ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
सारांश
- ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान जारी छ, तर संक्रमण अझै नियन्त्रणमा आएको छैन।
- खोप अभियान अन्तर्गत १० देखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइयो।
- अहिलेसम्म सात जनामा संक्रमण पुष्टि भएको छ र १०३ जना शंकास्पद बिरामी छन्।
बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोर किशोरीलाई खोप लगाइएको छ । पालिकाको नौ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय ५६ जनालाई खोप लगाइएको हो ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा सङ्क्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । गत फागुन २९ गतेदेखि यही चैत १ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । छुटेकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए ।
सङ्क्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन र प्रदेश जनस्वास्थ्य कार्यालयको समूह ढोरपाटनमा खटिएको उनको भनाइ छ । हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको जनाउँदै उनले १ सय तीन जना शङ्कास्पद बिरामी रहेका बताए ।
एक्काइस जनाको नमुना परीक्षणका राष्ट्रिय स्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइएको घिमिरेले जानकारी दिए । उनका अनुसार बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्यचौकीमा छ उपचाररत रहेका छन् । छुटेका बालबालिका र किशोर किशोरीलाई पुनः विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने घिमिरेले बताए ।
उनले भने, “ढोरपाटनका नौ वटै वडाका अधिकांश बालबालिका र किशोर किशोरीलाई खोप लगाइसकेका छौँ, अब बाँकी छुटपुटलाई पनि स्वास्थ्य संस्था र बुर्तिबाङ अस्पतालबाट दिइनेछ । खोप लगाएपछि सङ्क्रमण नियन्त्रणमा आउने अपेक्षा लिएका छौँ ।” गाउँभरि दादुरा सङ्क्रमण फैलिएपछि बन्द भएका विद्यालय सञ्चालनमा आएका छन् ।
सङ्क्रमण कम हुन थालेपछि करिब दुई सातापछि विद्यालय सञ्चालन गरिएको हो । यस क्षेत्रका करिब आधा दर्जन विद्यालय बन्द गरिएको थियो । दादुरा सङ्क्रमितको उपचार र गाउँका अन्य बालबालिकालाई खोप लगाएपछि विद्यालय सञ्चालन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य प्रमुख भूमिश्वार शर्माले जानकारी दिनुभयो । गत फागुन २१ गते बोबाङ गाउँका केही बालबालिकामा लक्षण देखिएपछि राष्ट्रिय प्रयोगशालामा नमुना परीक्षणका लागि पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण