धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आवश्यक छः मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वमा धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न आह्वान गरे।
- उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धि हासिल गर्न सकिने धारणा राखे।
- लुम्बिनी प्रदेश सरकारले धार्मिक स्थलहरूको संरक्षण र पर्यटन सर्किटको विकास गर्ने योजना बनाएको छ।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गरेका छन् । उनले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका हुन ।
मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना गर्दै महाशिवरात्रिको शुभकामना व्यक्त गर्दै भगवान् शिवको आराधनासँग जोडिएको यस पर्वले आत्मसंयम, सकारात्मक चिन्तन र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
उनका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र सहभाव राख्ने प्रदेश हो । प्रदेश सरकारले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्दै विभिन्न धर्मसँग सम्बन्धित मठ, मन्दिर, विहार तथा तीर्थस्थलहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ । धार्मिक आस्थालाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आकर्षित गर्ने नीति प्रदेशको दिगो समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने उनको भनाई छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका धार्मिक तथा सांस्कृतिक सम्पदालाई एक आपसमा जोड्ने पर्यटन सर्किट विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमानता र प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक पर्यटन संस्कृति संरक्षणसँगै समृद्धिको ढोका खोल्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा छ ।
आधुनिकताको प्रभावसँगै चाडपर्व मनाउने शैली परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले आधुनिकताको नाममा हुने विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न सबैको साझा जिम्मेवारी रहेको बताए । नेपाली संस्कृति, परम्परा र चाडपर्वले आपसी एकता, सद्भाव र पहिचानलाई बलियो बनाउँदै आएको उल्लेख गर्दै तिनको मौलिकता जोगाउँदै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण