कर्णालीका मुख्यमन्त्री र मन्त्रीलाई पनि लाग्यो चुनाव !
सारांश
- निर्वाचन नजिकिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चुनावी अभियानमा सक्रिय भएका छन्।
- मुख्यमन्त्री कँडेलले चुनावी कार्यक्रममा निजी गाडी प्रयोग गर्ने र जेनजी आन्दोलन तथा नयाँ राजनीतिक दलको आलोचना गरेका छन्।
- प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षले संसद बैठक बहिष्कार गरेको छ, भने सरकारले बेवास्ता गरेको छ।
सुर्खेत । प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि सांसदहरूलाई पनि चुनाव लागेको छ । उनीहरू आ–आफ्ना पार्टीले आयोजना गर्ने चुनावी अभियानमा सरिक हुन थालेका हुन् ।
मुख्यमन्त्री यामलाल कँडेल चुनावको समय तोकेदेखि नै सरकारभन्दा पार्टीका कार्यक्रममा बढी देखिन थालेका थिए । अहिले पनि उनले त्यही क्रमलाई जारी राखेका छन् । उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै उनले प्रायः चुनावी कार्यक्रमलाई नै प्राथमिकता दिइरहेका छन् ।
मुख्यमन्त्री कँडेल शुक्रबार दैलेख क्षेत्र नम्बर २ द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जम्बुकाँध पुगेका थिए । उनीसँगै सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह पनि सो कार्यक्रममा सहभागी भए ।
शुक्रबार जम्बुकाँधमै बसेका मुख्यमन्त्री कँडेलले शनिबार दैलेख क्षेत्र नम्बर १ को कार्यकर्ता भेलालाई सम्बोधन गरे । उनी सुर्खेतमा हुने एमालेका हरेकजसो चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।
सुर्खेत र दैलेखका गरी चार वटै क्षेत्रमा एमालेबाट मुख्यमन्त्री कँडेल निकट मानिने उम्मेदवार छन् । अहिले एमालेले जित्न सक्ने आकलन गरिएका क्षेत्र पनि यिनै भएकाले कँडेलले विशेष चासो दिइरहेको स्रोत बताउँछ ।
मुख्यमन्त्री कँडेल पार्टीको केन्द्रीय सचिव तथा कर्णालीका चुनावी कमान्डरसमेत हुन् । उनी पछिल्लो समय वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा प्रायः पुगिरहन्छन् ।
चुनावी कार्यक्रममा निजी गाडी प्रयोग गर्छन् कँडेल
मुख्यमन्त्री कँडेलले चुनावी कार्यक्रममा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने गरेको उनको सचिवालयले जनाएको छ । ‘उहाँले चुनावी अभियान तथा कार्यक्रममा जाँदा सरकारी गाडी प्रयोग गर्नुहुन्न,’ सचिवालयका एक सदस्यले भने ।

मुख्यमन्त्री कँडेलले एमाले निकट व्यवसायी वीरबहादुर रावतको गाडी लिएर चुनावी कार्यक्रममा जाने गरेको स्रोतले जनाएको छ । दैलेख जाँदा पनि उनले रावतकै गाडी प्रयोग गरेका थिए ।
एमाले निकट नेताहरूका अनुसार, प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कँडेलकै संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ, जसका सदस्यमा मानव बम, वीरबहादुर रावत र हरिहरनाथ योगी छन् ।
जेनजी आन्दोलनविरुद्ध आक्रामक र वृद्धभत्ता चुनावी एजेन्डा
मुख्यमन्त्री यामलाल कँडेलले हरेकजसो कार्यक्रममा जेनजी आन्दोलन र नयाँ भनिएका राजनीतिक दलविरुद्ध आक्रामक मन्तव्य दिन्छन् । त्यतिबेला सरकारको नेतृत्व गरिरहेका आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको बचाउमा उनी उत्रिन्छन् ।
मुख्यमन्त्री कँडेलले आसन्न चुनावलाई देश जलाउने र देश बनाउनेहरूबिचको लडाइँका रूपमा व्याख्या गर्दै आएका छन् । उनले आफ्नो पार्टी एमालेलाई देश बनाउने पार्टीका रूपमा चित्रण गर्ने गरेका छन् ।
शुक्रबार र शनिबार दैलेखमा भएका चुनावी कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुक निर्माण र ध्वंस गर्ने शक्तिबिचको लडाइँ नै आसन्न चुनाव भएको टिप्पणी गरे । यस पटक नेकपा एमालेले जित्न नसके देशको संविधान, लोकतन्त्र र स्थायित्व जोखिममा पर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले केही समयअघि जेनजीहरूलाई ‘तपाईंहरू केटाकेटी नै हुनुहुन्छ, केही बुझ्नुहुन्न’ भन्दै आलोचना गरेका थिए । उनले चुनावी कार्यक्रममा जेनजी आन्दोलन र नयाँ राजनीतिक दलविरुद्ध अभिव्यक्ति दिनुका साथै वृद्धभत्तालाई नै चुनावी एजेन्डा बनाइरहेका छन् ।
केही दिनअघि वीरेन्द्रनगरमा आयोजित चुनावी कार्यक्रममा उनले भने, ‘मनमोहनले १०० रुपैयाँ दिए, आज त्यो ४ हजार पुग्या छ, कोही बुढापाका डराएर भागेर जाने कुरा छैन । अहिले वृद्धभत्ता आश्रय थलो बन्या छ ।’
प्रतिपक्षीद्वारा आलोचना
कर्णाली प्रदेश सरकारको कामकारबाही भने सुस्त छ । बजेट खर्च निराशाजनक छ । चालु आर्थिक वर्षमा लक्ष्य अनुसार न बजेट कार्यान्वयन हुन सकेको छ, न त सरकारका अन्य कार्यसम्पादन चुस्त र प्रभावकारी नै हुन सकेको छ ।

प्रदेश सभा बैठकमा समेत सरकारको आलोचना सुनिन थालेको छ । लामो समयपछि बसेको प्रदेश सभा बैठकमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले सरकारको कामकारबाहीबारे प्रश्न उठाए ।
माघ १९ गते बसेको बैठकमा नेकपाकै सांसद कृष्णबहादुर जिसीले यामलाल कँडेल नेतृत्वको टिम सरकार सञ्चालनमा पूर्ण रूपमा असफल भइसकेको दाबी गरे । ‘अहिलेसम्म बजेट कार्यान्वयनको अवस्था विगतका वर्षहरू भन्दा कमजोर छ । बन्नुपर्ने ऐन, नियमावलीदेखि नीति, विधिहरू बनेका छैनन्,’ उनले भने, ‘कांग्रेस—एमाले सरकार सञ्चालनमा पूर्ण रूपमा असक्षम भइसके ।’
बजेट कार्यान्वयन, खेलकुद परिषदको सदस्यसचिव नियुक्ति प्रक्रियाजस्ता जस्ता कुरामा सरकार गैरजिम्मेवार बनेको उनको टिप्पणी थियो । सरकार गैरजिम्मेवार बनेको र प्रतिपक्षलाई अवहेलना गरेको भन्दै आइतबारको संसद बैठक नै प्रतिपक्षले बहिष्कार गरेको छ ।
मुख्यमन्त्री कँडेलले भने सरकारका विषयमा उठेका कुराहरूलाई बेवास्ता गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण