शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सस्तो सुनको लोभ देखाएर ६० लाख लुट्ने गिरोहका थप दुई जना पक्राउ

बिहीबार, २९ माघ २०८२, १७ : ४२
बिहीबार, २९ माघ २०८२

सारांश

  • घ्याङ्खेलमा सस्तो सुनको प्रलोभन देखाएर ६० लाख रुपैयाँ डकैती गर्ने गिरोहका दुई सदस्य झापाबाट पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा रमेश बुढा मगर र दीपक राई रहेका छन्, उनीहरूको आपराधिक पृष्ठभूमि पनि रहेको पाइएको छ।
  • प्रहरीले उनीहरूको साथबाट मोबाइल र मोटरसाइकल बरामद गरेको छ, अन्य फरार व्यक्तिको खोजी जारी छ।

काठमाडौँ । काठमाडौँको घ्याङ्खेलमा सस्तो मूल्यमा सुन दिने प्रलोभन देखाएर ६० लाख रुपैयाँ डकैती गर्ने गिरोहका थप दुई सदस्यलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत चिङ्गार घर भई हाल तिलिङटार बस्ने ४१ वर्षीय रमेश बुढा मगर र इलाम सूर्योदय नगरपालिका घर भई हाल टोखा बस्ने ३४ वर्षीय दीपक राई रहेका छन्।

गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याङ्खेलमा ‘सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै पीडितलाई ६० लाख रुपैयाँ बोकेर बोलाइएको थियो। पीडित रकम लिएर पुगेपछि त्यहाँ तयारी अवस्थामा रहेका ८–९ जनाको समूहले उनलाई नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै उक्त रकम लुटेर फरार भएका थिए।

घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ६ थान मोबाइल र घटनामा प्रयोग भएका दुई थान मोटरसाइकल समेत बरामद गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेका दुवै व्यक्तिको पुरानो आपराधिक रेकर्ड भेटिएको छ। रमेश बुढा मगर यसअघि खैरो हेरोइन (६५ ग्राम)सहित लागू औषध नियन्त्रण ब्युरोबाट पक्राउ परी वि.सं. २०६९ देखि २०७८ सालसम्म ९ वर्ष केन्द्रीय कारागारमा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन्।

त्यसैगरी अर्का अभियुक्त दीपक राई पनि यसअघि चोरी मुद्दामा जिल्ला प्रहरी परिसर भद्रकालीबाट पक्राउ परी २४ दिन हिरासतमा बसेर जिल्ला अदालत काठमाडौँको आदेशले धरौटीमा छुटेका व्यक्ति रहेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक तथा सूचना अधिकारी रामेश्वर कार्कीले बिहीबार जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप