बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

बिहीबार, ०७ फागुन २०८२, ०५ : ४४
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु भयो, जसले यात्रुलाई सुविधा पुर्‍याउनेछ।
  • दैनिक आठ उडान हुने भरतपुरमा अब आवश्यकता अनुसार इन्धन भर्न सकिनेछ।
  • नयाँ रिफिलिङ काउन्टरबाट दैनिक २२ हजार लिटर इन्धन उपलब्ध हुनेछ।

चितवन । यहाँको भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’को काम सुरु गरेको हो ।

लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए ।

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए ।

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । “अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौँबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप