बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल

मङ्गलबार, १२ फागुन २०८२, ११ : २१
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • हेमराज ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे।
  • उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण र निजी क्षेत्रको मनोबल उच्च बनाउने एजेण्डा प्रस्तुत गरे।
  • ढकालले व्यवसायीका समस्या समाधान र स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति ल्याउने प्रतिबद्धता जनाए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माण र निजी क्षेत्रको मनोबल उच्च बनाउने मुख्य एजेण्डासहित आफ्नो प्यानल सार्वजनिक गरेका हुन्। 

प्रतिकूल परिस्थितिमा पनि महासंघमा रहेर उल्लेखनीय काम गरेको दाबी गर्दै उनले व्यवसायीका समस्या समाधानका लागि आवश्यक परे सरकारको ढोका ढक्ढक्याउन पछि नहट्ने उद्घोष गरे। उम्मेदवारी घोषणा गर्दै ढकालले नीतिगत स्थिरता र कर सुधारका क्षेत्रमा आफूले अघिल्लो कार्यकालमा महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरे। 

देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न नसकेको र व्यवसायीमा त्रास रहेको स्वीकार गर्दै उनले रोकिएका कानुनहरू पारित गराउन विशेष पहल गर्ने प्रतिबद्धता जनाए। जेनजी आन्दोलनपछि समावेशिता र आर्थिक एजेण्डाको बहस बढेको उल्लेख गर्दै उनले महासंघलाई अझ सक्रिय बनाएर सरकारसँग स्पष्ट संवाद गर्ने बताए। थलिएको अर्थतन्त्रलाई गति दिन र युवाहरू विदेशिने क्रम रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने खालका नीति ल्याउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ।

ढकालको प्यानलबाट एसोसिएट उपाध्यक्षमा वर्तमान उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पुनः उम्मेदवारी घोषणा गरेकी छन्। त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। 

निजी क्षेत्र विभाजित नभई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै ढकालले आफ्नो टिमलाई विश्वास गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह गरे। अर्थतन्त्रमा परेको दबाबबाट मुक्ति पाउन र बजारलाई चलायमान बनाउन महासंघका सदस्यहरूको म्याण्डेटअनुसार अघि बढ्ने संकल्प उनले व्यक्त गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप