बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप २०२६

विश्वकपमा दुई हेभिवेट टोलीः अपराजित यात्रा कायम राख्न आमनेसामने

आइतबार, १० फागुन २०८२, १४ : ५७
आइतबार, १० फागुन २०८२

सारांश

  • भारत र दक्षिण अफ्रिका सुपर-८ चरणमा भिड्दै छन्, जसमा भारत साबिक विजेता हो र दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेको थियो।
  • दुवै टोली समूह चरणमा अपराजित रहँदै सुपर-८ मा प्रवेश गरेका हुन् र दुवै उपाधिका लागि बलिया दाबेदार मानिएका छन्।
  • भारतका बलरहरूले दक्षिण अफ्रिकाको शीर्ष क्रमलाई सुरुमै पतन गर्ने लक्ष्य राखेका छन्, जसमा क्विन्टन डी कक र एडेन मार्करम जस्ता ब्याट्सम्यानहरू छन्।

काठमाडौँ । साबिक विजेता तथा प्रतियोगिताको सहआयोजक भारतले आइतबार आफ्नो सुपर–८ चरणको सुरुवात गर्दै छ । भारतले सन् २०२४ को फाइनलमा पराजित गरेको टोली दक्षिण अफ्रिकासँग खेल्न लागेको हो । 

दुवै टोली २०२६ को संस्करणमा समूह चरणमा अपराजित रहँदै सुपर ८ मा प्रवेश गरेका हुन् । दुवै टोली यो विश्वकपमा पनि उपाधिका लागि बलियो मानिएका छन् । 

भारतको निशानामा दक्षिण अफ्रिकाको शीर्ष क्रम 

भारतका बलरहरूले दक्षिण अफ्रिकाविरुद्ध सुरुवातमै विकेट झार्ने लक्ष्य बनाएका छन् । बलिङ प्रशिक्षक मोर्ने मोर्केलले शुक्रबार भने, ‘हामीलाई थाहा छ दक्षिण अफ्रिकाको शीर्ष क्रमले टोलीलाई राम्रो स्कोर बनाउन सहयोग गरेको छ, जसमा क्विन्टन डी कक र एडेन मार्करम राम्रो फर्ममा छन् र उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।’ दक्षिण अफ्रिकी फास्ट बलरसमेत रहिसकेका मोर्केलले भने, ‘हामी ती प्रारम्भिक विकेटहरू लिनका लागि निश्चित रूपमा आफ्नो सर्वश्रेष्ठ प्रयास गर्नेछौँ ।’ 

भारत र दक्षिण अफ्रिकाको यो विश्वकप यात्रा 

भारतले समूह चरणका चारै खेल जितेर शीर्ष स्थान हासिल गरेको थियो । अमेरिकाविरुद्ध केही संघर्षपूर्ण सुरुवातपछि नामिबियामाथि ९३ रनको सानदार जित दर्ता गरेको थियो । चिर प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको बहुप्रतीक्षित खेलमा ६१ रनको जित हासिल गर्दा अन्तिम खेलमा नेदरल्यान्ड्सलाई १७ रनले हराउन सफल भएको थियो । 

यता दक्षिण अफ्रिकाले आफ्नो प्रतियोगिताको सुरुवात क्यानडाविरुद्ध ५७ रनको जितबाट गरेको थियो । दोस्रो खेलमा अफगानिस्तानविरुद्ध जित निकाल्न सुपर ओभरको सहारा लिनुपर्‍यो । दुई सुपर ओभरमा सकिएको खेलमा दक्षिण अफ्रिकाले जित निकाल्न सफल भयो । दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै सुपर–८ मा स्थान सुरक्षित गरेको थियो । समूहको अन्तिम खेलमा यूएईलाई ६ विकेटले हराउँदै सुपर–८मा आफूलाई बलियो दाबेदारी पेस गरेको थियो । 

अभिषेक शर्मा लयमा फर्किने भारतलाई विश्वास

मार्करमको दक्षिण अफ्रिकी टोली सबै विभागमा बलियो देखिए पनि प्रतियोगिताको प्रमुख दाबेदार भारतले ब्याटिङमा स्थिरता देखाउन सकेको छैन, विशेषगरी ओपनर अभिषेक शर्मा फर्ममा छैनन् । तर मोर्केलले उनी छिट्टै रन बनाउने लयमा फर्किने विश्वास व्यक्त गरेका छन् । लगातार तीन खेलमा शून्यमा आउट भएका अभिषेकबारे दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले भने, ‘हाम्रो टिममा उनको फर्मबारे कुनै छलफल भएको छैन । हामी अब विश्वकपको महत्त्वपूर्ण चरणमा जाँदै छौं र म विश्वस्त छु कि उनले राम्रो प्रदर्शन गर्नेछन् ।’ 

के दक्षिण अफ्रिकाले भारतलाई रोक्न सक्ला ?

भारतका बलिङ प्रशिक्षक मोर्केलले दक्षिण अफ्रिका प्रतियोगिताको उत्कृष्ट लयमा रहेको टोलीमध्ये एक भएको स्वीकार गरे । ‘उनीहरू आत्मविश्वासले भरिएको टोली हो,’ मोर्केलले भने, ‘उनीहरूका शीर्ष क्रमका ब्याट्सम्यानहरू फर्ममा छन् । कमजोरीको कुरा गर्दा, खासै केही छैन ।’ 

दबाब सामना गर्नु नै मुख्य कुराः डी कक 

‘जसले दबाबलाई राम्रोसँग सामना गर्न सक्छ, उसैले भारत–दक्षिण अफ्रिका सुपर–८ खेलको निर्णय गर्नेछ,’ क्विन्टन डी ककले शनिबार भने । यी दुई अपराजित टोली एकअर्कासँग परिचित छन् । गत वर्षको अन्त्यमा मार्करमको टोलीले भारत भ्रमण गरेको थियो, जहाँ टी–२० शृङ्खलामा ३–१ ले पराजित भएको थियो । 

डी ककले अभिषेक शर्माको खराब फर्मलाई ठुलो विषय नमानेको बताए । ‘उनी अहिले वरीयताअनुसार विश्वका नम्बर एक टी–२० ब्याट्सम्यान हुन्, त्यसैले उनले जे गरिरहेका छन्, त्यो जारी राख्नुपर्छ,’ २५ वर्षीय अभिषेकबारे डी ककले भने । 

टी–२० विश्वकपमा भारत र दक्षिण अफ्रिकाको रेकर्ड  

भारत सन् २०२४ को संस्करणमा दक्षिण अफ्रिकालाई हराएर साबिक विजेता मात्र होइन, टी–२० विश्वकपको संयुक्त कीर्तिमानी विजेता पनि हो । भारतीय टोलीले सन् २००७ मा पहिलो संस्करण जितेको थियो, तर दोस्रो उपाधिका लागि लामो प्रतीक्षा गर्नुपर्‍यो । इंग्ल्यान्ड र वेस्ट इन्डिजले पनि दुई–दुई पटक उपाधि जितेका छन् । 

यता दक्षिण अफ्रिका अझै पनि आफ्नो पहिलो टी–२० विश्वकप उपाधिको प्रतीक्षामा छ,  कुनै पनि प्रमुख आईसीसी प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २०२४ मा भारतसँगको सात रनको हार टी–२० विश्वकप वा ५० ओभरको विश्वकपमा उनीहरूको पहिलो फाइनल उपस्थिति थियो । 

यी दुई टोलीबिच टी–२० अन्तर्राष्ट्रियमा ३६औँ भेट हुनेछ । भारतले २१ खेल जितेको छ भने दक्षिण अफ्रिकाले १३ खेलमा जित हात पारेको छ । एक खेल भने नतिजाविहीन सकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप