्ने स्पष्ट खाका मसँग छ । अन्य दल र नेताहरू जुम्ला निर्माणमा असफल भइसक्नु भयो, अब जुम्लाको नेतृत्व कांग्रेसले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण