शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०० प्रतिशत ट्यारिफको धम्की दिएपछि भारत–पाक युद्ध रोकियो : ट्रम्प

शुक्रबार, ०८ फागुन २०८२, १० : १५
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • ट्रम्पले भारत र पाकिस्तानबीचको युद्ध रोकेको दाबी गर्दै दुवै देशलाई कर लगाउने चेतावनी दिएको बताए।
  • उनका अनुसार व्यापारिक नोक्सानीको डरले दुवै देश युद्ध रोक्न सहमत भए, जसबाट लाखौं मानिसको ज्यान जोगियो।
  • ट्रम्पले मोदी र सरिफलाई फोन गरेर चेतावनी दिएको र सम्झौता रद्द गर्ने धम्की दिएको बताए।

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको भीषण सैन्य संघर्ष आफूले रोकेको दाबी गर्दै नयाँ खुलासा गरेका छन्। वासिङ्टनमा आयोजित ‘बोर्ड अफ पिस’ कार्यक्रममा बोल्दै ट्रम्पले दुवै देशलाई आयातमा २०० प्रतिशत कर (ट्यारिफ) लगाउने चेतावनी दिएपछि मात्र उनीहरू युद्ध रोक्न सहमत भएको बताएका हुन्। 

ट्रम्पका अनुसार व्यापारिक नोक्सानीको डरले दुवै देश पछि हटेका हुन् र यसबाट झन्डै साढे दुई करोड मानिसको ज्यान जोगिएको हो। त्यस समयको भयावह स्थितिको स्मरण गर्दै ट्रम्पले दुवै देशबिच युद्ध तीव्र भएको र लडाकु विमानहरू खसाल्ने क्रम चलिरहेको उल्लेख गरे। 

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ दुवैलाई फोन गरेर कडा चेतावनी दिएको ट्रम्पको भनाइ छ। उनले मोदीलाई आफ्नो असल मित्रका रूपमा चित्रण गर्दै यदि झगडा अन्त्य नगरे अमेरिकासँगको सबै व्यापारिक सम्झौता रद्द गर्ने धम्की दिएको बताए। 

ट्रम्पले दाबी गरे अनुसार सो संघर्षका क्रममा ११ वटा महँगा फाइटर जेट खसालिएका थिए, यद्यपि ती विमान कुन देशका थिए भन्ने उनले खुलाएनन्।

यो तनावको सुरुवात गत वर्ष वैशाखमा कश्मीरको पहलगाममा भएको चरमपन्थी हमलाबाट भएको थियो, जहाँ २६ पर्यटकको हत्या गरिएको थियो। त्यसको बदला लिन भारतीय सेनाले वैशाखको अन्तिम साता पाकिस्तान र पाक नियन्त्रित कश्मीरका आतङ्ककारी ठेगानाहरूमा ठुलो सैन्य कारबाही गरेको थियो। भारतले पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर र मुरीदके जस्ता इलाकाहरूमा समेत आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप