बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अभिनेत्री मीरा पण्डितलाई दर्जन प्रश्न

‘भर्सटाइल कलाकारको रूपमा चिनिन चाहन्छु’

बुधबार, १३ फागुन २०८२, १६ : ५६
बुधबार, १३ फागुन २०८२

सारांश

  • मीरा पण्डित 'बिगुल' फिल्मबाट डेब्यु गरेकी थिइन्, तर फिल्म रिलिज स्थगित भयो।
  • नर्सिङ पेशा छाडेर अभिनयमा होमिएकी मीराले 'कस्तुरी' फिल्ममा बोल्ड भूमिका निर्वाह गर्दैछिन्।
  • उनले अभिनयलाई परिपक्व बनाउन मण्डला थिएटरमा प्रशिक्षण लिएकी थिइन्।

काठमाडौं । रंगीन पर्दाको रौनक र सुनौलो भविष्यका कारण पछिल्लो समय थुप्रै नवप्रवेशीहरू अभिनयमा आकर्षित भइरहेका छन् । तीमध्ये एक हुन् मीरा पण्डित । उनी फागुन १ गतेबाट प्रदर्शनमा आएको र बुधबारबाट प्रदर्शन स्थगित गर्ने घोषणा गरेको फिल्म ‘बिगुल’की हिरोइन हुन् । यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी उनले ‘बिगुल’बाट राम्रो चर्चा पाइरहेकी थिइन् । अचानक फिल्मको रिलिज स्थगित हुँदा दु:खी बनेकी उनी फेरि फिल्म रिलिज हुने र चर्चा पाउनेमा आशावादी छिन् । 

पेसाले नर्स मीराले करिब साढे दुई वर्ष नर्सिङ क्षेत्रमा काम गरेपछि अभिनयमा होमिएकी हुन् । बाल्यकालदेखि नै अभिनयमा रुचि भएकाले नर्सिङ पेसा छाडेर अभिनय रोजेको उनी बताउँछिन् । केही विज्ञापन, वृत्तचित्र र सिरियलमा समेत काम गरिसकेकी उनले आफूलाई एउटा परिपक्व कलाकारको रूपमा स्थापित गर्न एक वर्ष मण्डला थिएटरमा अभिनयको प्रशिक्षण समेत लिएकी छन् । 

कीर्तिपुरमा आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै आफूलाई उद्यमीको रूपमा समेत अगाडि बढाएकी उनले मंगलबारदेखि नयाँ फिल्म ‘कस्तुरी’को छायांकन सुरु गरेकी छन् । यो फिल्ममा उनी ‘बिगुल’को तुलनामा भिन्न र बोल्ड भूमिकामा देखिनेछिन् । अभिनेत्री मीरा पण्डितसँग रातोपाटीका दर्जन प्रश्न :

‘बिगुल’को प्रदर्शन केही दिनमै स्थगित भयो नि, किन ?

निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कन गर्दै निर्माण युनिटले यो निर्णय गरेको हो । उपयुक्त समय हेरेर फिल्म पुनः प्रदर्शनमा आउनेछ ।

Mira Pandit1

फिल्म हेर्ने दर्शकबाट आफ्नो अभिनयको प्रतिक्रिया कस्तो पाउनुभयो ?

प्रतिक्रिया एकदमै राम्रो मिलिरहेको छ । फिल्म हेर्ने सबैले मेरो भूमिका पर्फेक्ट रहेको बताउनुभएको छ । सबैबाट तारिफ र हौसला पाइरहेकी छु । फिल्ममा मेरो ‘समीक्षा’ नामक युवतीको भूमिका छ, जो अस्ट्रेलियाबाट नेपाल फर्किएर यहाँका बेथिति विरुद्ध आवाज उठाउने एउटा सशक्त पात्र हो । यो भूमिकालाई दर्शकले निकै रुचाउनुभएको छ । धेरैले मेरो भूमिकालाई अहिलेको ‘जेनजी’ पुस्ताले उठाएको आन्दोलनसँग पनि तुलना गर्नुभएको छ ।

कतिपयले त मेरो अभिनय हेर्दा यो डेब्यु फिल्म जस्तो नदेखिएको र पहिलेदेखि नै काम गरिरहेको अनुभवी कलाकार जस्तो लागेको प्रतिक्रिया दिनुभएको छ । यसबाट म एकदमै खुसी छु । यही फिल्मकै कारण मैले नयाँ फिल्म ‘कस्तुरी’मा काम गर्ने अवसर पाएँ, जसको सुटिङ सेटमा मंगलबारदेखि ज्वाइन भइसकेकी छु ।

‘बिगुल’मा अभिनय गर्ने अवसर कसरी मिल्यो ?

म अडिसन दिएर नै यो फिल्मका लागि छानिएकी हुँ । म थिएटर ब्याक ग्राउन्डको मान्छे हुँ र थिएटरका अलावा मोडलिङ र सिरियलहरूमा पनि सक्रिय रहँदै आएकी छु । मसँगै काम गर्नुभएकी एकजना दिदीले निर्देशक रमेश कोइरालालाई मेरो नाम सिफारिस गर्नुभएको रहेछ ।

अडिसनका लागि म लगायत १० जना जति थियौँ, जसमा म छानिएँ । फिल्मका लागि अलि परिपक्व कलाकारको खोजी भइरहेको रहेछ, थिएटरको अनुभव भएकाले मलाई उपयुक्त ठानियो ।

‘बिगुल’मा काम गर्दाको अनुभव कस्तो रह्यो ?

अनुभव एकदमै राम्रो रह्यो । पहिलो फिल्ममै धेरै सिनियर कलाकारहरूसँग काम गर्न पाएँ । फिल्मका सबै कलाकारले अभिनयमा कुनै सम्झौता नगरी काम गरेका छौँ । यस फिल्ममा हिरो–हिरोइन भन्दा पनि पात्र (क्यारेक्टर)लाई बढी महत्त्व दिइएको छ । यो राजनीतिक विषयको मुभी भएकाले कलाकारको अभिनय सशक्त हुन जरुरी थियो । दिग्गज कलाकारहरूसँग काम गर्दा मैले पनि अभिनयलाई कसरी निखार्ने भन्ने कुरा सिक्ने मौका पाएँ । यो मेरो लागि एउटा पाठशाला जस्तै भयो ।

‘कस्तुरी’मा कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ ?

अहिले नै भूमिकाका बारेमा सबै कुरा खुलाउने अनुमति छैन । तर यति भन्न सक्छु कि ‘बिगुल’मा देख्नुभएको भन्दा निकै फरक र अझ बोल्ड भूमिकामा मलाई देख्नुहुनेछ ।

फिल्म छनोट गर्दा तपाईंको प्राथमिकता के हुन्छ ?

पहिलो प्राथमिकता कन्टेन्ट र भूमिका हुन्छ । त्यसपछि मात्र टिम र ब्यानरलाई हेर्छु । सबै कुरा राम्रो लागेपछि मात्र पारिश्रमिकको कुरा गर्छु ।

नर्सिङ अध्ययन र काम गरेको व्यक्ति अभिनयतिर कसरी मोडिनुभयो ?

म पेसाले नर्स हुँ, साढे दुई वर्ष अस्पतालमा काम गरेँ । साथै, म एक उद्यमी पनि हुँ, कीर्तिपुरमा मेरो आफ्नै रेस्टुरेन्ट छ । तर अभिनय मेरो सानैदेखिको रुचि र प्यासन हो । सानोमा विज्ञापनमा काम गर्दादेखि नै मलाई यस क्षेत्रमा रुचि थियो । पछि आत्मसन्तुष्टिका लागि नर्सिङ छोडेर पूर्णकालीन रूपमा अभिनयमा होमिएकी हुँ ।

जब मलाई अभिनयमा लाग्नुपर्छ भन्ने महसुस भयो, तब आफूलाई तयार पार्न मण्डला थिएटर पुगेँ । त्यहाँ मैले एक वर्षको अभिनय प्रशिक्षण लिएकी छु । फिल्ममा आउनुअघि मैले एउटा नाटकमा पनि अभिनय गरेकी थिएँ ।

कस्तो अभिनेत्री बनेर चिनिने चाहना छ ?

म फिल्म क्षेत्रमा कलाकार बन्न आएकी हुँ, केवल हिरोइन होइन । मलाई ग्ल्यामरस हिरोइन भन्दा पनि एक कुशल ‘क्यारेक्टर आर्टिस्ट’ (चरित्र अभिनेत्री) का रूपमा चिनिने रहर छ ।

Mira Pandit

अब कुन–कुन कलाकारसँग पर्दा सेयर गर्ने इच्छा छ ?

नेपाली फिल्म क्षेत्रमा अहिले एकसेएक राम्रा कलाकारहरू हुनुहुन्छ । सबैजनासँग पालैपालो काम गर्ने इच्छा छ, जसबाट अभिनयका धेरै नयाँ कुरा सिक्न पाइयोस् र आफूलाई अझै निखार्न मद्दत पुगोस् ।

फिल्म क्षेत्रमा महिला र पुरुष कलाकारबिच पारिश्रमिकमा विभेद छ भनिन्छ नि ?

बाहिर हल्ला त त्यस्तै सुनिन्छ । म भर्खरै यस क्षेत्रमा प्रवेश गरेकाले यसको गहिराइ बुझिसकेकी छैन । अहिलेसम्म मैले सन्तोषजनक पारिश्रमिक नै पाइरहेकी छु । म अलि स्पष्ट बोल्ने स्वभावको भएकाले भविष्यमा त्यस्तो विभेद महसुस भयो भने पक्कै आवाज उठाउनेछु ।

फिल्म क्षेत्रमा महिला कलाकारलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

अहिलेसम्मको मेरो अनुभवमा दृष्टिकोण एकदमै राम्रो छ । यहाँ प्रतिभाको कदर हुन्छ । म नयाँ भए पनि धेरैले मेरो कामको प्रशंसा र समर्थन गरिरहनुभएको छ । त्यसैले मलाई यहाँ काम गर्न कत्ति पनि गाह्रो महसुस भएको छैन ।

अभिनय क्षेत्रमा तपाईंका केही सपना छन् कि ?

सशक्त र विशेषगरी महिलाप्रधान भूमिका निर्वाह गर्ने र आफ्नो अभिनयले दर्शकको मनमा बस्ने मेरो ठुलो सपना छ । म फिल्म क्षेत्रमा एक ‘भर्सटायल’ कलाकारका रूपमा चिनिन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप