बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फेक रेस्क्यु

फेक रेस्क्यु प्रकरण : अस्पतालको बेडमा पर्यटकलाई बियर

बिहीबार, २८ फागुन २०८२, १९ : ३०
बिहीबार, २८ फागुन २०८२

सारांश

  • पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरी अवैध बिमा रकम दाबी गरेको अभियोगमा १० जना पक्राउ परेका छन्।
  • अनुसन्धानका क्रममा दुई अस्पतालको संलग्नता खुलेको छ भने ट्रान्सपोर्ट सर्भिस र ट्रेकिङ कम्पनीका सञ्चालकहरू पनि पक्राउ परेका छन्।
  • फेक रेस्क्युमा संलग्न व्यक्तिहरूले पर्यटकको पासपोर्ट जफत गर्ने र मेडिकल रिपोर्टसमेत नक्कली बनाउने गरेको पाइएको छ।

काठमाडौं । पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको अभियोगमा १० जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

फेक रेस्क्युमा अहिलेसम्म दुईवटा अस्पतालको संलग्नता खुलेको छ । लाजिम्पाटस्थित श्रीद्धि इन्टरनेसनल अस्पताल र धोबीखोला करिडोरमा सञ्चालित स्वाकन अस्पतालका सञ्चालक फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको सीआईबीका अधिकृतहरु बताउँछन् । श्रीद्धिका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना अहिले थुनामा छन् ।

ट्रान्सपोर्ट सर्भिस र ट्रेकिङ कम्पनीका पाँचजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारी, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया थुनामा छन् । त्यस्तै, एभरेस्ट एक्सपेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी, पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा पनि थुनामा छन् ।

उच्च हिमाली क्षेत्रमा घुम्न आएका ३१७ जनालाई ट्रान्सपोर्ट सर्भिस कम्पनीहरूले उद्धार र उपचारको आवरणमा फेक रेस्क्यु गरेका हुन् । सन् २०२२ यता भएको फेक रेस्क्युमा आरोपीहरुको संलग्नता देखिएको सीआईबीका एआईजी डा. मनोज केसीले बताए ।

उच्च हिमाली क्षेत्रबाट ‘योजनाबद्ध उद्धार’ गरेपछि आरोपीहरुले पर्यटकलाई हेलिकप्टर मार्फत काठमाडौंको अस्पतालमा ल्याउने गरेका थिए । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट श्रीद्धि र स्वाकन अस्पतालमा विदेशीलाई लगेर भर्ना गर्ने गरिन्थ्यो । उच्च हिमाली क्षेत्रमा पदयात्राको क्रममा स्वास्थ्य समस्यामा परेको बाध्यात्मक अवस्था देखाएर उद्धार गरेपछि अस्पताल भर्ना गर्ने र त्यहाँ मेडिकल रिपोर्ट नै नक्कली बनाउने गरेको भेटिएको छ । मेडिकल रिपोर्टमा हस्ताक्षर भेटिएका चिकित्सकहरूले अनुसन्धान अधिकृतहरुसँग बयान दिँदा आफ्नो हस्ताक्षर अस्वीकार गरेका छन् ।

पर्यटकहरुलाई अस्पताल सञ्चालकले अस्पतालको बेडमा नै बियर खुवाएर राख्ने गरेको भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘अस्पतालमा बस्दा बियर खुवाएर राख्ने गरेको भेटिएको छ ।’

बिमा रकम दावीको प्रक्रिया पूरा नहुन्जेल टुर अपरेटर र अस्पताल सञ्चालकले पर्यटकको पासपोर्ट पनि जफत गरेर राख्ने गरेको अनुसन्धानबाट थाहा भएको सीआईबीका एआईजी डा. केसीले बताए । ‘हस्पिटलबाट बाहिर जान नदिएको र पासपोर्ट जफत गरेर राखेको भन्ने व्यहोराका जाहेरी हामीकहाँ आएको छ,’ उनले भने । 

पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पाले सन् २०२५ मा अस्पतालबाट बाहिर जान नदिएको र पासपोर्ट जफत गरेको भन्दै दुईजना विदेशी नागरिकले प्रहरीलाई इमेल मार्फत उजुरी दिएका छन् ।

अस्पताल भर्ना भएको रेकर्डमा देखाएर कतिपय पर्यटकलाई होटलमा नै राखेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘हस्पिटलमा भर्ना भएको रेकर्ड देखिएपनि कतिपय पर्यटक त्यसबेला होटलमा बसेको देखिन्छ ।’

मुद्दा मिलाउन सिंहको जोडबल

हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंहलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्ष समेत रहेका सिंहले फेक रेस्क्युमा पक्राउ परेकाहरूलाई प्रमाण लुकाउन सिकाएको अडियो भेटिएको छ । सिंहले फेक रेस्क्युमा पक्राउ परेकाहरूको पक्षमा लबिङ गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

एकजना प्रतिवादीसँग उनले फेक रेस्क्युको कारबाही रोकाउन मिडियामा प्रहरी अपरेसनविरुद्ध समाचार प्रकाशन गराउने आश्वासन दिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘सिंहले प्रतिवादीलाई भने अनुसार समाचार पनि प्रकाशन भएको देखिन्छ ।’

माउन्टेन हेलिकप्टरको पूर्व अध्यक्ष समेत रहेका सिंह आफैं पनि फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गर्ने कसुरमा संलग्न देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । सिंह मन्त्रिपरिषद्ले २०८१ चैत ४ मा गठन गरेको नागरिक उड्ययन क्षेत्रको समष्टिगत अध्यक्ष तथा विश्लेषण उच्चस्तरीय समितिको सदस्य हुन् ।

आरोपीहरूविरुद्ध प्रहरीले राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर, ठगी र संगठित अपराध निवारण ऐन-२०७० अनुसार अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप