शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मिमिक्री

प्रभात लामाको ‘सुदन गुरुङ’ अवतार

‘महेश बस्नेत अतिथि बन्दा किन सत्तोसराप ?’
बिहीबार, १४ फागुन २०८२, १० : ३१
बिहीबार, १४ फागुन २०८२

सारांश

  • कमेडीयन प्रभात लामाले 'कमेडी नाइट विथ च्याम्पियन्स' मा सुदन गुरुङको हुबहु नक्कल गरेर चर्चा कमाए।
  • प्रभातले सुदनको आवाज, शैली र गेटअपमा ध्यान दिँदै महेश बस्नेत र सुदन गुरुङबीचको विवादलाई व्यंग्यको रूपमा प्रस्तुत गरे।
  • कार्यक्रममा महेश बस्नेत अतिथिका रूपमा सहभागी भएपछि सामाजिक सञ्जालमा गालीगलौज भएको र शोका निर्देशकले कानुनी उपचार खोज्ने चेतावनी दिए।

काठमाडौं । लामो कोट, फरक हेयर स्टाइल, आँखामा कालो रंगको गोलो फ्रेमवाला चस्मा । सामाजिक सञ्जाल स्क्रोल गर्दा अहिले यो हुलिया भएको तस्बिर भाइरल देखिन्छ । पहिलो नजरमा धेरैलाई लागिहाल्छ यो तस्बिर जेनजी अगुवा सुदन गुरुङको भनेर ।

तर होइन, ती व्यक्ति सुदन नभई उनकै हुलियामा प्रस्तुत भएका कमेडियन प्रभात लामा हुन् । रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो भागमा ‘सुदन गुरुङ’ अवतारमा लामा प्रस्तुत भएका हुन् । शो सार्वजनिक भएसँगै सुदनको हुबहु अवतार र मिमिक्री प्रस्तुत गरेको भन्दै प्रभातको चौतर्फी प्रशंसा भइरहेको छ । फेसबुकदेख टिकटकसम्म उनको प्रस्तुतिका क्लिप र तस्बिर छाएका छन् ।

किन जन्मियो त यो चरित्र ? ‘मेरो अनुहार सुजनसँग मिल्दोजुल्दो रहेको टिप्पणी साथीभाइले पहिलेदेखि नै गर्दै आएका थिए’, प्रभात सुनाउँछन्, ‘जब ‘कमेडी नाइट’मा नेता महेश बस्नेत अतिथि भएर आउने निश्चित भयो, तब मैले सुदन गुरूङ र महेश बस्नेतबिचको चर्चित विवादलाई व्यङ्ग्यको विषय बनाउने निर्णय गरे ।’ देशको राजनीतिक घटना क्रममा उहाँहरूको दुईजनाको टसल व्यंग्यको रूपमा  पर्दामा उतार्न सुदनको क्यारेक्टर गरेको प्रभात बताउँछन् ।

उनलाई सुदन जस्तै देखिन मेकअप आर्टिस्ट विनोद श्रेष्ठले निकै मेहनत गर्नुपर्‍यो । विशेषगरी उनलाई सुदनले लगाउने लङ कोट जुटाउन निकै सकस भएको थियो । ‘कोट ठ्याक्कै त्यस्तै चाहिन्थ्यो, म्यानेज हुँदैन कि भन्ने डर थियो, तर अन्त्यमा म्यानेज भयो,’ उनी सुनाउँछन् ।  

प्रभातका अनुसार लुक्स भन्दा पनि बढी मेहनत सुदनको आवाज र शैली समात्न लागेको थियो । सुदनको बोल्ने विशिष्ट शैली, शब्दहरूको छनोट र त्यो मुड स्विङ्गिङ अन्दाज उतार्न उनले सुदनका पुराना धेरै भिडियो हेरेर आफूलाई तयार गरे । सुदनको भोकलमा एउटा कोमलता र फरक खालको उतारचढाव छ । त्यसमा ‘पर्फेक्ट’ हुन उनलाई केही दिन लाग्यो । कन्टेन्टमा राम्रो देखियोस् भनेर सुदनका चर्चित लाइनहरू रिपिट गरेको प्रभात बताउँछन् ।

‘मलाई धेरैले यो चरित्र गर यार भनेर भनेको चाहिँ अलि अगाडि नै हो’, उनी भन्छन्, ‘खासमा भोकलमा र उहाँको त्यो आर्टमा चाहिँ म पर्फेक्ट हुन सक्छु कि सक्दिनँ भन्ने थियो ।’

सुदनको क्यारेक्टर गर्दा पाएको प्रतिक्रिया र चर्चाले प्रभात निकै उत्साहित छन् । सबैभन्दा ठुलो प्रतिक्रिया त स्वयं सुदन गुरुङबाटै आयो । उनले सामाजिक सञ्जालमा प्रभातले सार्वजनिक गरेको भिडियोमा कमेन्ट गर्दै लेखेका छन्, ‘म भन्दा बढी सुदन त यो भिडियोमा देखियो !’

pravat lama

आफ्नो क्यारेक्टरको वास्तविक पात्रबाटै यस्तो प्रतिक्रिया पाउनु एक कलाकारका लागि सबैभन्दा ठुलो उपलब्धि भएको प्रभातले ठानेका छन् । उनी ती कलाकार हुन् जसले पछिल्लो समय कमेडीमा हरेक समय फरक-फरक पात्रको हुबहु गेटअप र लवज उतार्दै आएका छन् । यसअघि पनि उनले हर्क साम्पाङ, महावीर पुन, राजेश हमाल, दीपकराज गिरी, आफ्ताब आलम जस्ता पात्रहरूको सफल क्यारिकेचर गरिसकेका छन् ।

यसपटक सुदन गुरुङको चरित्रसँग प्रधानमन्त्री सुशीला कार्की चरित्र पनि जोडिएको थियो । प्रधानमन्त्री कार्कीको चरित्रमा कर्मा लामा देखिएका छन् । कर्मा पुरुष भएपनि शोमा बेलाबेलामा महिलाको चरित्रमा देखिँदै आएका छन् । कर्मा शोका लेखक पनि हुन् । प्रभातले आफू सुदन गुरुङ बन्ने बताएपछि कर्माले प्रधानमन्त्री कार्कीको चरित्र जोड्न सुझाए ।

3217c932-d60e-4cb1-9bdb-13a355db6190

‘प्रधानमन्त्री’ चरित्रमा प्रधानमन्त्री कार्कीमाथि परेको चौतर्फी दबाब र नागरिकता विवादलाई उनले समेटेका छन् । कर्णालीमा सिटामोल नपुगेको विषयलाई उनले प्रतीकात्मक रूपमा व्यङ्ग्य गरेका छन् ।

‘कमेडी एउटा सफ्ट तर धारिलो हतियार हो । हामीले लजिकमा रहेर सत्तालाई सचेत गराउन खोजेका हौँ’, प्रभात भन्छन्, ‘कार्यक्रमका अतिथि महेश बस्नेतका केही कमीकमजोरीमाथि पनि प्रश्न उठाएका छौं ।’ आफ्नो कमजोरीमाथि भएको प्रहारलाई बस्नेतले सहर्ष स्वीकार गर्दै हाँसेर इन्जोय गरेको प्रभातको अनुभव छ ।

महेश बस्नेत अतिथि बन्दा धम्की

प्रभातले सुदन गुरुङको चरित्र निभाएको शोमा नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा सहभागी भएपछि शो विवादित बनेको छ । सामाजिक सञ्जालमा कार्यक्रम र अतिथिलाई जथाभावी गालीगलौज भइरहेको छ । जसकारण शोका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले गालीगलौज गर्नेहरुविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

‘हाम्रो विचार र समर्थनलाई साइडमा राखेर निष्पक्ष रुपमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रम चलाउने क्रममा रास्वपाका नेता ३ पटक, राप्रपाका १ पटक, कांग्रेसको १ पटक, एकीकृत समाजवादीको १ पटक र एमालेको १ पटक बोलाएका थियौं’, उनी अगाडि भन्छन्, ‘हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक सञ्जालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा होइन ।’

a28daf31-0264-47a7-b093-1cb00730c7c6

तर भ्रष्टाचार, नातावाद, व्यक्तिवाद र दलको सिण्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका जेनजी समूहका भाइबहिनीले महेश बस्नेत बोलाएको एपिसोडको ट्रेलर हेरेकै भरमा सत्तोसराप गरेको समेत उनले बताएका छन् ।

‘के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेस्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनुपर्ने र नयाँलाई देवत्वकरण नै गरिदिनुपर्ने ? पुरानाको मात्र मिमिक्री गर्नु पर्ने ? नयाँको गर्नै नहुने ? सायद हैन ! हामीले प्रश्न गर्न बोल्न र हाँसीमजाक गर्न पाउने समाजको परिकल्पना गर्दै परिवर्तन खोजेको हो’, उनी अगाडि भन्छन्, ‘म फेरि पनि भन्छु, हामी परिवर्तनकै पक्षधर हौं । तर विचारलाई साइडमा राखेर कार्यक्रमलाई प्रजातान्त्रिक स्वरुपमा उभ्याएर निष्पक्ष रुपमा सञ्चालन गर्न रोक्ने, छेक्ने र धम्काउने क्रियाकलाप नगर्न सबै दलका नेता कार्यकर्तालाई अनुरोध गर्न चाहन्छौं । तर यो धाकधम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न हामी बाध्य हुने चेतावनी पनि दिन चाहन्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप