शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रवासी नेपाली

बेलायतबाट नेपालको चुनाव नियाल्दा

नयाँ मोड लिन्छ कि पुरानै चक्र दोहोरिन्छ ?
बुधबार, २८ माघ २०८२, १५ : ५६
बुधबार, २८ माघ २०८२

आगामी फागुन २१ गते नेपालमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनले नेपालको मात्र होइन, सात समुद्रपारि बेलायतमा बसोबास गर्ने नेपाली समुदायमा पनि माहोल तताएको छ । बेलायती राजधानी लन्डनका चोक, नेपाली रेस्टुरेन्टदेखि सामाजिक सञ्जालका भित्ताहरूसम्म अहिले एउटै प्रश्नले प्राथमिकता पाएको छ– ‘नेपालले यसपटक साँच्चै नयाँ मोड लेला कि फेरि पुरानै राजनीतिक चक्र दोहोरिएला ?’

बेलायतको व्यवस्थित संसदीय अभ्यास, नीतिमा आधारित बहस र उच्च राजनीतिक जवाफदेहिता नजिकबाट देखिरहेका प्रवासी नेपालीहरूलाई नेपालको चुनावी शैलीले भने सधैँ चिन्तित बनाउने गरेको छ । यहाँका नेपालीहरूको एउटै गुनासो छ– नेपालमा चुनावी बहस अझै पनि एउटाले अर्कोलाई होच्याउने, उत्तेजक नारा दिने र नैतिकताविहीन सपनाको खेती गर्ने शैलीमै सीमित छ । 

चुनावका बेला ठुला योजना सुनाउने तर पदमा पुगेपछि बिर्सने पुरानो प्रवृत्ति यसपटक अन्त्य हुनुपर्ने उनीहरू बताउँछन् । विशेषगरी पूर्व गोर्खाहरूको बाहुल्य रहेको बेलायतको नेपाली समुदायमा यसपटक ‘भावनात्मक नाराभन्दा काम र इमान’को खोजी भइरहेको छ ।

बेलायतमा बसे पनि नेपालको राजनीतिलाई सूक्ष्म रूपमा नियालिरहेका नेपालीहरूका लागि अहिले झापा र चितवन जस्ता जिल्लाहरू चर्चाको केन्द्रमा छन् । पछिल्लो समय नयाँ शक्तिहरूको देश दौडाहामा देखिएको भिडलाई हेरेर धेरैले परिवर्तनको संकेत त गरेका छन्, तर ‘भीड मात्र हो कि भोट पनि हो’ भन्ने संशय भने कायमै छ । पुराना दलका भ्रातृ संगठनहरू बेलायतमा सक्रिय रहे पनि आम प्रवासीको मनोविज्ञान भने यसपटक स्पष्ट रूपमा विकल्पमुखी देखिएको छ । धेरैजसो प्रवासी नेपालीहरू पुराना पुस्ताका नेताहरूले अब नैतिक रूपमा विश्राम लिनुपर्ने र नयाँ सोच भएका युवाहरू नेतृत्वमा आउनुपर्ने धारणा राख्छन् ।

प्रवासमा रहेका नेपालीहरूका लागि सबैभन्दा बिझाउने विषय भनेको मताधिकारको अभाव हो । ‘नोट चल्ने तर भोट नचल्ने’ भन्दै उनीहरूले राज्यले आफूहरूलाई केवल रेमिट्यान्स पठाउने माध्यमका रूपमा मात्र हेरेकोमा आक्रोश पोख्ने गरेका छन् । यद्यपि, कानुनी रूपमा मतदान गर्न नपाए पनि उनीहरूले नेपालमा रहेका आफ्ना परिवार र आफन्तलाई फोन र सामाजिक सञ्जालमार्फत ‘गाली होइन, योजना खोज,  अनुहार होइन, नतिजा हेर’ भन्दै सचेत गराइरहेका छन् । उनीहरूले गर्ने यो भावनात्मक र नैतिक प्रभावले नेपालको चुनावमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

त्यति मात्र होइन, नेपाली राजनीतिक दलहरूको छाया गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्ता संस्थाहरूमा पर्दा संस्थाको गरिमा र अस्तित्व नै संकटमा परेको भन्दै बेलायतवासी नेपालीहरूले चिन्ता व्यक्त गरेका छन् । सामाजिक संस्थाहरूमा हुने राजनीतिक गुटबन्दीले गर्दा प्रवासमा नेपालीहरू विभाजित भएको उनीहरूको ठम्याइ छ ।

निर्वाचन आउन अब केही हप्ता मात्र बाँकी रहँदा बेलायतबाट नेपालीहरूले एउटै सन्देश पठाएका छन्– अबको नेतृत्व सुशासन, विकास र परिणाममुखी हुनुपर्छ । हार र जितलाई लोकतान्त्रिक संस्कारका साथ स्वीकार गर्ने र निर्वाचनपछि बन्ने सरकारले विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने दिशामा ठोस कदम चाल्नेमा उनीहरू आशावादी छन् । वर्षौँदेखि एउटै चक्रमा घुमिरहेको नेपाली राजनीतिले यसपटक साँच्चै निकास पाओस् भन्ने नै बेलायतवासी नेपालीहरूको साझा चाहना देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप