५ सेलिब्रेटी संसद्मा इन्ट्री हुने लाइनमा, केही चर्चामै सीमित
सारांश
- निर्वाचनमा कलाकारहरूको सहभागिता उत्साहजनक रह्यो, तर केहीले मात्र सफलता पाए।
- बालेन शाह र आशिका तामाङ प्रत्यक्ष निर्वाचनबाट सांसद बने, भने रिमा विश्वकर्मा, रमेश प्रसाईँ र अनुष्का श्रेष्ठ समानुपातिकबाट सिफारिस भए।
- रास्वपाबाट बालेन शाह प्रधानमन्त्री बन्दैछन्, र अधिकांश सेलिब्रेटी सांसदहरू पनि रास्वपाबाटै निर्वाचित भएका छन्।
काठमाडौँ । मुलुकमा निर्वाचनको सरगर्मीसँगै कला क्षेत्रको सक्रियता यसपटक निकै लोभलाग्दो रह्यो । सुशासन र देश निर्माणको नारा लगाउँदै चुनावी मैदान थुप्रै कलाकर्मी अगाडि आए पनि तीमध्ये केहीले मात्र सफलता हात पारे । केहीको संसद् यात्रा यसपटकका लागि चर्चामा मात्रै सीमित रह्यो ।
गत २१ फागुनको निर्वाचन अगाडि नयाँ तथा पुराना राजनीतिक दलबाट प्रत्यक्ष र समानुपातिक गरेर ८ सेलिब्रेटी प्रतिनिधि सभाको संसद् बन्ने लाइनमा देखिएका थिए । प्रत्यक्ष निर्वाचन परिणाम र त्यसपछिको समानुपातिक सिफारिस हुँदा भने जम्मा ५ सेलिब्रेटी मात्र प्रतिनिधि सभामा सांसदको रूपमा आफूलाई प्रवेश गराउन सफल हुने देखिएका छन् । यद्यपि, समानुपातिक सांसदको अन्तिम टुङ्गो भने लाग्न बाँकी नै रहेको छ ।
प्रत्यक्ष निर्वाचनबाट यो पटक कलाक्षेत्रबाट संसद्मा छिर्न सफल सेलिब्रेटी हुन् र्यापर बालेन शाह र अभिनेत्री आशिका तमाङ छन् । त्यस्तै, समानुपातिक सूचीबाट अन्तिम सिफारिस हुनेमा रिमा विश्वकर्मा, गायक रमेश प्रसाईँ र मिस नेपाल अनुष्का श्रेष्ठ छन् । उनीहरूको नाममा भने निर्वाचन आयोगले अध्ययनपछि अन्तिम टुङ्गो लगाउनेछ ।
_ZMtPvc51B8.jpg)
युवा पुस्तामाझ लोकप्रिय र्यापर बालेन शाहले यो निर्वाचनबाट आफ्नो राजनीतिक उचाइलाई संसद्सम्म पुर्याएका छन् । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर शाह झापा–५ बाट प्रत्यक्ष निर्वाचन जित्दै संसद् बन्न सफल भएका हुन् । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट जितेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका थिए । रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारसमेत रहेका उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतले पराजित गर्दै आफ्ना पक्षमा विजय निकाल्न सफल भएका थिए । उनी अब प्रधानमन्त्री समेत बन्दैछन् ।

पछिल्लो समय सामाजिक अभियन्ताका रूपमा परिचित अभिनेत्री आशिका तामाङ धादिङ १ बाट संसद् बन्न सफल भएकी हुन् । रास्वपाबाट उक्त क्षेत्रका लागि प्रत्यक्ष तर्फको सांसद उम्मेदवार बनेकी उनले एमालेका भूमि त्रिपाठी र नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेलाई भारी मतले पराजित गर्दै जित निकालेकी हुन् । तामाङले अभिनेता आर्यन सिग्देलसँग ‘सुश्री’ नामक फिल्म अभिनय गरेकी छन् । विसं २०७२मा प्रदर्शित फिल्म आशिका फिल्म्स प्रालिकै ब्यानरबाट बनेको थियो ।

त्यस्तै, अभिनेत्री रिमा विश्वकर्मा रास्वपाको समानुपातिक कोटाबाट सांसद सिफारिस हुन सफल भएकी हुन् । कार्यक्रम प्रस्तोता समेत रहेकी उनलाई रास्वपाले महिला दलित कोटाबाट सांसद सिफारिस गरेको हो । सुरुमा कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । उज्यालो र रास्वपा एकता हुँदा दलित महिला क्लस्टरबाट उम्मेदवार बनेकी उनी उज्यालो र रास्वपाको एकता तोडिए पनि रास्वपा रहेर सांसद बन्न सफल भएकी हुन् । यही कारण उनलाई कतिले अवसरवादी भनेर आलोचना गर्दै आएका छन् ।

लोक गायक रमेश प्रसाईँ पनि रास्वपाबाट संसद् भवन छिर्ने लाइनमा छन् । तिखो वाककला र गायनबाट चर्चित रमेश प्रसाईलाई रास्वपाले खसआर्य कोटाबाट सांसद सिफारिस गरेको हो । यो कोटबाट १७ सांसद सिफारिस हुँदा पुरुषबाट उनी एक्लो परेका हुन् । लाइभ लोकदोहोरी गायनमा माहिर मानिएका प्रसाईंको लोकदोहोरी गीतका साथै पछिल्लो समय ‘रिङ्केबुङको राँगो’ बोलको गीत चर्चामा छ । प्रसाईँ सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् ।

यस्तै, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाबाट समानुपातिक कोटाबाट सिफारिस हुन सफल भएकी छन् । उनी रास्वपाको आदिवासी जनजाति महिला क्लस्टरबाट सांसद सिफरिस भएकी छन् । उनी मिस नेपाल भएपछि नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१९’मा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनी उत्कृष्ट १२ भित्र पर्दै ‘मिस वर्ल्ड ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ को उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन् । श्रेष्ठ व्यवसायी पनि हुन् । उनी ‘माक्कुसे’ लक्जरी मिठाई ब्रान्डकी सञ्चालक हुन् ।
- जो चर्चा धेरै, संसद् बन्न असफल
यो पटकको निर्वाचनमा उम्मेदवार बनेका केही कलाकर्मी सेलिब्रेटी सांसद बन्न असफल पनि भए । प्रत्यक्ष निर्वाचन लडेका जनताको मत बटुल्न असफल भए, भने केही समानुपातिक सूचीमा परेर पनि अन्तिम सिफारिसमा अटाउन सकेनन् । जसका कारण प्रभावशाली मानिएका कलाकर्मीहरू नै संसद् छिर्न असफल रहे ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेकी गायिका कोमल वली यसपटक संसद् छिर्न असफल भइन् । एमाले नेत्री वली पार्टीबाट समानुपातिक उम्मेदवार सूचीमा रहेकी थिइन् । एमालेको विगतका तुलनामा प्रत्यक्ष मात्र होइन, समानुपातिक मत पनि घटेको कारण उनी सांसद बन्न असफल रहिन् । गत निर्वाचनमा दाङ–३ बाट प्रत्यक्ष उम्मेदवारमा पराजय बेहोरेकी उनी राष्ट्रिय सभाकी पूर्वसांसद पनि हुन् ।
त्यस्तै, अभिनेत्री निशा अधिकारी पनि सांसद छिर्न असफल भइन् । अधिकारी काठमाडौँ–५मा गतिशील लोकतान्त्रिक पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । निर्वाचनमा जम्मा ९१ मत प्राप्त गर्दै पराजित बनेकी उनको अबको १० वर्ष देशप्रति समर्पित हुने योजना अधुरो रह्यो । चुनावमा पराजित भएको भोलिपल्टै उनी फिल्ममा फर्किएकी छन् ।
चर्चित गायक प्रकाश सपुतले पनि संसद्को यात्रा तय गर्न सकेनन् । रास्वपाबाट समानुपातिक रहेका उनी रास्वपाले प्रत्यक्ष र समानुपातिक तर्फ धेरै मत प्राप्त गर्दा पनि सांसद बन्न असफल रहे । रास्वपाले समानुपातिकमा धेरै महिला सांसद बनाउनुपर्ने भएपछि उनी अटाउन नसकेका हुन् । लोकप्रिय गायक, सङ्गीतकार तथा अभिनेता सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि होइन र यो देश’, ‘दमाई महाराज’, ‘बुझिनँ मैले’लगायत गीत लोकप्रिय छन् । करिब आधा दर्जन फिल्ममा अभिनय गरेका उनले फिल्म ‘वसन्त’ निर्माण तथा निर्देशन गरेका थिए । सांसद नबन्ने भएपछि उनी साङ्गीतिक कार्यक्रममा फर्किसकेका छन् ।
- कलाकर्मी सांसद ‘रास्वपा’बाट मात्रै
यसपटकको निर्वाचनमा एउटा रोचक पक्ष के छ भने जति सेलिब्रेटी सांसद बन्न लागेका छन्, ति सबै एउटै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट छन् । रास्वपाबाट सांसद बन्न लागेका सेलिब्रेटीमा र्यापर बालेन शाह, अभिनेत्री आशिका तमाङ, अपभनेत्री रीमा विश्वकर्मा, गायक रमेश प्रसाईँ र मिस नेपाल अनुष्का श्रेष्ठ छन् ।
यो पटकको निर्वाचनमा नेकपा एमाले, रास्वपा, गतिशील लोकतान्त्रिक पार्टीबाट पनि कलाकर्मी उम्मेदवारका रूपमा समेटिएका थिए । तर सांसद बन्न सफल भने रास्वपाबाट मात्र भएका हुन् ।
- कलाकार नै बन्दै प्रधानमन्त्री
गत २१ फागुनको निर्वाचनले नेपालको इतिहासमा एउटा यस्तो नयाँ अध्याय थपिदियो, जसको कल्पना केही समय अघिसम्म कसैले गरेका थिएनन् । सुशासन, परिवर्तन र देश निर्माणको तीव्र हुटहुटी बोकेर चुनावी मैदानमा होमिएका कलाकर्मीहरू यसपटक संसद्मा मात्र होइन, अब देशको कार्यकारी प्रमुखकै कुर्सीमा आसीन हुँदैछन् ।
रास्वपाबाट प्रत्यक्ष चुनाव जित्दै सांसद बनेका लोकप्रिय र्यापर बालेन शाह प्रधानमन्त्री बन्न लागेको हुन् । निर्वाचनमा १८२ सिट सहित देशको ठुलो दल बनेको रास्वपाको तर्फबाट शाह प्रधानमन्त्री बन्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण