शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेखा थापाको निर्देशनमा कमब्याक, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

आइतबार, ०३ फागुन २०८२, १५ : ०२
आइतबार, ०३ फागुन २०८२

सारांश

  • रेखा थापाको निर्देशनमा बन्ने चलचित्र 'माया भनेकै यस्तो होला' को घोषणा महाशिवरात्रिको अवसरमा भयो।
  • चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका रहनेछ।
  • फिल्म फागुनको दोस्रो हप्ताबाट फ्लोरमा जानेछ र यसमा प्रेम र सम्बन्धका विविध पक्षहरू देखाइनेछ।

काठमाडौँ । चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा भएको छ । आइतबार महाशिवरात्रिको शुभ–अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रमार्फत अभिनेत्री रेखा थापाले निर्देशनमा कमब्याक गर्दैछिन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ फिल्म निर्देशन गरेकी रेखा झण्डै आठ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेकी हुन् ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका रहनेछ ।

निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएको पहिलो पोस्टरले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू वा सम्भावित ‘प्रेम त्रिकोण’ को कथा हुनसक्ने अनुमान गर्न सकिन्छ । पोस्टरमा तीनै अभिनेत्रीहरू रातो रङको भव्य पहिरन (लेहेंगा र सारी) मा सजिएका छन् । रातो रङले प्रेम, विवाह र सम्बन्धको गहिराइलाई संकेत गर्छ । जसमा दिल श्रेष्ठ र नम्रता श्रेष्ठको सामिप्यता झल्किएको छ भने सृष्टि र नीति शाहका भावहरू अलि गम्भीर देखिन्छन् । यसले चलचित्रमा प्रेमका विभिन्न पाटाहरू, सम्बन्धमा आउने उतारचढाव र त्रिकोणात्मक प्रेमकथा भन्ने संकेत गर्छ ।’

चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ । 

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहने चलचित्रमा सुदीप बरालको डीओपी, प्रशान्त सिवाकोटीको संगीत रहनेछ । राजन घिमिरे फिल्म कोअर्डिनेटर रहेको चलचित्र फागुनको दोस्रो साताबाट फ्लोरमा जानेछ ।कार्यक्रममा निर्देशक रेखा थापाले चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा बन्न लागेको बताइन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरेझैँ लागेको बताए । उनले भने, ‘म केवल हास्य कलाकार मात्र होइन, 'परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप