शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानको खेल रणनीति परिवर्तन !

शनिबार, ०९ फागुन २०८२, १३ : ०१
शनिबार, ०९ फागुन २०८२

कोलम्बो । टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा भारतसँग ६१ रनको फराकिलो हार व्यहोरेपछि पाकिस्तानी क्रिकेट टोलीले आफ्नो रणनीति मा ठूलो परिवर्तन गरेको छ। 

'गर या मर' को अवस्थामा रहेको नामिबियाविरुद्धको खेलमा पाकिस्तानले प्रमुख तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई प्लेइङ-११ बाटै बाहिर राख्यो भने पूर्वकप्तान तथा स्टार ब्याटर बाबर आजमलाई ब्याटिङ क्रममा तल झारेको छ।

भारतविरुद्धको खेलमा इशान किशनले शाहीनको अन्तिम ओभरमा १५ रन प्रहार गरेका थिए भने बाबर आजमले जम्मा ५ रन मात्र बनाउन सकेका थिए। 

यसैकारण यी परिवर्तनहरूलाई भारतसँगको हारको 'साइड इफेक्ट' का रूपमा हेरिएको थियो। तर, टोलीका मुख्य प्रशिक्षक माइक हेसनले यी अड्कलबाजीलाई खारेज गरेका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै हेसनले यी निर्णयहरू हारपछिको कुनै प्रतिक्रिया नभई पूर्ण रूपमा टोलीको रणनीतिको हिस्सा भएको स्पष्ट पारे।

शाहीन शाह अफ्रिदीलाई टिमबाट ड्रप गरिएको प्रश्नमा प्रशिक्षक हेसनले भने, 'खराब प्रदर्शनका कारण उनलाई बाहिर राखिएको भन्नु गलत हुनेछ। सलमान मिर्जाले मौका पाउनुपर्छ र उनी यसको हकदार छन् भन्ने हाम्रो बुझाइ थियो। यो टोलीको आवश्यकता अनुसार लिइएको निर्णय हो, कुनै ठूलो परिवर्तन होइन।'

बाबर आजमलाई ओपनिङबाट हटाएर तल्लो क्रममा पठाउने विषयमा पनि हेसनले जवाफ दिएका छन्। उनले भने, 'पावरप्लेमा आफ्नो स्ट्राइक रेट १०० भन्दा कम छ भन्ने बाबर आफैंलाई पनि थाहा छ। टी-२० क्रिकेटको पावरप्लेमा हामीलाई सुस्त ब्याटिङको आवश्यकता छैन, त्यहाँ तीव्र गतिमा रन चाहिन्छ।'

हेसनका अनुसार बाबर मध्यक्रम (मिडल ओभर) का लागि उत्कृष्ट खेलाडी हुन्। यदि टोली संकटमा पर्यो भने (जस्तो अमेरिकाविरुद्ध भएको थियो), बाबरले इनिङ्स सम्हाल्न सक्छन् र सेट भएपछि रन रेट बढाउन सक्छन्। एसिया कपपछि उनलाई यही विशेष भूमिकाका लागि टोलीमा ल्याइएको प्रशिक्षकले बताए।

समूह चरणको चुनौती पार गर्दै सुपर-८ मा पुगेको पाकिस्तानले शनिबार कोलम्बोमै न्युजिल्यान्डको सामना गर्दैछ। प्रशिक्षक हेसनले टोलीको मुख्य ध्यान अब पावरप्लेमा धेरैभन्दा धेरै रन बनाउनेमा रहेको बताएका छन्। कोलम्बोको पिचमा स्पिनरको भूमिका महत्त्वपूर्ण हुने भएकाले पाकिस्तानले आफ्नो प्लेइङ-११ र रणनीतिमा थप परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप