बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दबाबबिच इयु नेताहरूको रणनीतिक बैठक

बिहीबार, २९ माघ २०८२, १६ : २९
बिहीबार, २९ माघ २०८२

काठमाडाैँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेताहरू बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् । बढ्दो भू–राजनीतिक चुनौतीले कूटनीति, रक्षा र व्यापारप्रतिको युरोपको दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनाएको छ ।

बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले ‘हामीले मार्ग परिवर्तन गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर कहिलेकाहीँ जहाजको पुलमा उभिएर दिशा समात्न नसकेको अनुभूति हुन्छ’ भन्दै परिस्थितिको गम्भीरता व्यक्त गरेका छन् । बिहीबारको छलफलले मार्च अन्त्यमा हुने अर्को शिखर सम्मेलनका लागि ठोस प्रस्ताव तयार गर्ने अपेक्षा गरिएको छ ।

जर्मन चान्सलर फ्रेडरिक मेर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले वासिङ्टनसँग सम्बन्ध पुनर्जीवित गर्दै दक्षिण अमेरिकाका मर्कोसुर राष्ट्रहरूसँग जस्तै थप व्यापार सम्झौतामार्फत नियन्त्रणमुक्त र खुला अर्थनीति अघि बढाउनुपर्ने धारणा राखेका छन् । मेर्जले ‘हामीले प्रत्येक क्षेत्रमा नियमन घटाउनुपर्छ’ भनेका छन् ।

तर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग यस विषयमा मतभेद देखिएको छ । रक्षा खर्चको कति भाग इयुका हतियार कम्पनीबाटै खरिद गर्नुपर्ने भन्नेमा विवाद छ । म्याक्रोनले युरोपेली कम्पनीलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् भने मेर्ज र मेलोनीले विदेशी तथा युरोपेली दुवै स्रोतबाट खरिद खुला राख्नुपर्ने बताएका छन् ।

म्याक्रोनले क्लिनटेक, रसायन, इस्पात, अटो उद्योग र रक्षा क्षेत्रमा ‘युरोपेली प्राथमिकता’ लागू गरी उद्योग जोगाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।  “चिनियाँ र अमेरिकीहरूले आफ्ना उद्योग जोगाउँछन्, हामीले पनि गर्नुपर्छ”, उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उल्लेख गरेका छन् । अनुचित प्रतिस्पर्धाको सामना गरिरहेको युरोपले रणनीतिक क्षेत्रमा सुरक्षात्मक नीति अपनाउनुपर्ने उनको भनाइ छ ।

नेताहरूले ट्रम्पको कर र चीनद्वारा महत्त्वपूर्ण खनिज निर्यातमा लगाइएको प्रतिबन्धको सन्दर्भमा विश्व व्यापार प्रणालीमा इयुको हित जोगाउन नयाँ वित्तीय उपकरणबारे पनि छलफल गर्दैछन् । म्याक्रोनले ‘भविष्यका लागि युरोबन्ड’ मार्फत सामूहिक ऋण सङ्कलन गरी डलरको वर्चस्वलाई चुनौती दिनुपर्ने प्रस्ताव दोहोरयाएका छन् ।

यसबिच, जर्मनी र इटालीले युरोपेली आयोगको प्रशासनिक झन्झट घटाउने, एकल बजार सुदृढ गर्ने र साझा नियममा आधारित महत्त्वाकांक्षी व्यापार नीति अघि बढाउने आह्वान गरेका छन् । यो दृष्टिकोण युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लेयनको आर्थिक सुरक्षा एजेन्डासँग मेल खान्छ । उनले आर्थिक शक्ति नै विश्व मञ्चमा प्रभावको आधार भएको बताएकी छन् ।

आधिकारिक युरोबेरोमिटर सर्वेक्षणअनुसार सैन्य, आर्थिक र जलवायु जोखिमबिच नागरिकहरू अझ सुदृढ र एकीकृत युरोपेली नेतृत्वको अपेक्षा गरिरहेका छन् । एचइसी पेरिसका प्राध्यापक अल्बर्टो अलेमानोले अहिलेको समय युरोपेली नेताहरूले व्यापक युरोपेली कारबाहीको मागलाई मूर्त रूप दिन सक्ने उपयुक्त अवसर भएको बताएका छन् ।

यो बैठकले इयुको भावी दिशा, आर्थिक आत्मनिर्भरता र सुरक्षा रणनीतिलाई पुनः परिभाषित गर्ने सङ्केत दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप