बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स लिगः पीएसजी अघिल्लो चरणमा, युभेन्टस प्रतियोगिताबाट बाहिर

बिहीबार, १४ फागुन २०८२, ०४ : ५८
बिहीबार, १४ फागुन २०८२

सारांश

  • यूईएफए च्याम्पियन्स लिगको प्ले-अफ दोस्रो लेगमा पीएसजी मोनाकोसँग बराबरीमा रोकिए पनि समग्रमा अघिल्लो चरणमा प्रवेश गर्यो।
  • युभेन्टसलाई गालातासारेले उसैको मैदानमा पराजित गर्दै प्रतियोगिताबाट बाहिर निकाल्यो, समग्रमा ७-५ को नतिजा रह्यो।
  • पीएसजीका लागि मार्किन्होस र खिभिचा क्वारात्स्खेलियाले गोल गरे भने युभेन्टसका लागि म्यानुअल लोकाटेली, फेडेरिको गाटी र वेस्टन म्याकेनीले गोल गरे।

काठमाडौँ । आज सम्पन्न यूईएफए च्याम्पियन्स लिगको प्ले–अफ दोस्रो लेगका खेलहरूमा नाटकीय नतिजाहरू देखिएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) घरेलु मैदानमा मोनाकोसँग बराबरीमा रोकिए पनि समग्रमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ भने इटालियन क्लब युभेन्टस घरेलु मैदानमा गालातासारेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

पीएसजीले आफ्नो घरेलु मैदानमा मोनाकोसँग २–२ गोलको बराबरी खेलेको छ । यद्यपि, पहिलो लेगमा हासिल गरेको जितको अग्रताले पीएसजी समग्रमा ५–४ को नतिजासहित अर्को चरणमा पुग्न सफल भयो।

खेलमा पहिलो अग्रता मोनाकोले ४५ औँ मिनेटमा म्याग्नेस अक्लिउचेको गोलबाट लिएको थियो । ५८ औँ मिनेटमा मोनाकोका मामाडोउ कौलिबालीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै पीएसजीका लागि ६० औँ मिनेटमा मार्किन्होस र ६६ औँ मिनेटमा खिभिचा क्वारात्स्खेलियाले गोल गर्दै खेलमा अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा जोर्डन तेजेले मोनाकोका लागि बराबरी गोल फर्काए पनि टोलीलाई अघिल्लो चरणमा पुग्न पर्याप्त भएन ।

युभेन्टसलाई स्तब्ध पार्दै गालातासारे अघिल्लो चरणमा

अर्को खेलमा गालातासारेले युभेन्टसलाई उसैको मैदानमा समग्रमा ७–५ ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको छ । दोस्रो लेगको निर्धारित समयमा युभेन्टस ३–२ ले विजयी भए पनि समग्रमा खेल ५–५ को बराबरीमा पुगेपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलमा युभेन्टसका लागि म्यानुअल लोकाटेलीले ३७ औँ, फेडेरिको गाटीले ७० औँ र वेस्टन म्याकेनीले ८२ औँ मिनेटमा गोल गरेका थिए । युभेन्टसका लोयड केलीले ४८ औँ मिनेटमा रातो कार्ड पाएका थिए । अतिरिक्त समयमा गालातासारेले उत्कृष्ट प्रदर्शन गर्‍यो । भिक्टर ओसिमहेन र बारिस अल्पर यिलमाजले गोल गर्दै गालातासारेको अविश्वसनीय जित सुनिश्चित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप