अभावदेखि प्रभावसम्म : जिम्बाब्वे क्रिकेटलाई नयाँ उचाइ दिँदै मुजाराबानी र बेन्नेट
सारांश
- जिम्बाब्वेका क्रिकेट खेलाडी ब्लेसिङ मुजाराबानी र ब्रायन बेन्नेटको करियर र वर्तमान प्रदर्शनबारे चर्चा गरिएको छ।
- मुजाराबानीले टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै विकेट लिएका छन् भने बेन्नेटले ब्याटिङमा राम्रो छाप छोडेका छन्।
- लेखमा दुवै खेलाडीको व्यक्तिगत जीवन, उनीहरूको क्रिकेट यात्रा, र जिम्बाब्वे क्रिकेटमा उनीहरूको प्रभावबारे जानकारी दिइएको छ।
जिम्बाब्वेका दुई मिटरभन्दा अग्ला फास्ट बलर ब्लेसिङ मुजाराबानीलाई मैदानमा उत्रिन जुत्ता मात्र भए पुग्छ जस्तो लाग्न सक्छ। तर, जब उनले आफ्नो करिअर सुरु गरे, उनीसँग साँच्चै त्यही जुत्ता मात्र थियो।
साथमा, उनको सफलताको लागि जे पनि गर्न तयार रहने एउटी महिलाको साथ थियो, उनकी हजुरआमा।
मुजाराबानी हाइफिल्ड्सको बाक्लो बस्तीमा आफ्नो काकाको छोरासँग हुर्किएका थिए, जहाँ जिम्बाब्वे क्रिकेटका थुप्रै रत्नहरू खारिएका छन्। उनको बाल्यकाल अभावमै बित्यो। जिम्बाब्वेका फिल्डिङ प्रशिक्षक स्टुआर्ट मात्सिकेन्येरीले इएसपीएन क्रिकइन्फोसँग भने, ‘उनी निकै नम्र व्यक्ति थिए। उनको कथा धैर्य, कडा परिश्रम र मायाको कथा हो, विशेषगरी उनकी हजुरआमाको।’
युवा अवस्थामा क्रिकेट खेल्न सुरु गरेपछि मुजाराबानी जिम्बाब्वेको अन्डर-१९ टोलीमा पर्न सकेनन् तर राइजिङ स्टार्स एकेडेमीमा छनोट भए। यो छोटो समयसम्म चलेको सोही नामको फर्स्ट-क्लास टोलीको विकास शाखा थियो। टाटेन्डा टाइबुको मार्गदर्शनमा र मात्सिकेन्येरीको संलग्नतामा उनीहरूले सन् २०१७ मा इंग्ल्याण्डको भ्रमण गरे। मात्सिकेन्येरी भन्छन्, ‘त्यही बेलादेखि उनले सिनियर स्तरमा आफ्नो लय समात्न थालेका हुन्।’

र उनी त्यतिबेलै करिब अन्यत्रै अनुबन्धित भइसकेका थिए। ‘मलाई थाहा छ, सर्रेप्रशिक्षक एलेक स्टुआर्टले उनलाई काउन्टीका बी टोलीहरूसँग खेल्दा देखेका थिए र उनीप्रति चासो देखाएका थिए। यदि उनी एकेडेमीको सम्झौतामा बाँधिएका थिएनन् भने, उनीहरूले त्यतिबेलै उनलाई अनुबन्ध गर्न सक्थे। त्यो सम्झौता मात्रै यस्तो कारण थियो जसले गर्दा उनी जान पाएनन्।’
सोही वर्षको अन्त्यतिर, मुजाराबानीले दक्षिण अफ्रिकामा आफ्नो टेस्ट डेब्यु गरे, जुन डेढ दिनमै सकिएको बिर्सनलायक पिंक-बल टेस्ट थियो। जनवरी २०१८ सम्ममा उनी जिम्बाब्वेको ह्वाइट-बल टोलीमा पनि पर्न सफल भए। तर राइजिङ स्टार्स आर्थिक रूपमा दिगो थिएन र २०१८-१९ को सिजन नजिकिँदै गर्दा उनीहरू आगामी सिजनमा सहभागी नहुने हल्ला चल्यो। त्यही बेला मुजाराबानीले कोल्पाक सम्झौता रोजे।
मात्सिकेन्येरीले भने, ‘उनले निकै राम्रो नियतका साथ त्यो सम्झौता गरेका थिए। उनको लागि विकास गर्ने त्यो उत्तम समय थियो। कहिलेकाहीँ घर छोड्नु सधैँ नराम्रो हुँदैन, र रोजगारीको दृष्टिकोणबाट पनि त्यो जायज थियो।’

इंग्ल्याण्डको कन्डिसनमा बलिङ सिक्ने आकर्षण र स्थिर आम्दानीले नै आफूलाई बेलायत पुर्याएको र जिम्बाब्वे फर्किने आफ्नो उद्देश्य रहेको मुजाराबानीले सधैँ बताउँदै आएका थिए। उनी दुवै कुरामा सही साबित भए।
नर्थह्याम्पटनशायरसँगको बसाइको पहिलो भागमा उनले जेसन होल्डर सँग लिस्ट ए क्रिकेट खेले, जहाँबाट उनको सिकाइ सुरु भयो। ‘उनले जेसन होल्डरको बारेमा निकै तारिफ गर्थे, विशेषगरी बेलायतमा एउटा अग्लो बलरले कसरी बलिङ गर्ने भनेर सिक्ने सन्दर्भमा। उनले त्यहाँबाट धेरै कुरा सिके र आफूलाई एक व्यावसियक खेलाडीको रूपमा ढाले,’ मात्सिकेन्येरीले भने, ‘उनले एउटा व्यावसायिक वातावरणबाट धेरै पाठ सिके। जब उनी फर्किए, उनीभित्रको परिवर्तन स्पष्ट देखिन्थ्यो।’
डिसेम्बर २०२० मा, बेलायत युरोपेली संघबाट बाहिरिएसँगै कोल्पाक सम्झौताहरू समाप्त भए। मुजाराबानी त्यही नोभेम्बरमा जिम्बाब्वेको टोलीमा फर्किए र त्यसयता टोलीको प्रमुख हिस्सा बनेका छन्। यद्यपि जिम्बाब्वेले सन् २०२४ को टी-२० विश्वकपमा छनोट नहुने ठुलो असफलता भोगेको कारण सफलता मापन गर्न गाह्रो छ, तर मुजाराबानी भने उत्कृष्ट साबित भए। २०२४ को प्रतियोगितायता, यस फर्म्याटमा कम्तीमा ५० ओभर बलिङ गर्ने पेस बलरहरूमध्ये उनको इकोनोमी रेट तेस्रो उत्कृष्ट थियो र उनले प्रतिओभर सात रनभन्दा कम खर्चे।
उनको बाउन्स निकाल्ने क्षमता त स्पष्टै छ, तर उनले सटिक लाइन पनि कायम राख्छन्, ब्याटरहरूलाई खेल्ने ठाउँ दिँदैनन् र गल्ती गर्न बाध्य पार्छन्। यो कुरा यस टी-२० विश्वकपमा अस्ट्रेलियाविरुद्धको खेलमा प्रस्ट देखिएको थियो, जहाँ उनको करिअरको उत्कृष्ट १७ रन दिएर ४ विकेट लिने प्रदर्शन निकै चलाख ब्याक-अफ-ए-लेन्थ योजनाबाट आएको थियो। उनले
ब्याटरलाई पुल सट खेल्न त उक्साए तर सट सफल हुने कुनै मौका दिएनन्। ‘उनी आफ्नो कलालाई साँच्चै गम्भीरताका साथ लिन्छन्। उनको आत्मविश्वास बढिरहेको छ,’ मात्सिकेन्येरीले भने।

मुजाराबानीले जिम्बाब्वेलाई जति अगाडि बढाउँदैछन्, उनका सेलिब्रेसन त्यति नै ऊर्जावान बन्दैछन्, तर उनी अझै उस्तै नम्र छन्। मात्सिकेन्येरीले भने, ‘उनी लजालु स्वभावका छन्। धेरै बोल्न चाहँदैनन्। उनी काम गरेर देखाउँछन् र जिम्मेवारी लिन्छन्। उनी उफ्रिएर ‘म यो गर्छु’ भन्दैनन्, तर वास्तवमा उनी स्वाभाविक रूपमै त्यो गरिदिन्छन्।’
उनी टी-२० विश्वकपको सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थाननजिक छन् र हाल स्याडली भान शाल्कविकभन्दा चार विकेटले पछि पर्दै संयुक्त रूपमा दोस्रो स्थानमा छन्। तर शीर्ष स्थानमा पुग्नु उनको मुख्य प्रेरणा होइन।
‘उनी त्यता ध्यान दिइरहेका छैनन्। उनको ध्यान आफ्नो शरीरलाई कसरी स्वस्थ राख्ने र अर्को खेलको लागि कसरी पूर्ण फिट हुने भन्नेमा छ। उनी प्रतियोगितामा कुन स्थानमा छन् भनेर सोचिरहेका छैनन्। उनी त, अब हामी भारत जाँदैछौँ, त्यहाँको कन्डिसन फरक हुनेछ, मैले के गर्नुपर्छ? भन्ने सोचमा छन्। यो उनको लागि यस्तो समय हो जहाँ उनी भोलि र पर्सी टोलीको लागि कसरी योगदान दिन सकिन्छ भन्ने महत्त्वपूर्ण कुरामा मात्र केन्द्रित छन्।’
मुजाराबानीको लागि टोली परिवार जत्तिकै महत्त्वपूर्ण बनेको छ। उनकी हजुरआमाको केही वर्षअघि निधन भयो र उनले कहिल्यै अन्तर्राष्ट्रिय खेल मैदानमा बसेर हेर्न पाइनन्। प्यारापिटमा उनलाई हौसला दिने उनको आफ्नो कोही नभए पनि १ करोड ७० लाख जिम्बाब्वेवासी उनको हरेक कदममा साथ छन्। उनी ती मानिसहरूकै प्रतिनिधित्व गर्छन्, जसले शून्यबाट केही बनाएका छन् र विश्वमञ्चमा आफूले के हासिल गर्न सकिन्छ भनेर देखाएका छन्।
जिम्बाब्वेको यो उत्कृष्ट अभियानको अर्को छेउमा यस्ता ब्याटर छन् जसलाई अहिलेसम्म कसैले आउट गर्न सकेको छैन: ब्रायन बेन्नेट। जसले खेलकुदमा सफलता पाउन निकै परम्परागत बाटो तय गरे।
उनले जिम्बाब्वेको सबैभन्दा प्रतिष्ठित ब्वाइज बोर्डिङ स्कुलमध्येको एक पिटरहाउसमा अध्ययन गरे र त्यसपछि दक्षिण अफ्रिकाको किंग्सवुड कलेजमा एक वर्ष बिताए जहाँ उनले पूर्व फर्स्ट-क्लास क्रिकेटर एन्ड्रयु बर्चबाट प्रशिक्षण पाए। उनको राष्ट्रिय टोलीमा प्रवेश ‘हुने कि नहुने’ भन्ने प्रश्न थिएन, बरु ‘कहिले हुने’ भन्ने मात्र थियो, र उनको प्रदर्शन आश्चर्यजनक छ।
सबै फर्म्याटमा जम्मा ७७ अन्तर्राष्ट्रिय खेलमै बेन्नेटले चार शतक र १३ अर्धशतक प्रहार गरिसकेका छन्। उनी जिम्बाब्वेको सर्वाधिक टी-२० रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा पुगिसकेका छन्। उनले सही समयमा आक्रामकता देखाउँदै जिम्बाब्वेको ब्याटिङ लाइन-अपलाई सम्हाल्ने काम गरेका छन्।
ब्रेन्डन टेलरले इएसपीएन क्रिकइन्फोसँग भने, ‘मलाई थाहा छैन यी युवा खेलाडीको तारिफ गर्न पर्याप्त शब्दहरू छन् कि छैनन्। २२ वर्षको उमेरमै उनले विश्व र जिम्बाब्वे क्रिकेटमा तहल्का मच्चाएका छन्। उनी निकै शान्त स्वभावका छन् र उमेरभन्दा निकै परिपक्व र प्रतिभाशाली छन्।’
युवा बेन्नेटले पाएको अर्को फाइदा भनेको उनको परिवारले व्यक्तिगत प्रशिक्षणको शुल्क तिर्न सक्थ्यो। उनलाई प्रशिक्षण दिएका कारण टेलरले उनलाई राम्ररी चिन्छन्। टेलरले किशोरावस्थाका बेन्नेटलाई भनेको सम्झिन्छन्, ‘तिमी तयार बस किनभने मलाई लाग्छ अन्तर्राष्ट्रिय क्रिकेटमा तिम्रो प्रवेश धेरै छिटो हुन सक्छ।’ जब त्यो समय आयो, बेन्नेटले टेलरको अपेक्षाभन्दा पनि राम्रो प्रदर्शन गरे।
टेलरले भने, ‘ब्रायनमा केही यस्तो फरकपन छ, जुन हामीले जिम्बाब्वे क्रिकेटमा वर्षौँदेखि देखेका थिएनौँ। उनी आफूतिर आइरहेको बललाई हेरेर प्रतिक्रिया दिने ब्याटर हुन् र उनीसँग शटहरूको विस्तृत विविधता छ। उनी फास्ट बलिङलाई सजिलै खेल्न सक्छन् भने उनको स्पिन खेल्ने शैली पनि तीव्र रूपमा सुधार भइरहेको छ।’

ओमानविरुद्ध उनी निकै आक्रामक देखिँदै ३६ बलमा ४८ रन बनाए, जहाँ उनले अपर-कट र प्याडल स्विप शटहरू देखाए। अस्ट्रेलियाविरुद्ध भने उनी अलि सजग देखिए र आफ्नो पहिलो १२ बलमा जम्मा पाँच रन बनाएर पिचको अवस्था बुझे। अवसर पाउनेबित्तिकै उनले गति बढाए र ५६ बलमा ६४ रन बनाए।
त्यसपछि उनले श्रीलंकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै १८० रनको लक्ष्यलाई जिम्बाब्वेले हरेक दिन गर्ने सामान्य काम जस्तै गरी पूरा गराए। बेन्नेटको दबाबमा पनि शान्त रहन सक्ने क्षमताले उनलाई अरूभन्दा फरक बनाउँछ र यसैमा टेकेर जिम्बाब्वेले भविष्य निर्माण गर्न सक्ने टेलरको विश्वास छ। ‘उनी विचलित हुँदैनन् र क्रिजमा निकै शान्त रहन्छन्, जुन स्वभाव टोलीका अन्य सदस्यहरूमा पनि सर्छ,’ टेलरले भने।
४० वर्षको उमेरमा टेलर आफैँ पनि बेन्नेटबाट सिकिरहेका छन्। ‘हामी सबैले उनी र उनको ब्याटिङ शैलीबाट केही न केही सिक्न सक्छौँ। हामी उनलाई शुभकामना मात्र दिन सक्छौँ र उनको भविष्य तथा उनले जिम्बाब्वे क्रिकेटको लागि के गर्नेछन् भन्ने कुरालाई लिएर हामी अत्यन्तै उत्साहित छौँ। त्यो निकै विशेष हुनेछ,’ उनले भने ।
अचानक पाएको यो चर्चालाई बेन्नेट कसरी सम्हालिरहेका छन् त? ठीक मुजाराबानी जस्तै, यसमा सकेसम्म कम ध्यान दिएर। ‘म उनलाई युवा क्रेग अर्भिनसँग तुलना गर्छु, जो थोरै बोल्छन् तर उत्कृष्ट छन्,’ टेलरले भने, ‘उनी आफ्नो टोलीप्रति धेरै वफादार छन् र उनको सोच निकै परिपक्व छ। यहाँ उनको परिवार पनि सँगै छ र उनीहरू निकै घनिष्ठ परिवार हुन् भन्ने प्रस्ट देखिन्छ। उनले आमाबुवाबाट राम्रो साथ पाएका छन्। उनी टोलीमा सबैको प्रिय छन्, उनको स्वभाव नम्र छ र उनीसँग रमाइलो गर्ने राम्रो खुबी पनि छ।’

बेन्नेटका आमाबुवा टोलीको खेल हेर्न श्रीलंकामा छन् र अस्ट्रेलियाविरुद्धको खेलपछि उनकी आमाको अन्तर्वार्ता लिइएको थियो। उनले भनिन्, ‘विश्वकपमा उनीसँगै आएको यो हाम्रो पहिलो पटक हो र हामी निकै गर्वित आमाबुवा हौँ।’
मुजाराबानीलाई माया गर्ने तिनै १ करोड ७० लाख जिम्बाब्वेवासी बेन्नेटले ब्याटिङबाहेक गरेको अर्को एउटा कामको बारेमा कुरा गर्न छोड्दैनन्। ओमानविरुद्ध दौडिँदै र अगाडि डाइभ हान्दै उनले लिएको फ्लाइङ क्याच थुप्रै मिमको विषय बनेको छ।
यो प्रतियोगिताको अन्तिम बल फालिएपछि पनि जिम्बाब्वेको चर्चा भइरहने सुनिश्चित गर्ने कुराहरूमध्ये यो एक हो। यसले त्यहाँको क्रिकेटलाई दशकौंदेखि गुमाएको सम्मान फिर्ता दिलाएको छ।
‘जिम्बाब्वे फर्किएको छ’ भनेर मानिसहरू भनिरहेका छन्, तर सायद पहिलो पटक, उनीहरू साँच्चिकै यहाँ उपस्थित छन्। उनीहरूको जटिल, घाउहरूले भरिएको र संघर्षरत समाजको सम्पूर्ण चित्र यस विश्वकपको प्लेइङ-११ को माथिदेखि तलसम्म देख्न सकिन्छ।
मुजाराबानी र बेन्नेटका जीवन यात्राहरू एकअर्काभन्दा बिलकुलै फरक होलान्, तर यस प्रतियोगितामा उनीहरू मैदानको बिचमा कसरी एकसाथ उभिएका छन् भन्ने कुराले नै सबैभन्दा ठुलो अर्थ राख्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण