बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलाइका र व्यापारी हर्षको प्रेम चर्चा, इटालीबाट बाहिरियो तस्बिर

आइतबार, १० फागुन २०८२, १५ : २४
आइतबार, १० फागुन २०८२

सारांश

  • बलिउड अभिनेत्री मलाइका अरोडा र हिरा व्यापारी हर्ष मेहताको प्रेम सम्बन्धको चर्चा भइरहेको छ।
  • इटालीमा भ्यालेन्टाइन डे मनाएको तस्बिर सार्वजनिक भएपछि उनीहरूको सम्बन्धको चर्चा थप चर्किएको हो।
  • मुम्बई कन्सर्ट र ५०औँ जन्मदिनको पार्टीमा सँगै देखिएका उनीहरूले सम्बन्धबारे आधिकारिक धारणा दिएका छैनन्।

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडा र हिरा व्यापारी हर्ष मेहताबिचको सम्बन्धलाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यममा निकै चर्चा छ। अर्जुन कपुरसँगको ब्रेकअपपछि मलाइकाको नाम हर्षसँग जोडिन थालेको हो। 

यसैबिच यो जोडीले इटालीमा सँगै ‘भ्यालेन्टाइन डे’ मनाएको दाबीसहित एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ, जसले उनीहरूको प्रेम चर्चालाई थप बल पुर्‍याएको छ। सार्वजनिक भएको तस्बिरमा हर्ष मेहता र मलाइका अरोडा इटालीको एउटा प्रसिद्ध ऐतिहासिक स्मारक अगाडि सेल्फी खिचिरहेको देखिन्छन्। 

कालो ओभरकोटमा सजिएकी मलाइका हर्षसँग निकै रोमान्टिक अन्दाजमा पोज दिइरहेकी छन्। तस्बिरमा हर्षले खैरो रङ्गको ओभरकोट लगाएका छन्। यो तस्बिर बाहिरिएसँगै उनीहरू लुकीछिपी प्रेम सम्बन्धमा रहेको र छुट्टी मनाउन इटाली पुगेको दाबी गरिएको छ।

मलाइका र हर्षको सम्बन्धको चर्चा केही समयअघि मुम्बईमा भएको एनरिके इग्लेसियासको कन्सर्टबाट सुरु भएको थियो। उक्त कन्सर्टमा उनीहरू सँगै पुगेका थिए र कार्यक्रम अवधिभर एक-अर्कासँग इशारामा कुरा गरिरहेका देखिएका थिए। कन्सर्ट सकिएपछि पनि उनीहरू सँगै बाहिरिएका थिए। 

त्यति मात्र होइन, मलाइकाको ५०औँ जन्मदिनको भव्य पार्टीमा पनि हर्षको उपस्थिति थियो। मलाइकाले सामाजिक सञ्जालमा शेयर गरेका तस्बिरहरूमा हर्षको अनुहार लुकाइएको वा काटिएको भए पनि उनी त्यहाँ रहेको पुष्टि भइसकेको छ।

केही समयअघि यो जोडी मुम्बई विमानस्थलमा पनि देखिएका थिए। यद्यपि, मिडिया र क्यामराबाट बच्नका लागि उनीहरू पालैपालो छुट्टाछुट्टै भित्र छिरेका थिए। दुबईमा आयोजित एउटा प्रोपर्टी सम्बन्धी कार्यक्रममा पनि उनीहरू सँगै देखिएका थिए, जसको भिडियो समेत सार्वजनिक भएको थियो। 

अहिलेसम्म दुवैले आफ्नो सम्बन्धबारे आधिकारिक रूपमा मुख खोलेका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप