बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खारेज भएका चिह्नमा मत नहाल्न आयोगको आग्रह

बुधबार, २० फागुन २०८२, १९ : ५४
बुधबार, २० फागुन २०८२

काठमाडौँ ।  निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेजीमा परेका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ । केही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भए पनि मतपत्रमा चिह्नहरू बाँकी नै रहेकाले मतदाता झुक्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोगले यस्तो चेतावनी दिएको हो । 

आयोगका सूचना अधिकारी सुमन घिमिरेले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । ‘मतपत्र छपाइ भइसकेपछि कतिपय उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । मतपत्रमा ती चिह्नहरू त रहनेछन्, तर त्यस्ता चिह्नमा परेको मत गणना हुने छैन । त्यो स्वतः काउन्टलेस वा बदर हुनेछ,’ उनले भने ।  आयोगले सम्बन्धित निर्वाचन क्षेत्रका मतदातालाई यसबारे सचेत गराउन निर्वाचन अधिकृतहरूमार्फत सूचना प्रवाह गरिरहेको र राजनीतिक दलहरूलाई पनि आफ्ना मतदातालाई यसबारे जानकारी दिन आग्रह गरेको छ । 

मौन अवधिमा आचारसंहिता उल्लंघनका घटनाहरू बढेको भन्दै घिमिरेले आयोगले कडा निगरानी गरिरहेको बताए । विभिन्न जिल्लाहरूमा पैसा बाँडेको, रक्सी खुवाएको र विस्फोटक पदार्थ बोकेको आरोपमा उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पक्राउ परेको समाचार आइरहेको छ । 

‘आचारसंहिताविपरीत कार्य गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको सजाय हुन सक्छ । यद्यपि, कानुनी रूपमा उम्मेदवारी खारेज नभइसकेको अवस्थामा पक्राउ परेका उम्मेदवारले चुनाव लड्न र विजयी हुन सक्छन्, तर उनीहरूमाथिको कानुनी अनुसन्धान भने जारी रहनेछ,’ घिमिरेले भने । 

हिउँदको समय भएकाले हिमाली र उच्च पहाडी जिल्लाहरूमा जाडो र हिमपातका कारण निर्वाचन प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । यस विषयमा घिमिरेले आयोगले मौसम पूर्वानुमान शाखासँग निरन्तर समन्वय गरिरहेको घिमिरेले बताए । ‘अहिलेसम्मको रिपोर्ट अनुसार मौसम सामान्य रहने देखिन्छ । तर, प्राकृतिक प्रकोप वा भारी हिमपातका कारण मतदान असम्भव भएमा आयोगले तत्काल निर्णय लिनेछ,’ उनले भने । हिमाली क्षेत्रका मतदान केन्द्रहरूमा कर्मचारी र सामग्री पुगिसकेको र प्रतिकूल मौसमका बाबजुद पनि उत्साहजनक सहभागिता रहने अपेक्षा आयोगले गरेको छ ।

यसपटकको निर्वाचनमा अशक्त, वृद्धवृद्धा, गर्भवती र अपाङ्गता भएका मतदाताका लागि आयोगले विशेष सहजता प्रदान गरेको उनको दाबी छ । मतदान केन्द्रसम्म पुग्न उनीहरूलाई सवारी साधनको पासको झन्झट हटाइएको छ । यस्ता मतदाताले एकजना सहयोगी लिएर सवारी साधनमा सिधै मतदान केन्द्रसम्म जान पाउनेछन् र लाइन नबसी मतदान गर्न सक्नेछन् । ‘अशक्त मतदाताहरूका लागि सवारी साधनको पासको झन्झट हटाइएको छ । उनीहरूलाई सिधै मतदान केन्द्रसम्म जान दिइनेछ र लाइन नबसी मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ,’ उनले भने । 

भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य छ । यदि परिचयपत्र नभएमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक आधिकारिक परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने व्यवस्था आयोगले गरेको उनले बताए । 

यसपटक प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मात्र मतपत्र र मतपेटिका भएकाले मतगणना विगतको तुलनामा निकै छिटो हुने आयोगको दाबी छ । घिमिरेका अनुसार मतदान सकिएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरिनेछ र सर्वदलीय सहमतिपछि तुरुन्तै गणना सुरु गरिनेछ । 

आफ्नो मत खेर जान नदिन सही ढंगले मत संकेत गर्न र खारेज भएका चिह्नहरूबाट जोगिन आयोगले पुनः सबै मतदातामा अपिल गरेको छ । ‘तपाईंको एक मतले देशको भविष्य निर्धारण गर्छ, त्यसैले सही ढंगले मत संकेत गरौं र मत बदर हुनबाट जोगाऔं,’ घिमिरेले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप