शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी GROUND ZERO : मोरङ–४

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

रास्वपाको लहरलाई गुरु घिमिरेको जवाफ, ‘यो जग नभएको हावाहुरी मात्र हो, यसले हामीलाई छुँदैन’
आइतबार, १७ फागुन २०८२, ११ : ०६
आइतबार, १७ फागुन २०८२

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर वक्ताका रूपमा चिनिन्छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ-४ को चुनावी माहोल कस्तो छ? घरदैलोमा पुग्दा जनताका गुनासा र अपेक्षा के-कस्ता छन्? नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दीले यसपटक कस्तो प्रभाव पारेको छ? र, पछिल्लो समय चर्चामा आएका नयाँ राजनीतिक दलको लहरलाई उनले कसरी हेरिरहेका छन् ? 

यिनै समसामयिक विषयमा केन्द्रित रहेर गुरु घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • निर्वाचन प्रचार-प्रसार कसरी चलिरहेको छ ?

प्रचार-प्रसारको अवधि र सीमा अब निकै खुम्चिँदै गएको छ। हामी अहिले अधिकतम मतदातासँग भेट्ने, संवाद गर्ने, हाम्रा मुद्दाहरू बताउने र उहाँहरूका आग्रहहरू सुन्दै प्रतिबद्धता व्यक्त गर्ने क्रममा छौँ। यो क्षेत्रको भूगोल निकै ठूलो छ। सबै भूभागमा पुग्न निकै मुस्किल छ। भूभागमा त पुगिएला, तर यहाँका झण्डै सवा लाख मतदाता सबैसँग प्रत्यक्ष पुग्न समयको अभावले निकै कठिन भइरहेको छ। तैपनि हामी जतिसक्दो अधिकतम मतदातासम्म पुग्ने प्रयास गरिरहेका छौँ।

  • घरदैलो गर्दैगर्दा जनतालाई भेट्दा उहाँहरूको गुनासो र माग के पाउनुभयो? खासगरी तपाईं र कांग्रेसप्रति कस्तो धारणा पाउनुभएको छ?

मप्रति जनताको अपार सहानुभूति र समर्थन पाएको छु। व्यक्तिगत रूपमा मलाई राम्रो सद्भाव छ। तर, समग्रमा अहिले चलिरहेको प्रचलित राजनीतिप्रति जनतामा प्रशस्त गुनासाहरू छन्। विकास निर्माणदेखि रोजगारीसम्मका गुनासा छन्। व्यक्तिगत समस्याहरू जस्तै; उपचार, पढाइ, नागरिकता र भूमिहीन सुकुम्बासीका समस्याहरू प्रशस्त छन्। समस्याहरू पक्कै छन्, तर ती समाधान नै गर्न नसकिने विकराल र भयावह प्रकृतिका भने छैनन्।

  • हरेक निर्वाचनमा नेपाली कांग्रेसभित्र गुटबन्दीको कुरा उठ्छ। यस क्षेत्रमा चाहिँ आन्तरिक एकतालाई कसरी मिलाइरहनुभएको छ?

यसपटक पार्टीभित्र अभूतपूर्व एकता छ। पार्टीका सबै उम्मेदवार र साथीहरूले हार्दिकतापूर्ण सद्भाव देखाउनुभएको छ। पार्टीभित्र परम्परागत रूपमा रहेको जुन आन्तरिक रोग थियो, त्यसबाट अहिले नेपाली कांग्रेस मुक्त भएको छ। केन्द्रबाट उम्मेदवार छनोट गर्दादेखि नै त्यो हार्दिकता देखिएको थियो। हामीले केन्द्रमा जसरी हार्दिकतापूर्वक काम सम्पन्न गर्‍यौँ, अहिले क्षेत्र-क्षेत्रमा आउँदा पनि ऐतिहासिक र अभूतपूर्व एकता देखिएको छ। गाउँ-गाउँमा साथीहरू निकै उत्साहित भएर लाग्नुभएको छ।

  • मोरङ-४ मा भौगोलिक, जातीय र वर्गीय विविधता छ। तर, कतिपयले तपाईंलाई यहाँका मतदातासँग नजिकको चिनजान नभएको, भुइँ तहसँग नजोडिएको उम्मेदवार भनेर पनि टिप्पणी गर्छन् नि?

यसमा दुइटा कुरा छन्। जसले मलाई व्यक्तिगत रूपमा चिन्नुभएको छैन, उहाँहरूले चिनेको छैन भन्नु स्वाभाविकै हो। तर, म २०४८ सालको निर्वाचनदेखि नै यो क्षेत्रमा खटेको मान्छे हुँ। डा. श्यामलाल तवदार र पछि तल्लो बेल्टमा शैलजा आचार्य उम्मेदवार हुँदादेखि नै म यहीँको जुन तहमा थिएँ, त्यही तहबाट खटेको हुँ। म ग्रासरुटबाटै उठेको मान्छे हुँ, माथिबाट टप्किएको होइन। म ग्रासरुटबाटै माथि पुगेँ र अहिले फेरि जनतासमक्ष जनताकै समर्थनका लागि आएको छु।

राजनीतिमा यस्ता टिप्पणीहरू स्वाभाविक हुन्। सबै जनताले व्यक्तिगत रूपमा कुनै पनि नेतालाई नचिन्न सक्छन्। सबै जनताले नेतालाई परबाट चिन्ने हो। अर्को कुरा, निर्वाचनको बेलामा विपक्षीहरूले यस्ता हल्ला चलाउनुलाई पनि मैले सामान्य रूपमै लिएको छु। हेलमेल, हार्दिकता र आत्मीय सम्बन्ध बढ्दै जाने कुरा हो।

  • तपाईंलाई दुईवटा चुनौती देखिन्छ- एउटा पार्टीभित्रको आन्तरिक व्यवस्थापन र अर्को नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको लहर। त्यो घण्टीले तपाईंको मनमा कति बजाइरहेको छ?

यो एउटा हावाहुरी हो। यो हावाहुरी चल्नु प्रकृतिमा पनि स्वाभाविक हो र राजनीतिमा पनि चल्छ। विगतमा पनि हामीले यस्ता धेरै हावाहुरी झेल्दै आएका छौँ। तर, यसको कुनै जग छैन, जमिन छैन। यो पूर्ण रूपमा जगविहीन हावाहुरी हो।

उहाँहरूलाई जनताले भित्रबाट चिनेका पनि छैनन् र उहाँहरूले जनताको गहिराइलाई चिन्नुभएको पनि छैन। उहाँहरू नेपालको राजनीतिक प्रक्रियामा संघर्ष गरेर सामेल भएको हावाहुरी पनि होइन। यो त पछिल्लो कालखण्डमा राजनीतिमा देखिएका केही निराशा र मौकाहरू छोप्न आएका केही प्रवृत्तिहरू हुन्। जसले समाजमा अराजकता मच्चाउन चाहन्छन्, विचारशून्यतामा समाजलाई पुर्‍याएर आफ्ना महत्त्वाकांक्षा पूरा गर्न र स्वार्थको रोटी सेक्न चाहन्छन्।

यहाँको भूगोल, जातीय र भाषिक विविधता, यहाँका समस्या, कुन समुदाय कहाँ बसोबास गर्छन्? उनीहरूको धर्म, संस्कृति, परम्परा, दुःख, अभाव, गरिबी र पछौटेपनका बारेमा उनीहरूलाई केही परिचित छ र? राजनीति भनेको नारा मात्र होइन। राजनीति भनेको त जनताको जीवन बदल्ने, जनतालाई सुखद जीवन दिने र देशको विकास र प्रतिष्ठालाई उचाइमा लाने एउटा गम्भीर प्रक्रिया हो।

हाम्रा नेता बीपी कोइरालाले हरेक नेपालीलाई म जस्तै बनाउँछु, मेरो परिवार जस्तै बनाउँछु भनेर एउटा सपना देख्नुभएको थियो। हामी त्यही सपना पूरा गर्न हिँडेका कार्यकर्ता हौँ। ८० वर्ष लामो राजनीतिक संघर्षमा हामीले हरेक उतारचढाव, परिवर्तन र संकट झेलेर आएका छौँ। त्यसैले यस्ता सामान्य हावाहुरीले हामीलाई छुँदैन र यहाँका जनताले पनि त्यसलाई पत्याउँदैनन्। हामीले पार्टीभित्र ठूलो रूपान्तरण गरेका छौँ। नेतृत्वदेखि नीतिसम्म परिवर्तन गरेर, ३५ वर्षको राजनीतिको समीक्षा गर्दै, आफ्ना कमीकमजोरी पन्छाएर हामी सम्पूर्ण रूपमा नवीन भएर जनतामाझ आएका छौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप