बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
डडेलधुरामा कांग्रेस पराजित

महरले जोगाउन सकेनन् देउवाको किल्ला

शनिबार, २३ फागुन २०८२, १८ : ४९
शनिबार, २३ फागुन २०८२

सारांश

  • डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको विरासत ढलेको छ, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले जित हासिल गरे।
  • नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले देउवाको किल्ला जोगाउन नसक्दा जोशीसँग ७ हजार १० मतको फराकिलो अन्तरले पराजित भए।
  • देउवा २०४८ सालदेखि डडेल्धुरामा अपराजित रहेका थिए, तर यसपटक चुनावी मैदानमा नभएका कारण कांग्रेसले हार बेहोर्यो।

काठमाडौँ । नेपाली कांग्रेसको अभेद्य गढ मानिने सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशीले ऐतिहासिक जित हासिल गर्दै कांग्रेसको किल्ला भत्काएका हुन् । देउवाले ७ पटक चुनाव जितेको उक्त स्थान जोगाउने जिम्मा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई दिएको थियो । महराले सो किल्ला जोगाउन सकेनन् । 

महरा ७ हजार १० मतको फराकिलो अन्तरले रास्वपाका जोशीसँग पराजित भए । जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरले १२ हजार १२१ मतमा प्राप्त गरे । 

देउवा २०४८ सालदेखि डडेल्धुरामा नेपाली कांग्रेसबाट सदाबहार उम्मेदवार र अपराजित रहँदै आएका थिए । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति देउवा यसपटक चुनावी मैदानमा नभएका कारण त्यहाँ काँग्रेसले हार बेहोरेको हो । देउवालाई डडेल्धुराका जनताले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सम्म गरेर लगातार ७ पटक जिताएका थिए । देउवा सोही जनमतका आधारमा ५ पटक मुलुकको प्रधानमन्त्री र दुई कार्यकाल नेपाली कांग्रेसको सभापति बनेका थिए । 

‘जेनजी’ आन्दोलनका क्रममा आफ्नै घरमा सांघातिक आक्रमणको सिकार बनेका देउवा निर्वाचन अघि सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिबाट विस्थापित बने ।

विशेष महाधिवेशनबाट गगन कुमार थापा कांग्रेसको नेतृत्वमा आए पनि देउवाको डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा थियो । तर, उनले यसपटक चुनाव लड्ने अवसर पाएनन् । सोही कारण देउवा चुनाव अगाडि उपचारका लागि भन्दै सिंगापुर उडे । देउवा भोट हाल्न पनि फर्किएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप