बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँसहित देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो

बिहीबार, १४ फागुन २०८२, १२ : ३६
बिहीबार, १४ फागुन २०८२

सारांश

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
  • काठमाडौं, चितवन, सुनसरी, पाल्पा र महोत्तरीमा भएका दुर्घटनामा ३० देखि ६ वर्ष उमेर समूहका व्यक्तिहरूले ज्यान गुमाए।
  • प्रहरीले दुर्घटनाका चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। काठमाडौं, चितवन, सुनसरी, पाल्पा र महोत्तरीमा भएका यी दुर्घटनामा ३० वर्षदेखि ६ वर्षसम्मका नागरिकको मृत्यु भएको हो।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिकै बुधबार बेलुकी मिनि टाटाले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बा.११ च ४७३८ नम्बरको मिनि टाटाले बा. ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएको छ।

यता, चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकमा बागमती प्रदेश ०१–००६ ख ५२१७ नम्बरको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–२ की ५२ वर्षीया सिकील देवी पूर्वे रहेकी छन्। गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सुनसरीको इटहरी र बराहक्षेत्रमा भएका दुई सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। इटहरी उपमहानगरपालिका–१३ मा प्रदेश १–०१–००१ च ७५०५ नम्बरको कारले पैदलयात्री र टेम्पोलाई ठक्कर दिँदा सप्तरीका ४७ वर्षीय गिरिजा नन्द शाहको मृत्यु भएको छ। सोही दुर्घटनामा कार र टेम्पो चालकसहित तीन जना घाइते भएका छन्।

त्यस्तै, बराहक्षेत्र नगरपालिका–११ गुप्ता टोलमा को.२५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३२ वर्षीय विजय ऋषिदेवको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा लु.२ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३४ वर्षीय खिम बहादुर सोमईको मृत्यु भएको छ। उनको प्रभासस्थित मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।

यता, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा ट्रयाक्टरको ठक्करबाट ६ वर्षीया बालिका अस्मिता कुमारी यादवको मृत्यु भएको छ। ज.१ त ६७३९ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको जानकी एकेडेमीमा उपचारका क्रममा ज्यान गएको हो। फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप