भ्रामक विज्ञापन : ऋतिक रोशनलाई अदालतको नोटिस
सारांश
- अभिनेता ऋतिक रोशनलाई भ्रामक विज्ञापन गरेको आरोपमा उपभोक्ता अदालतले नोटिस जारी गरेको छ।
- माउन्टेन ड्यूको विज्ञापनमार्फत उपभोक्तालाई गुमराहमा पारेको भन्दै पेप्सिको र वितरकलाई पनि नोटिस जारी गरिएको छ।
- विज्ञापनमा ऋतिक रोशनले पेय पदार्थ पिएपछि असाधारण साहस प्राप्त गर्ने दाबी गरिएको थियो, जुन झुटा रहेको उजुरीकर्ताको भनाइ छ।
मुम्बई । बलिउडका चर्चित अभिनेता ऋतिक रोशन भ्रामक विज्ञापन गरेको आरोपमा कानुनी झमेलामा परेका छन्। राजस्थानको झालावाड जिल्ला उपभोक्ता अदालतले ‘माउन्टेन ड्यू’ कोल्ड ड्रिंकको विज्ञापनमार्फत उपभोक्तालाई गुमराहमा पारेको भन्दै ऋतिकसहित बहुराष्ट्रिय कम्पनी पेप्सिको र त्यसको वितरक वरुण वेभरेजलाई नोटिस जारी गरेको हो।
अदालतले यो विषयमा एक महिनाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यो विवादको जड माउन्टेन ड्यूको चर्चित ट्यागलाइन ‘डर के आगे जीत है’ (डरको अगाडि जित छ) सँग जोडिएको छ।
अधिवक्ता गुरुचरण सिंहले दायर गरेको उजुरीमा विज्ञापनमा देखाइएका दाबीहरू पूर्णतः झुटा र भ्रामक भएको उल्लेख गरिएको छ। विज्ञापनमा ऋतिक रोशनले उक्त पेय पदार्थ पिएपछि असाधारण साहस र ऊर्जा प्राप्त गरेको देखाइन्छ, जसले गर्दा मानिसले असम्भव लाग्ने जोखिमपूर्ण कार्यहरू सजिलै गर्न सक्छन् भन्ने भान पर्छ।
तर, उजुरीकर्ताले उक्त पेय पदार्थ पिएपछि आफूमा कुनै विशेष ऊर्जा वा साहस नबढेको र विज्ञापनले दाबी गरे जस्तो कुनै वैज्ञानिक आधार नभएको जिकिर गरेका छन्। उपभोक्ता संरक्षण ऐन २०१९ को धारा २(२८) अनुसार कुनै पनि उत्पादनको गुणस्तर, प्रकृति वा लाभका बारेमा गलत जानकारी दिनुलाई भ्रामक विज्ञापन मानिन्छ।
उजुरीकर्ताले कम्पनी र ब्राण्ड एम्बेसेडर ऋतिक रोशनले मिलेर उपभोक्ताको विश्वासमाथि खेलवाड गरेको आरोप लगाएका छन्। अदालतले प्रारम्भिक छानबिनमा तथ्यहरू गम्भीर देखिएपछि यसलाई मुद्दाको रूपमा अगाडि बढाएको हो। अब अदालतले कम्पनीका दाबीहरू वैज्ञानिक रूपमा प्रमाणित छन् वा केवल ग्राहक आकर्षित गर्ने फन्डा मात्र हुन् भन्नेबारे अनुसन्धान गर्नेछ।
यस उजुरीमा सुनुवाइ गर्दै अदालतले १२ फेब्रुअरी २०२६ मा नोटिस जारी गर्ने निर्णय गरेको थियो। उपभोक्ता अदालतका सदस्य वीरेन्द्र सिंह रावतका अनुसार सबै पक्षले अब आफ्नो बचाउमा तर्क राख्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण