शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

होटलमा काम दिन महिला ल्याए, यौन कार्यमा लगाएर पैसा कमाए

मङ्गलबार, ०३ चैत २०८२, १७ : ००
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • कास्की प्रहरीले पोखरामा महिलालाई यौन कार्यमा लगाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलाको उद्धार गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूले होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलालाई यौन कार्यमा लगाएका थिए।

पोखरा । राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । 

जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई पोखरा १ बगर बस्ने २८ वर्षीय खेमु थापा छन् । उनीहरूलाई पोखरा ८ जाल्पारोडबाट पक्राउ गरिएको हो ।

खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले छापा हानेको हो ।

आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई खोजेर यौन कार्यमा लगाउने गरेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

उनीहरूले महिलाहरूलाई खानबस्नको सुविधासहित राम्रो तलबमा होटलको काममा लगाइदिने भन्दै फकाउने र पछि होटलमा आउने पुरुषसँग पैसा लिएर अनैतिक कार्यमा लगाउने अनुसन्धानबाट खुलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबाहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप