शेरधनको तेस्रो पराजय, कम्युनिस्ट किल्ला तोड्दै श्रम संस्कृतिका ध्रुवले मारे बाजी
सारांश
- भोजपुरमा यसपटक गैरकम्युनिस्ट पार्टीले जित हासिल गर्यो, जहाँ शेरधन राई तेस्रो पटक पराजित भए।
- श्रम संस्कृति पार्टीका ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याएर जित हासिल गरे, भने शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे।
- ध्रुवराज राईले एमाले परित्याग गरी हर्क साम्पाङको श्रम संस्कृति पार्टी रोजेका थिए, र उनलाई 'आन्दोलनको छोरो'को रूपमा चिनिन्छ।
विराटनगर । परम्परागत कम्युनिस्ट गढको उपमा पाएको भोजपुरबाट यस पटक गैरकम्युनिस्ट पार्टीले जित हासिल गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा यस जिल्लामा श्रम संस्कृति पार्टीले जित हात पारेको हो।
यसअघिका निर्वाचनमा भोजपुरबाट कम्युनिस्टले नै जित्दै आएका थिए। निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदै गर्दा नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईको तेस्रो पराजय भयो । त्यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई निर्वाचित भए । ध्रुवले १६ हजार ६६३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी शेरधन राईले १४ हजार ७५० मतमा चित्त बुझाउनु पर्यो।
२०३९ सालमा भोजपुरको पश्चिमी क्षेत्र नागीको एउटा सामान्य परिवारमा जन्मिएका ध्रुवराजले आफ्नो राजनीतिक यात्रा भोजपुर बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट सुरु गरेका थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी एमाले निकट अनेरास्ववियुको राजनीतिमा होमिएर दुई पटकसम्म स्ववियु सभापति निर्वाचित भएका थिए ।
उनलाई भोजपुरमा ‘आन्दोलनको छोरो’ भनेर चिनिनुको पछाडि २०६२/०६३ को जनआन्दोलनमा उनले देखाएको असाधारण साहस नै मुख्य कारण थियो ।
तत्कालीन समयमा सेनाको ब्यारेक र प्रहरी प्रशासनको अगाडि उभिएर हाक्काहाकी राजाविरोधी नारा लगाउने र भाषण गर्ने ध्रुवको छवि आज पनि भोजपुरे युवाहरूको मानसपटलमा ताजा छ । राजनीतिमा इमानदार र जुझारु मानिने उनी विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यसम्म पुगे पनि केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । तर, त्यो पराजयले उनलाई कमजोर बनाएन, बरु भुइँ तहका जनतासँग अझ नजिक बनायो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ध्रुवराज राईले पहिलो पटक चुनावी राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाएका थिए । त्यतिबेला नेकपा एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदा उनलाई समर्थकहरूले ‘ध्रुवे हात्ती’को उपमा दिएका थिए । चितवनमा आतङ्क मच्चाएको ध्रुवे हात्ती जस्तै उनले पनि विपक्षी गठबन्धनलाई चुनावी मैदानमा धुलो चटाइदिएका कारण यो नाम निकै चर्चित बन्यो ।
५ वर्ष पालिकाको नेतृत्व सम्हाल्दा उनले अन्य जनप्रतिनिधि जस्तो ठाँट र विलासी जीवन रोजेनन् । सधैँ एउटा साधारण छड्के ब्याग बोकेर, कहिले पैदल त कहिले मोटरसाइकलमा गाउँका कुनाकाप्चा पुग्ने उनको सादगीपनले उनलाई जनताको प्रिय बनाइरह्यो । यद्यपि २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भए । तर उनले जनताको सेवा गर्ने बाटो भने कहिल्यै छोडेनन् ।
नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका ध्रुवराजले पार्टी नेतृत्वले जनता र कार्यकर्ताको भावना विपरीत काम गरेको भन्दै पछिल्लो समय एमाले परित्यागको घोषणा गर्दै हर्क साम्पाङको श्रम संस्कृति पार्टी रोजे । उनले सार्वजनिक रूपमै भनेका थिए, ‘पार्टीहरू सत्ता र कुर्सीका लागि राजावादीदेखि कांग्रेससम्म जोसँग पनि मिल्न तयार हुन्छन्, तर जनताको समस्यामा कसैले ध्यान दिँदैनन् ।’
उनले केपी ओलीलाई नेता मान्नेहरूले हर्क साम्पाङ जस्तो देशभक्त र श्रमजीवीको नेतालाई किन स्वीकार गर्न सक्दैनन् भन्ने प्रश्न उठाएका थिए । एमालेका कार्यकर्ताले उनलाई ‘हर्क साम्पाङलाई पनि नेता मान्छौ ?’ भनी सोधेको प्रश्नको उत्तरमा उनले हर्कलाई काँधमा बोकेर हिँड्न आफू तयार रहेको घोषणा गरे ।
निर्वाचनको मैदानमा यसपटक शेरधन राई आफ्नै पार्टीको सांगठनिक शक्ति र विगतको विरासतमा ढुक्क देखिन्थे । उनले निर्वाचनअघि सार्वजनिक रूपमै ध्रुवराजलाई लक्षित गर्दै ‘माटो’ ले ५ हजार जति मतमात्र काट्ने र त्यसले एमालेको विजयलाई नरोक्ने दाबी गरेका थिए ।
तर, परिणाम ठ्याक्कै उल्टो निस्कियो । नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गरे र रास्वपाका रमेश ओझाले ६ हजार १०२ मत ल्याए । उनीहरूले परम्परागत मतहरू विभाजित गरिदिँदा कुनैबेला शेरधनकै कार्यकर्ता रहेका ध्रुवराजलाई जित निकाल्न सहज भयो ।
नेकपाका अजम्बर राई काङमाङले ५ हजार ६२८ मतमात्र प्राप्त गर्नुले पनि भोजपुरमा कम्युनिस्ट मतहरू छिन्नभिन्न भएको प्रस्ट पार्छ । शेरधन राईका लागि यो हार पीडादायी छ । किनभने उनले यसअघि २०६४ र २०७९ मा पनि हार व्यहोर्नुपरेको थियो । यो उनको तेस्रो पराजय हो । उनले २०५६, २०७० र २०७४ को चुनाव भने जितेका थिए । २०६४ र २०७९ सालको निर्वाचनमा शेरधन राई तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीसँग पराजित भएका थिए ।
निर्वाचनको प्रचारका क्रममा पनि ध्रुवले कुनै तडकभडक बिना नै सामान्य पोसाकमा घरदैलोमा पुगेका थिए । उनीप्रतिको यो विश्वास र हर्क साम्पाङको श्रम संस्कृतिको लोकप्रियताले गर्दा भोजपुरमा वर्षौंदेखि जरा गाडेको कम्युनिस्टहरूको वर्चस्व यसपटक ढल्न पुग्यो ।
निर्वाचनको नतिजाले भोजपुरका ३४ प्रतिशत राई समुदाय र अन्य जातजातिको मतलाई पनि ध्रुवराजले आफ्नो पक्षमा आकर्षित गर्न सफल भएको देखाउँछ । एमालेभित्रको आन्तरिक कलह, कार्यकर्तामा देखिएको नैराश्यता र नेतृत्वको अहङ्कार नै शेरधन राईको हारको मुख्य कारण बन्यो भने ध्रुवराजको हकमा उनको विद्रोही स्वभाव र स्वच्छ छवि नै जितको आधार बन्यो । संसदमा पुगेपछि ध्रुवले हर्क साम्पाङको श्रम संस्कृति र आफ्नो पहिचानलाई कसरी कायम राख्छन् भन्ने कुराले उनको आगामी राजनीतिक भविष्य तय गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण