५५ मिटर लामो चकलेटको रेल : गिनिज बुकमा लेखियो नयाँ कीर्तिमान
सारांश
- माल्टाका एक कलाकारले ५५.२७ मिटर लामो चकलेटको रेल बनाएर विश्व कीर्तिमान कायम गरेका छन्।
- यो कलाकृतिमा पुरानो बाफ इन्जिन र २२ वटा डब्बाहरू थिए, जसको एउटा डब्बाको तौल १६० किलोग्राम थियो।
- ओलम्पिक खेल सकिएपछि, चकलेटको रेलका केही भागहरू पगालेर तालिमका लागि प्रयोग गरिनेछ, र बाँकी जनावरको दानाको रूपमा प्रयोग गरिनेछ।
मिलान । संसारकै लामो चकलेटको मूर्ति बनाएर माल्टाका एक प्रसिद्ध चकलेट कलाकारले विश्व कीर्तिमान कायम गरेका छन्। कलाकार एन्ड्र्यु फारुगिया र उनको टोलीले ५५.२७ मिटर लामो रेलको आकृति तयार पारेका हुन्।
यो लम्बाइ ओलम्पिक खेलिने पौडी पोखरीभन्दा पनि लामो छ र बोइङ ७४७ जहाजको पखेटाको फैलावटसँग झन्डै मिल्दोजुल्दो छ। गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल यस अनौठो कलाकृतिमा एउटा पुरानो बाफबाट चल्ने इन्जिन र २२ वटा डब्बाहरू रहेका छन्।
रोचक कुरा के छ भने, यो रेलको एउटै डब्बाको तौल झन्डै १६० किलोग्राम छ। माल्टाको इन्स्टिच्युट अफ टुरिज्म स्टडिजका विद्यार्थीहरूको सहयोगमा फारुगियाले यो विशाल संरचना ठड्याएका हुन्। यस परियोजनाको योजना बनाउन मात्रै झन्डै एक वर्ष लागेको थियो।
कलाकार फारुगियाले गत अक्टोबरदेखि नै यसको तयारी सुरु गरेका थिए, जसमा उनले पहिले माटोका साना नमुनाहरू बनाएर अभ्यास गरेका थिए। इटालीको बर्गामोमा चकलेटका करिब ५ हजार साना टुक्राहरू हातैले काटेर वा कुँदेर तयार पारिएको थियो । ती टुक्राहरूलाई प्लास्टिकमा बेरेर निकै सावधानीपूर्वक मिलान सहर पुर्याइएको थियो, जहाँ टोलीले कैयौँ दिन लगाएर ती टुक्राहरू जोडेका थिए।

कलाकार फारुगियाका अनुसार रेलका डब्बाहरूका लागि मात्रै १८० वटा पाङ्ग्राहरू हातैले बनाइएको थियो। उनले यो रेकर्ड आफ्नो संस्था, देश र परिवारका लागि एउटा विरासतका रूपमा छाड्न चाहेको बताएका छन् । विन्टर ओलम्पिक गेम्सको अवसर पारेर सार्वजनिक गरिएको यो चकलेटको रेल हेर्न मानिसहरूको ठुलो घुइँचो लागेको थियो।
धेरै हप्तासम्म खुला ठाउँमा प्रदर्शनमा राखिएको हुनाले यो विशाल चकलेटको रेल अब खान लायक भने बाँकी छैन। ओलम्पिक खेलहरू सकिएसँगै अब यस मूर्तिका केही भागहरू पगालेर तालिमका लागि प्रयोग गरिनेछ भने बाँकी अंशलाई जनावरको दानाका रूपमा उपयोग गरिने योजना बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण