सुगम र रिताको स्वर रहेको ‘बेहाल’ सार्वजनिक
सारांश
- गायक सुगम पोखरेल र गायिका रिता केसीको स्वरमा 'बेहाल' गीत सार्वजनिक भयो।
- वरिष्ठ सङ्गीतकर्मी फणीन्द्र राई, अम्बिका गुरुङलगायतले गीत सार्वजनिक गरे।
- डा. देवेन्द्र प्रधानको शब्द, शङ्कर थापाको सङ्गीत रहेको गीतको भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन्।
काठमाडौँ । गायक सुगम पोखरेल र गायिका रिता केसीको स्वर रहेको रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार साँझ आयोजित एक कार्यक्रममा वरिष्ठ सङ्गीतकर्मी फणीन्द्र राई, विशिष्ट अतिथिहरू गीतकार अम्बिका गुरुङ, गीतकार तथा गजलकार भूपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी लगायतले गीत सार्वजनिक गरे ।
डा.देवेन्द्र प्रधानको शब्द, शङ्कर थापा ‘स्माइल’को सङ्गीत रहेको गीतमा विषम आचार्यको एरेन्ज छ । गीतको भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका हुन् । अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र डिप्सन शाहको सम्पादन छ ।
कार्यक्रममा सङ्गीतकर्मी राईले हरेक दृष्टिबाट गीत उत्कृष्ट बनेको बताए । उनले भिडियोले गीतलाई सिँगार्ने काम गरेको धारणा राखे । गीतकार गुरुङले गीत सुन्दा सरल भए पनि शब्द, सङ्गीत र स्वरको उत्कृष्ट संयोजन रहेको जनाइन् । यस्तै उनले गीतको भिडियो पनि आकर्षक बनेको बताइन् ।
सेन्सर बोर्ड सदस्य गिरीले पछिल्लो समय थुप्रै गीतहरू बजारमा आउने गरेको तर, केही मात्र उत्कृष्ट हुने गरेको बताए । तिनै उत्कृष्ट गीतहरूको सूचीमा यो गीत पनि अट्ने उनको भनाइ छ । आफूले लामो समयदेखि संगीतकार थापाको कामलाई नजिकबाट नियाल्ने गरेको भन्दै उनको सृजनामा नवीनता र मौलिकता दुवै भेटिने बताए ।
भारतको कालिङपोङ निवासी गीतकार डा.प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौँ आएका हुन् । नेपाली साहित्य र गीत सङ्गीतमा गहिरो रुचि राख्ने प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण