नेता व्यवस्थापनमा चुक्दा मधेसमा रास्वपालाई समस्या
सारांश
- फागुन २१ गते हुने निर्वाचनमा रास्वपाको मधेस प्रदेशमा कमजोर स्थिति देखिएको छ र पार्टी छाड्ने क्रम बढेको छ।
- कांग्रेसको सक्रियता र टिकट वितरणमा असन्तुष्टिले रास्वपाको जनमतमा कमी आएको छ, जसले पार्टीलाई चुनौती थपेको छ।
- रास्वपाका नेताहरूले संगठन विस्तारको दाबी गरे पनि, पुराना दलका नेताहरूको आगमन र मतदाता असन्तुष्टिले पार्टीलाई असर गरेको छ।
काठमाडौँ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । यसपटक खासगरी मधेस प्रदेशमा २०७९ को निर्वाचनताका उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अस्वाभाविक लहर देखिएको छ ।
तर जति निर्वाचन नजिकिँदै छ, उति यो दलले क्षति भोगिरहेको छ । अर्थात् संस्थापनमा रहेका नेताहरूले धमाधम पार्टी छाडिरहेका छन् । तराई–मधेसमा देखिएको प्रारम्भिक जनलहरमा केही कमी देखिन थालेको चर्चा हुन थालेको छ ।
तराई–मधेसमा रास्वपाको सांगठनिक संरचना अन्य क्षेत्रको तुलनामा अत्यन्तै कमजोर छ । कतिपय ठाउँमा त तल्ला तहका कमिटीहरू समेत गठन भएका छैनन् ।
वीरगञ्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार जनताले रास्वपामाथि गरेको विश्वासलाई फागुन २१ गतेसम्म बचाइराख्न सक्ने नेता तथा व्यवस्थापकको अभाव खड्किन थालेको छ । उनी भन्छन्, ‘रास्वपाको पक्षमा अहिले जनताको रुझान देखिए पनि, त्यसलाई मतदानको दिनसम्म कायम राख्न सक्ने प्रभावकारी व्यवस्थापकीय नेतृत्वको कमी छ ।’
मधेसमा कांग्रेस, एमाले, नेकपा, जनता समाजवादी पार्टी नेपाल आदिको वडा तहसम्म बलियो संगठन छ र उनीहरूसँग हरेक कुरालाई व्यवस्थापन गर्न सक्ने अनुभवी नेताहरू छन् । तर रास्वपाको सांगठनिक आधार कमजोर छ । अहिले रास्वपामा लागेका भनिएका अधिकांश नेता तथा कार्यकर्ताहरू पनि अन्य राजनीतिक दलबाट आएका हुन् ।
सिराहाका वरिष्ठ पत्रकार चन्द्रदेव कामती रास्वपाका उम्मेदवारहरूको पछि लाग्ने युवा कुनै न कुनै अन्य दलबाट आएका बताउँछन् । ‘भोलि गएर उनीहरू रास्वपाको साथमा रहन्छन् या रहँदैनन् भन्ने ठुलो चुनौती रास्वपासँग छ,’ कामती भन्छन् ।
मधेस प्रदेशमा विगतमा एमाले सबैभन्दा बलियो दल थियो, त्यसपछि कांग्रेस र माओवादी केन्द्र । अहिले यहाँ एमालेको प्रभाव घट्दै छ भने कांग्रेसको केही हदसम्म बढ्दै गएको देखिन्छ । नेकपा र मधेसवादी दलहरूको अवस्था भने भन्न सक्ने अवस्था छैन । यद्यपि यी दलहरूसँग बलियो सांगठनिक शक्ति छ र मतदाता तान्ने रणनीतिहरू पनि ।
कांग्रेसको सक्रियता र रास्वपाप्रति बढ्दो विकर्षण
कामतीका अनुसार रास्वपाप्रति सुरुवाती आकर्षणमा कमी आउनुको मुख्य कारण कांग्रेसको सक्रियता हो । ‘तराई–मधेसमा कांग्रेस अहिले निकै सक्रिय हुन थालेको छ । विभिन्न पार्टी छोडेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ, जसले रास्वपाको जनलहरलाई प्रभावित गरेको छ,’ उनी भन्छन् ।
एमाले र माओवादी केन्द्र अझै पूर्ण रूपमा सक्रिय हुन बाँकी छ । फागुन १५ गतेदेखि एमालेको सक्रियता बढ्ने र त्यसपछि रास्वपाको जनलहर अझै घट्ने कामतीको बुझाइ छ । अधिवक्ता यादवले पनि सुरुमा रास्वपाको जुन माहोल थियो, त्यो अहिले नदेखिएको बताए । पछिल्लो समय रास्वपा छोड्ने क्रम पनि बढेको छ । पर्सा र बारामा नै धेरैले रास्वपा छोडेर अन्य पार्टीमा गएकाले जनलहर घट्दै गएको उनको विश्लेषण छ ।
यादवका अनुसार रास्वपामा मतदाता धेरै भए पनि त्यसलाई व्यवस्थित गर्ने जनशक्तिको अभाव छ । चुनावको दिनसम्म यी मतदाता जोगाउन नसकिए रास्वपालाई गाह्रो हुने देखिन्छ । रास्वपा नयाँ पार्टी भए पनि यसमा अधिकांश पुराना नेता तथा कार्यकर्ताहरूले स्थान पाएका छन् ।
टिकट वितरणमा असन्तुष्टि
तराई–मधेसमा असन्तुष्टिको एउटा प्रमुख कारण, टिकट वितरणमा असन्तुष्टि हो । रास्वपामा सुरुदेखि लागेका नेता तथा कार्यकर्ताहरूले टिकट पाएनन्, तर अन्य पार्टीबाट आएकाहरूले सजिलै पाए । यस असन्तुष्टिका कारण पनि केहीले पार्टी छोडेका छन् । ‘पार्टी नयाँ छ तर उम्मेदवारहरू उही पुरानै छन् भने नयाँ र पुराना पार्टीमा के फरक ?’ मधेसमा यो प्रश्न उठ्न थालेको छ ।
यद्यपि, धनुषा–३ बाट राष्ट्रिय मुक्ति पार्टीका पूर्वउम्मेदवार तथा हाल रास्वपा प्रवेश गरेका डा. राजीव झाले रास्वपाले तीव्र गतिमा संगठन विस्तार गरिरहेको दाबी गरेका छन् । उनले जनकपुर उपमहानगरपालिकाका सबै वडामा वडा कमिटी, बुथ कमिटी र युथ कमिटी बनिसकेको बताए । ‘रास्वपामा प्रवेश गर्नेहरूको लहर चलेको छ, हामीले नै भ्याइरहेका छैनौँ,’ उनले भने । फागुन २१ गतेसम्म सबै कार्यकर्ता तथा नेताहरूलाई सांगठनिक रूपमा आबद्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ ।
मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् । अधिकांश उम्मेदवारहरू पुराना दलबाट आएकाले टिकट पाएका छन्, कतिपय त भर्खर पार्टी छोडेर आएका हुन् । तर रास्वपा स्थापनाकालदेखि लागेकाहरूले टिकट नपाएपछि रुष्ट भएर कांग्रेस वा अन्य पार्टीमा गएका छन्, जसले रास्वपामाथि नकारात्मक असर पारेको छ ।
रास्वपाका नेता पुरुषोत्तम यादव भने मधेसमा मात्र नभई देशभर नै पार्टीप्रति आकर्षण बढ्दै गएको दाबी गर्छन् । उनले कांग्रेस, एमाले, माओवादी, जसपा नेपालका ठुला नेताहरू रास्वपामा आउन तयारी अवस्थामा रहेको तर आफूहरूले व्यस्तताका कारण समय दिन नसकेको बताए । दुई–चार जनाले पार्टी छोड्दैमा कुनै असर नपर्ने बताउँदै उनले मधेस प्रदेशका ३२ वटै सिट जित्ने दाबी गरे ।
२०७९ को चुनावमा रास्वपाले मधेस प्रदेशमा समानुपातिकतर्फ एक लाख सात हजार ८४ र प्रत्यक्षतर्फ ३२ हजार ५३७ मत मात्र ल्याएको थियो । मधेस प्रदेशमा कुल ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । पत्रकार कामतीका अनुसार रास्वपालाई प्रत्यक्षभन्दा बढी समानुपातिकमा मत आउने सम्भावना छ, किनकि प्रत्यक्षमा ठुला दलहरूको वर्चस्व छ । जनलहर समानुपातिकमा फाइदाजनक हुने भए पनि संगठनको मत संगठनमै जाने उनको बुझाइ छ ।
रास्वपाको हालसम्मको संगठन वा मत सहर बजारकेन्द्रित छ र सबैभन्दा कमजोर मधेसमा नै देखिएको छ । यही कारण रणनीतिक रूपमा रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहलाई उतारेको विश्लेषण पनि छ ।
असन्तुष्ट मतदाता
पछिल्लो समय एमालेको झण्डा रास्वपाका कार्यकर्ताले जलाएको समाचार बाहिरिएपछि त्यसले पनि नकारात्मक असर पारेको छ । जनकपुरकी पत्रकार स्नेहा झाका अनुसार रास्वपाका नेता तथा कार्यकर्ताहरूले अरूलाई स्वीकार गर्न नमान्ने र आफू मात्रै हो, अरू कोही छैनजस्तो व्यवहार देखाएका कारण पनि मतदाताहरू चिढिन थालेका छन् ।
‘कहीँ झण्डा च्यात्ने, कहीँ जलाउने, पार्टी कार्यालय तोडफोड गर्ने वा राँको बाल्नेजस्ता गतिविधिले मतदातालाई उत्साहित होइन, हतोत्साहित बनाएको छ,’ उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण