बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

गण्डकीका १८ क्षेत्रमा कुन दलको कति सिटमा दाबी ?

सबैको जोड्दा पुग्छ ३६ सिट !
शुक्रबार, ०८ फागुन २०८२, ११ : ००
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशका १८ सिटमा हुने निर्वाचनमा विभिन्न दलहरूले सिट जित्ने दाबी गरेका छन्।
  • रास्वपाले १२ सिट जित्ने दाबी गरेको छ भने कांग्रेसले १०, एमालेले ८ र नेकपाले ५ सिट जित्ने दाबी गरेका छन्।
  • पार्टीहरूले विभिन्न क्षेत्रमा जित्ने दाबी गरे पनि सबै सिट जोड्दा ३६ पुग्छन्, जुन निर्वाचनमा रहेका सिटभन्दा धेरै हो।

पोखरा । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकीका १८ सिटमा प्रतिस्पर्धा हुँदै छ  । यसअघि गठबन्धन गरेर चुनाव लड्दै आएका दलहरू अहिले एक्ला एक्लै मैदानमा छन् । 

त्यसैले नतिजा कसको पोल्टामा पर्छ भन्ने एकिन गर्न सक्ने अवस्था छैन ।  यस्तो अवस्थामा दलहरूले आफ्नो पार्टीले यति सिट जित्ने भनेर दाबी गरिरहेका छन् । 

रास्वपाले १२ सिट, कांग्रेसले १० सिट, एमालेले ८ सिट, नेकपाले ५ सिटमा चुनाव जित्ने दाबी गरेको छ । जनमोर्चाले पनि बागलुङ-१ मा जित्ने दाबी गरेको छ । 

यो पटक पार्टीले गण्डकीबाट ९ देखि १२ सिट जित्ने आकलन गरेको रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीले बताए। नवलपुर-१, गोरखाका दुवै क्षेत्र, कास्कीका ३ वटै क्षेत्र, स्याङ्जाको क्षेत्र नम्बर १ र तनहुँका दुवै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार विजय हुने उनको दाबी छ ।

यसैगरी स्याङ्जा २, नवलपुर २ र बागलुङमा पनि चुनाव जित्न सक्ने दाबी रास्वपाको छ । ‘हामी अहिले पनि १२ सिट जित्छौँ भन्नेमा ढुक्क छौँ । ९ सिट त सहजै जित्छौँ, बाँकीमा अलि मेहनत गर्नुपर्ने छ,’ उनले भने, ‘साथीहरू सोही अनुसार लागिरहनुभएको छ । घरदैलोले हामीलाई उत्साही बनाएको छ ।’ 

तर रास्वपाले दाबी गरेका अधिकांश क्षेत्रमा अरू दलहरूको पनि दाबी छ । गोरखाका २ वटै निर्वाचनमा पार्टीले जित्ने नेपाली कम्युनिस्ट पार्टीको दाबी छ । बागलुङ-२ लाई पनि नेकपाले जित्ने सूचीमा राखेको छ । यसअघि २०७९ को चुनावमा गोरखा-२ बाट पुष्पकमल दाहाल प्रचण्ड र बागलुङ-२ बाट देवेन्द्र पौडेल विजयी भएका थिए । 

नेकपा प्रदेशस्तरीय एक नेताले कास्की १ र २, लमजुङ, पर्वत, मुस्ताङ लगायत जिल्लामा पनि नेकपाको बलियो प्रभाव रहेको बताए । २०७९ मा सबैभन्दा धेरै सिट कांग्रेसले ९ ठाउँमा जितेको थियो । एमालेले ५, माओवादीले २ र जनमोर्चाले १ सिट जितेको थियो । 

जनमोर्चाले अहिले बागलुङमा नेकपासँग गठबन्धन गरेको छ । क्षेत्र नम्बर-१ मा जनमोर्चाको उम्मेदवारलाई नेकपाले सघाउने र २ मा नेकपाका उम्मेदवारलाई जनमोर्चाले सघाउने घोषणा भैसकेको छ । त्यसैले बागलुङका दुवै क्षेत्रमा गठबन्धनले जित्ने उनीहरूको दाबी छ । 

पर्वतमा नेपाली कांग्रेस र नेकपा एमालेको दाबी छ । त्यसो त प्रतिस्पर्धा उनै दुई पार्टीबिच हुने अनुमान गरिएको छ । लगातार ३ जीत निकालेर पछिल्ला २ चुनावमा पराजित अर्जुन जोशी अहिले जित्ने दाउ खोजिरहेका छन् । अघिल्ला दुई चुनाव आफ्नो पक्षमा पारेका एमालेका पदम गिरी पनि ह्याट्रिक गर्ने तयारीका साथ लागेका छन् । कांग्रेस र एमालेको प्रतिस्पर्धामा तेस्रो धारबाट निर्वाचन जित्न नेकपाका मनहरि तिमिल्सिना पनि जुटिरहेका छन् ।

कांग्रेसले पर्वत, मुस्ताङ, मनाङ, गोरखाको एउटा क्षेत्र, कास्कीका-२ क्षेत्र, लमजुङ, स्याङ्जाको कम्तीमा एउटा क्षेत्र, तनहुँका दुवै क्षेत्र र बागलुङको कम्तीमा एउटा क्षेत्र चुनाव जित्ने दाबी गरेको छ ।  ‘अहिले क्षेत्र तोकिएको छैन । तर १० सिट कम्तीमा काँग्रेसले जित्छ,’ प्रदेश महामन्त्री विष्णु प्रसाद लामिछानेले दबी गरे, ‘जिल्लामा साथीहरूको उत्साहजनक रिपोर्टिङ छ । एक दुई दिनमा अन्तिम रिपोर्ट तयार गर्छौँ ।’ 

अघिल्लो पटक जितेको कास्कीका ३ सिट, पर्वत र लमजुङ अहिले पनि दोहोर्‍याएर जित्ने एमाले दाबी छ । यसपालि कम्तीमा ८ सिटमा चुनाव जित्ने एमालेका एक नेताले बताए ।

कास्कीका कम्तीमा २ वटा क्षेत्र, बागलुङको एउटा क्षेत्र, लमजुङ, म्याग्दी, तनहुँ २, पर्वत, मुस्ताङ, स्याङ्जा १ र नवलपुरमा जित निकाल्ने एमालेको दाबी छ । 

गोरखाका दुवै क्षेत्रलाई एमालेले पहेँलो सूचीमा राखेको छ । ‘जिल्लाबाट साथीहरू चुनाव जित्ने रिपोर्टिङ गरिरहेका छन् । अहिले नै यति उति भन्ने छैन । तर पहिले भन्दा धेरै सिट जित्छौँ,’ प्रदेश सचिव धनञ्जय दवाडीले भने, ‘मनोनयन भन्दा अहिले गतिविधि बढेका छन् । रिपोर्टहरू सकारात्मक आइरहेका छन् ।’ रोचक त के छ भने चुनाव १८ सिटमा हुन लागे पनि दलहरूले जित्ने दाबी गरेको सबै सिट जोड्दा ३६ सिट पुग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप