सुनसरीमा ५९ मतदानस्थल अति संवेदनशील
सुनसरी । सुनसरीका ५९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन् । अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचीमा रहेका हुन् ।
जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ । सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसावमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । त्यसैगरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदानस्थल र धरान ५ को हिमाली मावि देउराली मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।
सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतिका रुपमा हेरेको छ । सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ ।
नाकाबाट हुनसक्ने शंकास्पद गतिविधि र आपराधिक प्रवृति भएकाहरुबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाइएको प्रशासनले जनाएको छ । धार्मिक सदभाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने जस्ता कुरालाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रुपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ ।
विशेषगरी जेनजी मुभमेन्ट र पुराना दलबीच देखापर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ । समग्र जिल्लाको शान्ति सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता संख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण