बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

जम्मा दुई राउन्ड हवाई फायरबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

२ राउन्ड हवाई फायर, असावधानीले एक राउन्ड आफैं पड्कियो
बिहीबार, २१ फागुन २०८२, २० : ४८
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो, देशभर छिटपुट घटना मात्रै भए।
  • दोलखा र उदयपुरबाहेक अन्यत्र गोली चलेको छैन, कतिपय स्थानमा मतदान अवरुद्ध भएर पुनः सुचारु भयो।
  • निर्वाचन आयोगका अनुसार पुनः मतदान गर्नुपर्ने अवस्था छैन, करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

काठमाडौँ । आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सुरक्षाकर्मीले कुनै बल प्रयोग गर्नुपरेन भने देशभर जम्मा दुई राउन्ड हवाई फायर र एक राउन्ड असावधानीवश गोली पड्किएको घटना मात्रै भएको छ ।

तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा करिब पाँच घण्टा मतदान अवरुद्ध भएको थियो । मतदान गराउन खटिएका कर्मचारी र दलका कार्यकर्ताबिच विवाद हुँदा केही समय तनाव उत्पन्न भए पनि मध्याह्न ४ बजेदेखि पुनः मतदान सुचारु भई सम्पन्न भएको हो ।

दोलखाको निर्वाचन सुरक्षा कमान्ड सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार सो क्रममा दुई राउन्ड हवाई फायर गरिएको थियो । “सुरक्षा अवस्था नियन्त्रणमा लिन सुरुमा दुई राउन्ड हवाई फायर गरेका थियौं,” उनले भने ।

यसैबिच कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला ‘ख’ मतदान केन्द्रमा प्रहरी जवानले बोकेको सटगन असावधानीवश पड्किँदा मतपेटिकामा लागेको थियो । मतपेटिकाभित्र रहेका चार मतमा भने कुनै क्षति पुगेन । प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेका अनुसार दोलखा र उदयपुरबाहेक अन्यत्र गोली चलाइएको छैन ।

'विगतका चुनावको तुलनामा यसपटक अत्यन्तै शान्तिपूर्ण, सुव्यवस्थित र सुदृढ रूपमा निर्वाचन सम्पन्न भएको छ,' डीआईजी काफ्लेले बताए ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनपछि आफ्ना संरचना क्षतिग्रस्त भएको अवस्थामा पनि प्रहरीले प्रभावकारी सुरक्षा रणनीति लागू गर्दै निर्वाचन सुरक्षाको कमान्ड सफलतापूर्वक सम्हालेको जनाएको छ । सरकारले ‘एक थोपा पनि रगत नबग्ने’ गरी निर्वाचन सम्पन्न गर्ने स्पष्ट लक्ष्य लिएको र सो लक्ष्य प्राप्त भएको सुरक्षा निकायको दाबी छ ।

हेभिवेट प्रतिस्पर्धा हुने क्षेत्रहरूमा विशेष सुरक्षा कमान्ड परिचालन गरिएको थियो । झापा, सर्लाही र दोलखा लगायतका जिल्लामा अनुभवी तथा उच्च अधिकारीहरू परिचालन गरिएको थियो ।

बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबिच विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः सुचारु भई सम्पन्न भएको छ । सो क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूले स्थल नछोडी समन्वय गर्दै मतदान प्रक्रिया पूरा गराएका थिए ।

रौतहट, स्याङ्जा, हुम्ला र डडेलधुरालगायत जिल्लामा छिटफुट विवाद भए पनि चारवटै सुरक्षा निकायको समन्वयमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाइएको छ ।

पुनः निर्वाचनको अवस्था छैन

निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र पुनः निर्वाचन गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्म कतै पनि पुनः मतदानको आवश्यकता नदेखिएको बताए ।

यस निर्वाचनबाट १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीमार्फत प्रतिनिधि चयन हुनेछन् । निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । एकीकृत सुरक्षा योजनाअनुसार ७९ हजार नेपाली सेना, ७३ हजार नेपाल प्रहरी, ३१ हजार सशस्त्र प्रहरी बल र १ हजार ८ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भएका थिए ।

निर्वाचनमा कतै पनि लाठीचार्ज गर्नुपरेन भने कुनै मानवीय क्षति भएको छैन । समग्रमा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको सुरक्षा निकायको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप