बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका र ताइवानले गरे ट्यारिफ कटौतीसम्बन्धी सम्झौता

शुक्रबार, ०१ फागुन २०८२, १५ : ०३
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • अमेरिका र ताइवानबीच व्यापार सम्झौता, जसले ताइवानी सामानमा भन्सार महसुल घटाउनेछ।
  • ताइवानले ८५ अर्ब डलरको अमेरिकी ऊर्जा, विमान र उपकरण खरिद गर्नेछ, भने ९९ प्रतिशत भन्सार अवरोध हटाउनेछ।
  • सम्झौताले ताइवानका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच दिनेछ, तर चिप उद्योगसँग सम्बन्धित प्रतिबद्धता समावेश छैन।

वासिङ्टन डीसी । अमेरिका र ताइवानले ताइवानबाट अमेरिकामा आउने सामानमाथि लगाउँदै आएको भन्सार महसुल घटाउने र अमेरिकी उत्पादनमा बहुअर्ब डलरको खरिद सुनिश्चित गर्ने व्यापार सम्झौतालाई अन्तिम रूप दिएका छन् ।

बिहीबार घोषणा गरिएको सम्झौताअन्तर्गत ताइवानी सामानमाथि लाग्दै आएको सामान्य भन्सार महसुल २० प्रतिशतबाट घटाएर १५ प्रतिशत राखिनेछ । यो भनेको दक्षिण कोरिया र जापानकै हाराहारी हो ।

सम्झौताको भागको रूपमा ताइवानले करिब ८५ अर्ब डलर मूल्यका अमेरिकी ऊर्जा, विमान र उपकरण खरिद गर्ने सहमति जनाएको छ । अमेरिकी व्यापार दूतको कार्यालयका अनुसार ताइवानले ९९ प्रतिशत भन्सार अवरोध हटाउने वा घटाउनेछ भने अटो पाट्र्स, रासायनिक पदार्थ, मेशिनरी, स्वास्थ्य उत्पादन, दुग्धजन्य तथा सुँगुरको मासुजस्ता अमेरिकी वस्तुहरूलाई प्राथमिक बजार पहुँच प्रदान गर्नेछ ।

अमेरिकामा पनि ताइवानबाट जाने भुइँकटहर, कास्टोर आयल, जिन्सेङ आदिलाई भन्सारमुक्त गरिनेछ । ताइवानका राष्ट्रपति विलियम लाई चिङ‑तेले करिब २ हजार ताइवानी उत्पादनमा भन्सार छुट सुनिश्चित भएको र यसलाई टापुको अर्थतन्त्रका लागि महत्त्वपूर्ण क्षण भनेका छन् । उनले औसत भन्सार दर १२ दशमलव ३ प्रतिशत पुग्ने जानकारी दिएका छन् ।

ताइवानले अर्ग्यानिक चिया, फलफूल, बबल टीका सामान, कफी, भुइँकटहर, केक र अन्य स्थानीय उत्पादनलाई अमेरिकी बजारमा प्रतिस्पर्धी मूल्यमा पठाउने लक्ष्य राखेको छ । राष्ट्रपति लाईले यस सम्झौताबाट ताइवानका ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउने अवसर प्राप्त हुने बताएका छन् ।

तर यस सम्झौतामा चिप उद्योगसँग सम्बन्धित प्रत्यक्ष प्रतिबद्धता समावेश गरिएको छैन, जुन टापुको अर्थतन्त्रको करिब २० प्रतिशत योगदान दिने महत्त्वपूर्ण क्षेत्र हो ।

सन् २०२५ मा एअई चिपको उच्च मागका कारण ताइवानको निर्यात ३५ प्रतिशत बढेर ६ खर्ब ४० अर्ब ७५ करोड डलर पुगेको थियो । सम्झौतामा गत महिना ताइवानले गरेको अमेरिकी चिपमा २५० अर्ब डलर लगानी प्रतिबद्धतालाई समावेश गरिएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप