बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

ताजिना विष्टको सादगीपूर्ण चुनावी अभियान

तडक–भडक त्यागेर सफारीमा घरदैलो
सोमबार, १८ फागुन २०८२, १० : ४३
सोमबार, १८ फागुन २०८२

सारांश

  • सुनसरी क्षेत्र नम्बर २ मा ताजिना विष्टले साधारण शैलीमा चुनावी अभियान चलाइरहेकी छिन्।
  • विष्टले विद्युतीय रिक्सा र स्थानीय जनतासँगको प्रत्यक्ष संवादबाट प्रचार प्रसार गरिरहेकी छिन्।
  • उनले भ्रष्टाचारमुक्त समाज र सुशासनलाई मुख्य एजेण्डा बनाएकी छन्।

इटहरी । निर्वाचन भन्नेबित्तिकै महँगा गाडीको लावालस्कर, ठुला आमसभा र तडक–भडकपूर्ण प्रचारप्रसारको चित्र दिमागमा आउँछ, तर सुनसरी क्षेत्र नम्बर २ मा यसपटक एउटा फरक दृश्य देखिएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिएकी ताजिना विष्टले निकै साधारण र मौलिक शैलीमा आफ्नो चुनावी अभियान अगाडि बढाइरहेकी छन् ।

हातमा केही थान पर्चा, एउटा साधारण सफारी (विद्युतीय रिक्सा) मा टाँसिएको फ्लेक्स र स्थानीय जनतासँगको प्रत्यक्ष संवाद– ताजिनाको प्रचार शैली यस्तै छ । उनी महँगा गाडीमा होइन, जनताले दैनिक प्रयोग गर्ने सफारीमा चढेर बस्ती–बस्ती पुगिरहेकी छन् । उनले कुनै ठुलो भोजभतेर वा तामझाम नगरी जनताको ढोका–ढोका पुगेर भोट मागिरहेकी छन् । उनको यो लो–प्रोफाइल तर प्रभावकारी अभियानले अहिले सुनसरीमा चर्चा पाएको छ ।

खोटाङमा जन्मिएर सुनसरीको माटोमा सङ्घर्ष गर्दै हुर्किएकी उनी आफूलाई जनताको छोरी भन्न रुचाउँछिन् । ‘मेरो मन नेपाली मातृभूमिसँग गहिरो रूपमा गाँसिएको छ । कठिनाइहरूले मलाई रोक्न सक्दैनन्, चुनौतीहरूले मलाई झुकाउन सक्दैनन्,’ उनी भन्छिन्, ‘म सुनसरी क्षेत्र नम्बर २ का मतदाताहरूको घरदैलोमा पुग्दा उहाँहरूले देखाउनुभएको सद्भावले मलाई थप ऊर्जा दिएको छ ।’

आफ्नो शैक्षिक योग्यता र सामाजिक सङ्घर्षलाई मुख्य पुँजी मानेकी ताजिनाले भ्रष्टाचारमुक्त समाज र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।

ताजिनाले राजनीतिमा विशेषगरी जेनजी पुस्ताको प्रत्यक्ष हस्तक्षेप हुनुपर्नेमा जोड दिएकी छन् । उनले ४० प्रतिशत युवा सहभागिता, भ्रष्टाचारमुक्त डिजिटल प्रशासन र वर्षौंदेखि लालपुर्जाविहीन रहेका किसानलाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरेकी छन् । ‘आज हाम्रा दक्ष युवाहरू खाडीको मरुभूमिमा पसिना बगाउन बाध्य छन् भने स्वदेशमै रहेका कैयौँ युवा लागुऔषधको भयानक जोखिममा फसिरहेका छन् । यो अवस्थालाई टुलुटुलु हेरेर बस्न मेरो मनले मानेन, त्यसैले म मैदानमा उत्रिएकी हुँ,’ उनले भनिन् ।

Tajina (2)

‘आँखा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी ताजिनाले आँखालाई सचेतना र निगरानीको प्रतीकका रूपमा व्याख्या गरेकी छन् । उनी भन्छिन्, ‘यो निर्वाचन केवल सत्ताको लागि होइन, यो त सरकारलाई जवाफदेही बनाउन र भ्रष्टाचारको अन्त्य गर्नका लागि हो ।’

उनले आफ्नो प्रचार शैलीलाई कम खर्चिलो तर बढी प्रभावकारी बनाएकी छन् । उनी धुलाम्मे सडकमा हिँड्दै, जनताको गुनासो सुन्दै र उनीहरूसँगै बसेर योजना बुन्दै गरेको तस्बिर र भिडियोमा देख्न सकिन्छ । तस्बिरहरूमा उनी आफ्ना समर्थकहरूसँग साधारण पहिरनमा, काँधमा झोला बोकेर हिँडिरहेकी छन्, जसले उनी जनताको पहुँचभन्दा बाहिरको नेता नभएको सन्देश दिन्छ ।

अहिलेसम्मको चुनावी अभियानका क्रममा जनताबाट निकै राम्रो प्रतिक्रिया पाएको उनको दाबी छ । ‘अहिलेसम्म जनताले जुन किसिमको रेस्पोन्स गर्नुभएको छ, त्यसले मलाई उत्साहित बनाएको छ । जनता अब पुराना पार्टी र तडक–भडक गर्ने नेताहरूबाट वाक्क भइसकेका छन् । उनीहरूलाई एउटा इमानदार विकल्प चाहिएको छ र त्यो विकल्प म हुँ,’ ताजिनाले भनिन् । उनले निर्वाचन सम्पन्न भएर परिणाम आउँदासम्म आफूले जित्ने विश्वास व्यक्त गरेकी छन् ।

सो क्षेत्रबाट नेपाली कांग्रेसका राजीव कोइराला, एमालेबाट सुजन लामा, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट लालविक्रम थापालगायतले उम्मेदवारी दिएका छन् ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता भीम आचार्यले ३२ हजार २४ मत ल्याएर कांग्रेसका सीताराम महतोलाई पराजित गरेका थिए । दोस्रो स्थानका महतोले २६ हजार ६८ मत पाउँदा रास्वपाका लालविक्रम थापाले १९ हजार ३९१ मत ल्याउँदै तेस्रो भएका थिए । उक्त क्षेत्रको समानुपातिक मतमा त्यसबेला २५ हजार १६९ मतका साथ एमाले पहिलो, २० हजार ६२६ मतका साग कांग्रेस दोस्रो र १६ हजार ९३६ मतका साथ रास्वपा तेस्रो भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप