बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
कविता

खकार

शनिबार, १६ फागुन २०८२, ०७ : ४२
शनिबार, १६ फागुन २०८२

देश बूढो
दीर्घ रोगी– दमको

कुपोषणले झोल्लिएको प्रजातन्त्र
सुकेर रगत–मासु उब्रिनु आधा पाउ लोकतन्त्र
माना चारेक चिम्टीदेही कुप्रिएको राष्ट्रियता
माना चारेक मुठी सास चलिरहेको एक थान संविधान

नक्सा खुम्चिएका निधारका धर्साहरू खाल्टा–खोपिल्टा
ख्वाक्क–ख्वाक्क खोक्छ र नफालेर निल्छ पहेँलो पापी डल्ला

उठ्छ जर्जर खाटबाट बिहानीको रातो अर्धक्रान्ति
त्यही निलेको ओकल्दै रित्तो आँगनमा फ्याँक्छ

आख्ख–थू !
क्वाक्क क्वाक्क, कुक्क कुक्क
च्याक्क च्याक्क, चुक्क चुक्क

चख्खु चञ्चुहरू ठुँगिरहन्छन् सत्ताले फ्याँकेको विकार खकार

यसरी कुनै दिन– पल्केर आउनेछ निर्दयी चिल
छोप्नेछ तेजस्वी चल्लाहरू
खोस्नेछ अधिकार

एक, दुई, तीन
पहिचानको पोथ्रा हुनेछ लिलाम
ए, असती अंश न वंश होलास् ! सावधान !

(सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ २०८२ मा प्रकाशित छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खुपेन सुनुवार
खुपेन सुनुवार
लेखकबाट थप