कांग्रेस–एमालेको अवस्थाः मतदाताले उम्मेदवार पत्याए, दललाई पत्याएनन्
सारांश
- प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्यो।
- नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको समानुपातिक र प्रत्यक्षतर्फको मतमा भिन्नता देखियो।
- मतदाताहरूले उम्मेदवारको पहिचान र 'परिवर्तनको पक्षमा' भन्दै फरक-फरक दललाई भोट दिएका कारण यस्तो भएको विश्लेषण छ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेस पार्टीले समानुपातिकतर्फ कुल १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्यो । कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये कांग्रेसले १५.९६ प्रतिशत मत पाएको निर्वाचन आयोगको अन्तिम मतरिणामको तथ्यांकले देखाएको छ ।
यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एकमात्र दल थियो कांग्रेस । उक्त दलका सबै उम्मेदवारले पाएको कुल सदर मत २० लाख ७ हजार ८४७ रहेको थियो । अर्थात् सो दलले पाएको समानुपातिक मत उम्मेदवारले पाएको कुल मतभन्दा २ लाख ४८ हजार ६७५ भन्दा कम भएको देखिन्छ ।
यही अवस्था नेकपा एमालेको पनि छ । एमालेले समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मत पाउँदा यस दलका सबै उम्मेदवारले पाएको मत १६ लाख ३४ हजार १३५ रह्यो । अर्थात् एमालेका उम्मेदवारले पाएको मत समानुपातिकतर्फ पाएको मतभन्दा १२.२४ प्रतिशत बढी देखिन्छ । यो पार्टीले देशभर १६३ क्षेत्रमा उम्मेदवार उठाएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीको अवस्था पनि त्योभन्दा कम छैन । यस पार्टीले समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत प्राप्त गरेको छ । जबकि सो पार्टीले देशभर उठाएका मतदाताले ९ लाख ८३ हजार ४८१ मत प्राप्त गरेका छन्, जुन २१.१८ प्रतिशत बढी हो । अर्थात् नेकपामा उम्मेदवारलाई भोट हाल्ने १ लाख ७१ हजार ९०४ जना मतदाताले समानुपातिकतर्फ भने अर्कै दललाई रोजेको देखिन्छ ।
यसपटक संसदमा ६ वटा दलको अस्तित्व छ । उल्लेखित ३ बाहेक अरू दलको अवस्था भने ठीक विपरीत छ । अर्थात् उनीहरूको समानुपातिक मत प्रत्यक्षमा प्राप्त मतभन्दा धेरै देखिन्छ ।
दुई तिहाई नजिकको बहुमतसहित सबैभन्दा ठुलो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ । यो कुल सदर मतको ४७.२० प्रतिशत हो । यही दलले प्रत्यक्षतर्फ भने ४६ लाख ७१ हजार ९२ मत प्राप्त गरेको देखिन्छ ।
यो दुई तथ्यांक हेर्दा रास्वपालाई पत्याएका ५ लाख १२ हजार ४०१ मतदाताले यसका उम्मेदवारलाई भने नपत्याएको देखिन्छ, जुन ९.८९ प्रतिशत बराबर हो ।
श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ८५६ मत ल्याउँदा प्रत्यक्षतर्फ ३ लाख ३ हजार ११० मत प्राप्त गरेको छ । दुईबिच २१.४४ प्रतिशत बराबरको अन्तर देखिन्छ । ८२ हजार ७४६ मतदाताले यो पार्टीलाई समानुपातिकतर्फ भोट हालेर पनि प्रत्यक्षमा भोट हालेनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको हकमा अझै बढी उतारचढावपूर्ण परिणाम देखिएको छ । राप्रपाले समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत प्राप्त गर्दा प्रत्यक्षतर्फका उम्मेदवारहरूले २ लाख ४३ हजार ३९६ मत प्राप्त गरेका छन् । दुईबिचको यो अन्तर ८७ हजार २८८ अर्थात् २६.४० प्रतिशत बराबर हो ।

किन देखियो भिन्नता ?
विगतका निर्वाचनहरूमा पनि कांग्रेस, एमाले, माओवादीलगायत दलले समानुपातिकतर्फ प्राप्त गर्ने मत प्रत्यक्षतर्फ प्राप्त हुने मतभन्दा धेरै हुने गरेको थियो । यसपछाडि मुख्यतया दुई कारण हुन सक्छन् ।
पहिलो, समानुपातिक र प्रत्यक्षतर्फको चुनाव चिह्नको संख्या फरक हुनु र, दोस्रो सम्भावित उम्मेदवारलाई नै छान्ने मनोविज्ञान ।
कुनै पनि निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको चिह्न समानुपातिकको भन्दा कम हुन्छ । अर्थात् समानुपातिक मतपत्रमा सबै दलको चुनाव चिह्न हुन्छ । तर प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूको मात्रै चुनाव चिह्न हुन्छ । अर्थात् कतिपय दलले सबै क्षेत्रबाट उम्मेदवारी नै दिँदैनन् ।
यसपटक कांग्रेसबाहेक कुनै पनि दलले सबै ठाउँमा उम्मेदवारी दिएनन् । रास्वपा र एमालेले १६४ सिटमा उम्मेदवार दिँदा राप्रपाले १६३ तथा श्रम संस्कृति पार्टीले १०९ स्थानमा मात्रै उम्मेदवार उठाएका थिए । यद्यपि उम्मेदवारीको यो तथ्यांकले माथि उल्लेखित कारण श्रम संस्कृति पार्टीको हकमा लागु भए पनि अरूको हकमा भएन । किनभने रास्वपा, एमाले र राप्रपाले धेरैजसो ठाउँमा उम्मेदवार उठाएको देखिन्छ ।
यो अवस्थामा मुख्यतया उम्मेदवारको पहिचानले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । यसपटक रास्वपाले मैदानमा उतारेका उम्मेदवारमध्ये धेरै जना सार्वजनिक रूपमा यसअघि परिचित थिएनन् । उम्मेदवारलाई हेरेर भोट हाल्ने मतदाताले समानुपातिकमा रास्वपालाई नै हाल्दा प्रत्यक्षमा भने अरू दललाई मत हालेको देखिन्छ ।
यो अवस्था परम्परागत दलका चर्चित उम्मेदवार भएको ठाउँमा धेरै छ । उदाहरणका लागि सर्लाही–४ मा गगन थापाले २२ हजार ८३१ मत ल्याउँदा त्यही क्षेत्रमा समानुपातिकमा भने कांग्रेसले १८ हजार ८१ मत ल्याएको देखिन्छ ।
यसपटक धेरै मतदाता एउटा भोट परम्परागत दलमा राखेर एउटा भोट ‘परिवर्तनको पक्षमा’ भन्दै दिएको समेत तथ्यांक र सर्भेक्षणहरूले देखाएका छन् । खासगरी रास्वपा केन्द्रमा देखिएका बालेन र रविको अनुहारले समेत दलमा रास्वपालाई छान्ने ट्रेन्ड आएको देखिएको छ ।
अर्कोतिर विगतदेखि नै हिन्दु राज्यको पक्षमा रहेका र केही राजतन्त्रको पक्षमा समेत रहेका मतदाताले ‘धर्मका लागि एक भोट’ भन्दै राप्रपालाई भोट दिएको देखिन्छ । यसले समेत कांग्रेस, एमाले जस्ता परम्परागत शक्तिको समानुपातिक मतमा क्षति पुगेको विश्लेषण गरिएको छ ।
यो निर्वाचनमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्ने ५ लाख ९८ हजार मतदाताले दललाई भने भोट दिएनन् । उता रास्वपा, श्रम संस्कृति र राप्रपालाई भोट दिएका ६ लाख ८२ हजार मतदाताले प्रत्यक्षमा सम्बन्धित दलका उम्मेदवारलाई मत नदिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण