बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय सुरक्षा समिति बैठक

मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय

बुधबार, २० फागुन २०८२, १३ : १६
बुधबार, २० फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भयो।
  • मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गर्दै सुरक्षा व्यवस्था कडा पारिने भयो।
  • सुरक्षा समितिले निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकाल्यो र कानुन उल्लंघन गर्नेलाई कारबाही गरिनेछ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । भोलि देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । बुधवार गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र  गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन् । उनले भनिन्– ‘सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्नेबारे छलफल भएको छ ।’ 

गस्ती र आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ ।

बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुल माध्यमबाट छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका छन् ।

निर्वाचनमा कानुन विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय गरिएको उपसचिव आचार्यले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप