बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वासनदेखि प्रधानमन्त्रीसम्म: तारिक रहमानको चामत्कारिक कमब्याक

शुक्रबार, ०१ फागुन २०८२, ०८ : ३५
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • बङ्गलादेशको निर्वाचनमा बीएनपी सत्ताको नजिक पुगेको छ, तारिक रहमानको राजनीतिक पुनरागमन भएको छ।
  • लन्डनमा निर्वासनमा रहेका रहमान १७ वर्षपछि फर्किँदै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
  • युवा विद्यार्थी विद्रोह र आन्दोलनले रहमानलाई देशको निर्विकल्प नेताको रूपमा स्थापित गर्यो।

ढाका । बङ्गलादेशमा बिहीबार सम्पन्न निर्वाचनको नतिजा आउन थालेसँगै बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्ताको नजिक पुगेको छ। 

यससँगै बीएनपीका नेता तारिक रहमानको राजनीतिक जीवनमा एउटा 'ठूलो परिवर्तन' देखिएको बीबीसीकी आजादेह मोशिरीले उल्लेख गरेकी छन् । केही समयअघिसम्म निर्वासनमा रहेका रहमान अब बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

तारिक रहमानका लागि यो जित एक असाधारण पुनरागमन हो। सन् २०२४ को सुरुवातसम्मको अवस्थालाई हेर्ने हो भने उनी लामो समयदेखि लन्डनमा स्वैच्छिक निर्वासनमा थिए। 

त्यस समयमा शेख हसिनाको सरकारले बीएनपीका हजारौँ नेता तथा कार्यकर्ताहरूलाई जेल हालेको थियो भने पार्टीले निर्वाचन नै बहिष्कार गरेको थियो।

तर, केही महिनाअघि बङ्गलादेशका युवा र विद्यार्थीहरूले सुरु गरेको विद्यार्थी विद्रोहले वर्षौंदेखिको शेख हसिनाको अधिनायकवादी शासनलाई उखेलेर फालिदिएपछि रहमानको राजनीतिक भाग्यले नयाँ मोड लिएको हो।

बङ्गलादेशका युवाहरूको बलिदानी र आन्दोलनकै कारण आज बीएनपी फेरि सत्तामा फर्किने अवस्था बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। हसिनाको शासनकालमा राजनीतिक रूपमा पाखा लगाइएका रहमान अहिले देशको निर्विकल्प नेताका रूपमा उदाएका छन्।

यद्यपि निर्वाचन आयोगले आधिकारिक नतिजा घोषणा गर्न बाँकी छ, तर ढाकाका स्थानीय सञ्चारमाध्यमहरूले बीएनपीको सानदार जितको घोषणा गरिसकेका छन्। शुक्रबार बिहान ढाकाका सडकहरूमा मानिसहरू बीएनपीको अग्रता र तारिक रहमान प्रधानमन्त्री बन्ने खबरका साथ ब्युँझिएका छन्।

लन्डनमा बसेर पार्टीको कमाण्ड सम्हाल्दै आएका रहमान १७ वर्षपछि स्वदेश फर्केर सिधै देशको बागडोर सम्हाल्ने तयारीमा छन्। यस परिवर्तनलाई बङ्गलादेशको आधुनिक इतिहासमा एउटा महत्त्वपूर्ण मोड मानिएको समाचारमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप