झापा–५ : सर्वसाधरणमा सुरक्षा चिन्ता, प्रहरीको उच्च निगरानी
सारांश
- झापा क्षेत्र नम्बर ५ मा निर्वाचनको समयमा सुरक्षा चिन्ता बढेको छ, किनकि यहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र बालेन्द्र शाह प्रतिस्पर्धा गर्दैछन्।
- निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ, र प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै कुकुरसहितको गस्ती बढाएको छ।
- डीआईजी विनोद घिमिरेले निर्वाचन शान्तिपूर्ण रूपमा हुने बताएका छन्, तर विपक्षी समूहको गतिविधिमा निगरानी भइरहेको छ।
विराटनगर । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमक नगरपालिका–६ का भरतकुमार श्रेष्ठ आगामी फागुन २१ गते निर्वाचन नै नहुने हो कि भन्ने शंका गर्छन् । उनले हल्ला सुनेका छन्, ‘यहाँ भावी प्रधानमन्त्रीका उम्मेदवारहरू कुनै एक जनाले चुनाव हार्ने भए भने ठुलै दुर्घटना वा हुलदंगा हुन्छ र मान्छे मर्छन् । त्यस्तो दुर्घटना भएपछि निर्वाचन स्थगित हुन्छ ।’
‘हैन यहाँ चुनाव हुनचाहिँ दिन्छन् ? हार्ने निश्चित भएपनि कुनै पक्षले चुनाव हुन नदिन ठुलै घटना गराउँछन् भन्ने सुनिन्छ त ?,’ उनले पनि प्रश्न गरे । २५ वर्षदेखि दमकमा जुत्ता व्यवसाय गरेर बसेका उनलाई अहिलेको जस्तो संशय यसअघि कहिल्यै भएको थिएन ।
झापा क्षेत्र नम्बर ५ देशभरकै सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र हो । यहाँबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका काठमाडौंका पूर्वप्रमुख बालेन्द्र शाह प्रतिस्पर्धामा छन् । दुवैको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सुरक्षा चिन्ता पनि बढ्दै गएको छ ।
दमकमा माघ ४ गते मनोनयन दर्ताकै दिन एमालेका कार्यकर्ता र रास्वपाका कार्यकर्ताबिच सामान्य झडप भएको थियो ।
झापा–५ बाट उम्मेदवारी दिएका रास्वपाका शाहले उम्मेदवारी दर्ताको समयमै हतास देखिएका थिए । मनोनयनका लागि निर्वाचन कार्यालयतर्फ अगाडि बढिसकेपछि रास्वपाका समर्थक र एमाले कार्यकर्ताबिच कुटाकुट र धकेलाधकेल भएको थियो । त्यतिबेलै खुम झाँक्री मगर नामको फेसबुक आइडिबाट पोस्ट भएको भिडियोमा बालेन शाहलाई गोली हान्नुपर्छ भनेर संवाद गरिएको थियो । उक्त झडप हुनु र गोली हान्नुपर्छ भनेको भिडियो सार्वजनिक भएपछि बालेन साहले उतिबेलै आफूलाई सुरक्षा थ्रेटको महसुस गरेका थिए । त्यसै दिनदेखि सर्वसाधरणमा सुरक्षा चिन्ता अझै हट्न सकेको छैन ।

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले भयरहित वातावरणमा निर्वाचन गराउन उपर्युक्त सुरक्षा प्रबन्ध रहेको बताए । ‘चुनाव हुन सबैभन्दा पहिले जनताले सुरक्षित महसुस गर्नु सबैभन्दा ठुलो र पहिलो कुरा हो, त्यो वातावरण अहिले बिग्रिएको छैन । चुनाव हुँदैन भन्ने किसिमको हल्ला त जुन दिन सरकारबाट मिति घोषणा भयो, त्यही दिनदेखि नै थियो । तर अहिले यति धेरै प्रक्रियाहरू अगाडि बढिसकेका छन्, निर्वाचन सामग्रीहरू आइसकेका छन्, कर्मचारीहरू अरनखटन (परिचालन) भइरहेका छन् । त्यसैले अब चुनाव नहुने भन्ने कुरामा कुनै शंका रहेन,’ उनले भने ।
यद्यपि उनले झापा ५ को अवस्था विशिष्ट रहेको र सुरक्षाको व्यवस्था सोहीअनुसार भएको उनले बताए । ‘झापा ५ मा दुई जना भावी प्रधानमन्त्रीका उम्मेदवारहरू हुनुहुन्छ, त्यसैले अन्य क्षेत्रको तुलनामा यहाँको सुरक्षाको गम्भीरता बढी हुनु स्वाभाविक हो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अन्य क्षेत्रमा प्रहरीले जसरी सुरक्षा व्यवस्था मिलाइरहेको छ, झापा ५ मा हामीले मनोनयन दर्ताकै दिनदेखि नै विशेष ध्यान दिएका छौँ,’ घिमिरेले भने ।
सुरक्षा चिन्ताकै कारण झापामा थप सुरक्षाकर्मी परिचालन र प्रविधिको प्रयोग गरिएको छ । ‘हामीले त्यहाँ थप १०० जना प्रहरीहरू खटाएका छौँ । जसमा दुई जना इन्स्पेक्टरहरू हुनुहुन्छ र डीएसपी पनि त्यहाँ जानुहुन्छ । हामीले सुरक्षाका लागि प्रविधिको पनि प्रयोग गरेका छौँ । साथै, सादा पोसाकका प्रहरीहरूलाई सूचना संकलनका लागि परिचालन गरिएको छ,’ डीआईजी घिमिरेले भने, ‘निर्वाचन हुँदैन वा केही दुर्घटना हुन्छ भन्ने कुराहरू सबै मनगढन्ते हुन् । मान्छेहरूले आफैँले बनाएको कल्पना मात्र हो । चुनाव शान्तिपूर्ण रूपमै हुन्छ, यसमा ढुक्क भए हुन्छ ।’

डीआईजी घिमिरेले विपक्ष वा अन्य समूहको गतिविधिमा निगरानी गरिरहेको पनि बताए । ‘चुनाव बिथोल्न सक्ने त्यस्ता तत्त्वहरूको हामीले पहिचान गरेका छौं । उनीहरूको गतिविधि र सम्भावित व्यक्तिहरू को–को हुन् भन्ने सबै सूचना हामीसँग छ । हामीले उनीहरूलाई निगरानीमा राखेका छौँ । उनीहरूले कुनै पनि अप्रिय घटना घटाउन सक्दैनन्,’ घिमिरेले भने, ‘जुन ठाउँ अलि अप्ठ्यारो छ भनिन्छ, त्यहाँ हामीले बढी सावधानी अपनाएका छौँ । झापा ५ मा अन्य ठाउँभन्दा झन् शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ । यसमा कोही पनि असुरक्षित महसुस गर्नुपर्ने कारण छैन ।’
निर्वाचन क्षेत्रमा कुकुरसहित गस्ती, उच्च सतर्कता
निर्वाचनको मिति नजिकिँदै जाँदा सो निर्वाचन क्षत्रमा भने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले दमकसहितका क्षेत्रमा कुकुर परिचालनसहितको सघन खानतलासी र चेकजाँच अभियानलाई तीव्र पारेको छ ।
दमकमा आयोजित सर्वदलीय छलफलमा राजनीतिक दलहरूले विगतमा घर र सरकारी कार्यालय जलाउने गतिविधिमा संलग्न व्यक्तिहरू नै अहिले निर्वाचन अभियानमा सक्रिय रहेको भन्दै सुरक्षा चिन्ता व्यक्त गरेका थिए । सामाजिक सञ्जालहरूमा समेत उम्मेदवारलक्षित धम्कीपूर्ण अभिव्यक्ति आउनुले सुरक्षा थ्रेट बढाएको उनीहरूको दाबी छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष ओली र रास्वपा नेता शाहबिचको घरदैलो कार्यक्रम जुध्ने अवस्थाले पनि झडप हुनसक्ने सुरक्षाकर्मीको अनुमान छ । आइतबार कमल गाउँपालिकाका विभिन्न टोलमा ओली पुगेको भोलिपल्टै शाह पनि पुगेका थिए । दुई पक्षका समर्थकबिच जम्काभेट हुँदा नाराबाजी र मुठभेड हुन सक्ने प्रहरीको आकलन छ । दमकको बसपार्क, ताराबारी र हबल्दार चोकजस्ता सीमा क्षेत्रमा हुने आवतजावतलाई लक्षित गरी आपराधिक गतिविधि हुन सक्ने प्रहरीको अनुमान छ ।
सुरक्षा मजबुत बनाउनकै लागि केनाइन शाखा धरानबाट प्रहरी नायव निरीक्षक यमबहादुर श्रेष्ठको कमान्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । उक्त टोलीले विस्फोटक पदार्थ, लागुऔषध र अवैध सामग्रीको खोजी गरिरहेको छ ।

हालसम्मको चेकजाँचका क्रममा ४८७ जना पैदल यात्रीको परिचय जाँच गरिएको छ भने २९ वटा बस, ३८ वटा मोटरसाइकल र ३० वटा सिटी सफारीसहित दर्जनौँ सवारी साधनको सूक्ष्म निगरानी गरिएको छ ।
अहिले झापा ५ मा ओली र शाहको घरदैलोले रौनक बढाएको छ । ओली गौरीगञ्ज र कमल गाउँपालिका केन्द्रित छन् भने शाह पनि सोही क्षेत्रमा व्यस्त छन् । यता नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला पनि आ–आफ्नो रणनीतिसहित मतदाता रिझाउन व्यस्त छन् ।
चुनावी प्रतिस्पर्धा जति पेचिलो बन्दैछ । सुरक्षा निकायका लागि यो क्षेत्र त्यति नै चुनौतीपूर्ण बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण