शनिको खुल्यो रहस्य : अर्को चन्द्रमासँग ठोक्किएर बनेको थियो ‘टाइटन’, यसरी नै बनेका थिए रिङ
काठमाडाैँ । वैज्ञानिकहरूले शनि ग्रहको सबैभन्दा ठुलो चन्द्रमा ‘टाइटन’ र यसको वरिपरि देखिने सुन्दर रिङको उत्पत्तिबारे नयाँ तथ्य पत्ता लगाएका छन्। हालै गरिएको एक अनुसन्धानले करिब ५० करोड वर्षअघि शनि ग्रहको एउटा अर्को अज्ञात चन्द्रमा टाइटनसँग ठोक्किएको र सोही भीषण टक्करबाट वर्तमान टाइटनको स्वरूप बनेको खुलासा गरेको हो।
‘द प्लानेटरी साइन्स जर्नल’ मा प्रकाशित हुने तयारीमा रहेको यो अध्ययनले शनिको प्रणालीमा रहेका धेरै रहस्यहरू सुल्झाउन मद्दत गरेको छ। अध्ययनका मुख्य लेखक तथा सेटी इन्स्टिच्युटका वैज्ञानिक मातिजा कुकका अनुसार टाइटनको आकार पृथ्वीको आधा र बुध ग्रहभन्दा ठुलो छ।
यसको गुरुत्वाकर्षण यति शक्तिशाली छ कि यसले शनि ग्रहलाई नै हल्लाउने र ढल्काउने गर्छ। अनुसन्धानकर्ताहरूको यो नयाँ सिद्धान्तअनुसार ५० करोड वर्षअघि टाइटनसँग ठोक्किएको सो अज्ञात चन्द्रमा पछि टाइटनमै बिलिन भएको थियो।
यही टक्करका कारण शनिको अर्को सानो र अनौठो आकारको चन्द्रमा ‘हाइपरियन’ को जन्म भएको हुनसक्ने अनुमान गरिएको छ। हाइपरियन कि त सोही टक्करबाट उछिट्टिएको टुक्रा हो वा टाइटनको वरिपरि जम्मा भएका भग्नावशेषबाट बनेको पिण्ड हो।
वैज्ञानिकहरूका अनुसार शनिको वरिपरि देखिने आकर्षक रिङहरू पनि यही शृङ्खलाबद्ध टक्करको परिणाम हुन्। टाइटन र अर्को चन्द्रमा ठोक्किँदा उत्पन्न भएको हलचलले भित्री साना चन्द्रमाहरूलाई एकआपसमा जुधाएको र त्यसबाट निक्लिएको धुलो तथा बरफका टुक्राहरूबाट करिब १० करोड वर्षअघि शनिको रिङहरू बनेको देखिन्छ।
यसअघि खगोलविद्हरूले वरुण ग्रह (नेप्चुन) को गुरुत्वाकर्षणका कारण शनि ढल्किएको विश्वास गर्थे, तर क्यासिनी स्पेसक्राफ्टले पठाएको तथ्याङ्कले त्यहाँ एउटा ‘हराएको चन्द्रमा’ को भूमिका रहेको संकेत गरेको थियो। सन् २०२२ मा खगोलविद्हरूले ‘क्रिसालिस’ नाम दिइएको एक हराएको चन्द्रमाका कारण शनिको रिङ बनेको दाबी गरेका थिए भने अहिलेको नयाँ अनुसन्धानले त्यसलाई थप परिष्कृत गर्दै टाइटन र ‘प्रोटो(हाइपरियन’ बिचको टक्कर नै मुख्य कारण रहेको पुष्टि गरेको छ।
यो अनुसन्धानले टाइटन शनिबाट वार्षिक ११ सेन्टिमिटरका दरले टाढिँदै गएको तथ्यलाई पनि स्पष्ट पारेको छ। यदि यो प्रक्रिया जारी रहेमा भविष्यमा टाइटन शनिको कक्षबाट पूर्ण रूपमा बाहिरिन सक्ने सम्भावना छ।
नासाको ड्र्यागनफ्लाई नामक रोटरक्राफ्ट सन् २०२८ मा टाइटनतर्फ प्रस्थान गर्दैछ, जसले सन् २०३४ मा त्यहाँ अवतरण गरी माटो र ढुङ्गाका नमूनाहरू संकलन गर्नेछ। सो मिसनले यो ‘टक्करको सिद्धान्त’ लाई प्रयोगशालामै परीक्षण गर्ने र शनिको रहस्यमयी इतिहासका थप पानाहरू उल्ट्याउने वैज्ञानिकहरूको अपेक्षा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण