नाउपा छिन्नभिन्न भएसँगै कैलाली–२ मा प्रभाव बढाउन खोज्दै नयाँ र पुराना दल
सारांश
- कैलाली क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा १५ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्।
- नागरिक उन्मुक्ति पार्टी विभाजन र नेताहरू बीचको विवादले मतदातामा अन्योलता बढेको छ।
- पुराना दल र नयाँ अनुहार बीचको प्रतिस्पर्धा, मतदाताको परिवर्तनको चाहना र स्थानीय समस्याहरू मुख्य चासोका विषय बनेका छन्।
धनगढी । प्रतिनिधि सभा अन्तर्गत कैलालीको क्षेत्र नम्बर २ लाई सुदूरपश्चिमको प्रवेशद्वार मानिन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यस निर्वाचन क्षेत्रमा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस निर्वाचन क्षेत्रबाट ०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी निर्वाचित भएका थिए । नेकपा एमालेजस्तो संगठित कार्यकर्ता भएको दल, पुराना दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका बाबजुद निर्वाचित हुँदै यस क्षेत्रलाई नागरिक उन्मुक्ति पार्टीले आफ्नो गढका रूपमा स्थापित गरेको थियो ।
अहिले नागरिक उन्मुक्ति पार्टी विभाजित भइसकेको छ । पत्नी रञ्जिता श्रेष्ठसँगको विवादका कारण रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् भने रञ्जिताले आफ्नो नेतृत्वको दललाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल गराएकी छन् ।
अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्तिका अरुण कुमार चौधरी २१ हजार ८७१ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मतमात्रै पाएका थिए । कांग्रेसको समर्थनमा चुनाव लडेका तत्कालीन माओवादी उम्मेदवार भगतबहादुर बडुवाल १५ हजार ११६ मतमा रोकिएका थिए ।
२०७९ को समानुपातिक मत परिणाममा पनि नागरिक उन्मुक्ति पार्टी १९ हजार ५९७ मतसहित पहिलो स्थानमा थियो । त्यसपछि क्रमशः एमाले, कांग्रेस र माओवादी थियो । यस पटक भने नागरिक उन्मुक्ति पार्टीभित्र आएको फुट र रञ्जिता–रेशम पक्षबिचको विवादले मतदातामा ठुलो अन्योल सिर्जना गरेको छ ।
रञ्जिता पक्षले नेकपाका नन्दबहादुर साउदलाई समर्थन गर्ने भएपछि नागरिक उन्मुक्तिको साख र शक्ति कता ढल्किन्छ भन्ने चासो सबैमा छ ।
यहाँ रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले हासिल गरेको उपलब्धि जोगाउन उनलाई सहज भने छैन । साविकको पार्टी छिन्न–भिन्न भएका कारण पनि उनलाई विरासत जोगाउन कठिन हुने देखिन्छ ।
यस निर्वाचन क्षेत्रमा प्रमुख दलहरूले नयाँ अनुहार अघि सारेका छन् । नेपाली कांग्रेसबाट विजयबहादुर स्वाँर, नेकपा एमालेबाट सूर्यबहादुर थापा र नेकपाबाट नन्दबहादुर साउद चुनावी मैदानमा छन् । यी नेताहरू आ–आफ्ना पार्टीभित्र स्थापित भए पनि संसदीय निर्वाचनको प्रतिस्पर्धामा भने नौला हुन् ।
यी स्थापित दलहरूलाई चुनौती दिन सामाजिक सञ्जाल र युवा पुस्तामाझ लोकप्रिय बनेका २६ वर्षीय सामाजिक अभियन्ता केपी खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाएको छ ।
खनालको विगत निकै सङ्घर्षपूर्ण छ । गरिबीका कारण सानै उमेरमा मुम्बईको मिरारोडस्थित एउटा होटलमा भाँडा माँझ्ने बाल मजदुरका रूपमा काम गरेका उनी नेपाल फर्किएर सामाजिक सेवामा होमिएका हुन् ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने सामान्य तर गहिरो नाराका साथ उनले सुरु गरेको ‘क्लिन काष्ठमण्डप’ अभियानले उनलाई देशभर चिनायो । काठमाडौँका सडकमा झाडु लगाउँदै हिँड्ने र फोहर फाल्नेलाई सचेत गराउने उनको शैलीले धेरैलाई प्रभावित पा¥यो ।

खनालको समाजसेवाको उचाइ तब बढ्यो, जब उनले बाजुराको बुढीगङ्गामा अनाथ बालबालिकाका लागि ५० लाख रुपैयाँ जुटाएर सुविधासम्पन्न बालगृह निर्माण गरे । महानायक राजेश हमालले सो बालगृहको साँचो हस्तान्तरण गर्दा खनालको चर्चाले आकाश छोएको थियो । हाल सो आश्रममा २० भन्दा बढी अनाथ बालबालिकाले आश्रय र शिक्षा पाइरहेका छन् । तिनै खनाल अहिले काठमाडौँका निवर्तमान मेयर बालेन शाहको कार्यशैलीबाट प्रभावित भएर राजनीतिमा होमिएका हुन् । उनलाई बालेन निकट उम्मेदवारका रूपमा पनि हेरिएको छ । युवा पुस्तामा उनको बलियो पकड हुनु र सरसफाइ जस्तो आधारभूत मुद्दामा काम गरेको हुनाले उनले यो क्षेत्रमा सरप्राइज दिन सक्ने धेरैको आकलन छ ।
दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारहरूको भिडमा अहिले मुख्य चर्चा भने पुराना दलको विरासत र नयाँको उदयबिचमै केन्द्रित छ ।
अघिल्लो निर्वाचनको तुलनामा अहिले यहाँका मतदाताको मनोविज्ञान फेरिएको पाइन्छ । लम्कीको एउटा पसलमा भेटिएका रामबहादुर चौधरीले भने, ‘यसपालि मान्छेहरू निकै कन्फ्युज छन् । बाहिरबाट हेर्दा जो आए पनि तपाईंलाई नै भोट दिन्छु भन्छन् तर भित्री रूपमा मान्छेहरूले नयाँ विकल्प खोजिरहेका छन् ।’
जानकी गाउँपालिकाकी देवरानी कठरिया पनि परिवर्तन चाहान्छिन् । ‘धेरै वर्ष पुराना पार्टीलाई हेरियो, तर खासै यस क्षेत्रको विकास हुन सकेन,’ उनले भनिन् ।
मोहन्याल गाउँपालिकाको विकट पहाडी क्षेत्र घर भई बौनिया बजारमा भेटिएकी पुजा विकको गुनासो पनि उस्तै छ । पुराना नेताहरूले चुनावका बेला दिने आश्वासन र जितेपछि गर्ने व्यवहारमा आकाश–जमिनको फरक रहेको उनले बताइन् ।
_oEu5QI99mR.jpg)
बर्दगोरिया गाउँपालिकाकी भवानीदेवी विष्ट अहिले तोरी बाली भित्र्याउन व्यस्त छिन् । ‘हामीले त काम गरेर खानु छ, चुनाव त नेतालाई लागेको छ,’ उनले भनिन्, ‘जतिलाई जिताए पनि हाम्रा दुःख उस्तै रहे । घर–घरमा ग्यासको पाइप ल्याइदिन्छु भनेका थिए, अहिले ग्यासको भाउ सुन्दा सातो जान्छ ।’
कैलाली–२ मा दलित, जनजाति र थारु समुदायको बाहुल्यता छ । यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षाको राम्रो सुविधा छैन । यहाँ सुकुमबासी, विपदका घटना मुख्य समस्याका रूपमा छन् । यहाँका मतदाताले आफ्ना क्षेत्रमा विद्यमान समस्या समाधान गरिदिने भरपर्दो प्रतिबद्धता उम्मेदवारबाट खोजिरहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण