आफू परिवर्तन भएको सन्देशसहित रवि लामिछानेको जिम्मेवार बोली
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो शैली परिवर्तन गर्दै सांसदहरूलाई निर्देशन दिए।
- लामिछानेले जनताको विश्वास कायम राख्न नसके ३५ दिन पनि नकुर्ने भन्दै सचेत गराए, गुटबन्दी नगर्न चेतावनी दिए।
- उनले पार्टीभित्र अनुशासन कायम राख्न जोड दिँदै, मिडिया ट्रायल नगर्न र सामाजिक सञ्जालमा उत्तेजना बन्द गर्न आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शैली यसअघि आक्रामक थियो । अरुलाई व्यङ्ग्य प्रहार गरेर बोल्थे । धारणामा थोरै सत्यता र व्यङ्ग्य धेरै हुन्थ्यो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले सहज बुहमत (२ सिट कम दुई तिहाइ) ल्याएपछि लामिछानेले आफ्नो त्यो शैलीलाई परिवर्तन गरेका छन् । ललितपुरको ग्वार्कोमा पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकाहरूलाई रास्वपाले गरेको दुई दिने अभिमुखीकरणको समापनमा लामिछानेको आधा घण्टाभन्दा बढी समय आफ्नो धारणा राखे । यस क्रममा उनले आफ्नो शैलीलाई पूरै परिवर्तन मात्रै गरेनन्, जनताले दिएको मतको बोध आफूमाथि थुप्रिएको र त्यसलाई कसरी सहज अवतरण गर्ने भन्नेमा ध्यान केन्द्रित गर्ने शैलीमा प्रस्तुत भए ।
उनको धारणाको अधिकांश हिस्सामा सांसदहरूलाई निर्देशन थियो भने केहीमा सत्ता सञ्चालन कसरी गर्ने, पुराना दलहरूसँगको सम्बन्ध कस्तो बनाउने, सांसदहरूले आचारण कस्तो बनाउनु पर्ने र अब आफूहरूको जिम्मेवारी के हो भन्ने विषय समेटिएको थियो ।
लामिछानेले पुराना दलहरूको नेतृत्वप्रति निराशा भएर आफूहरूलाई मत दिएकाले त्यो जनताको विश्वासलाई कायम राख्न सक्नुपर्ने बताए । जनताको विश्वास कायम राख्न नसके पुराना नेतृत्वलाई जनताले ३५ वर्ष कुरे पनि आफूहरूलाई ३५ दिन पनि नकुर्ने भन्दै सांसदहरूलाई उनले सचेत बनाए ।
‘नागरिकमा नेतृत्वप्रति निराशा थियो । तैपनि उनीहरूलाई ३५ वर्ष कुरे,’ लामिछानेले भने, ‘हामीलाई अब ३५ दिन पनि कुर्ने देखिन्न । पाइला पाइलामा सावधान रहेर सही काम गर्नुहोला ।’
सांसदहरूलाई यसअघिको निजी जीवनको स्वतन्त्रतामा रमाउने बानी त्याग्न पनि लामिछानेले निर्देशन निर्देशन दिए । ‘पार्टीभित्र स्वतन्त्रता छ, तर यसको अर्थ अनुशासन पनि त्यहीँनेर छ,’ लामिछानेले निर्देशन दिँदै भने, ‘धेरै कुरामा विचार गर्नुहोला । यसपल्ट हामी राइट टु रिकलको व्यवस्थालाई कडाईका साथ लागु गर्नेछौँ ।’
‘राइट टु रिकल’ भनेको जनताले जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार रहेको भन्दै लामिछानेले पार्टीको दुई तिहाइ बहुमत होस् वा नहोस्, यो व्यवस्था कडाइका साथ लागू गर्ने प्रस्ट पारे ।
सांसद र पार्टीका नेताहरूले पनि सार्वजनिक सेवामा जिम्मेवार बन्नुपर्ने लामिछानेले बताए । आफूले पनि सार्वजनिक सेवा उपभोग गर्ने र अरुले पनि गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले सरकारी अस्पतालमा उपचार गराउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले रास्वपा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेर जनतामाझ पुगेको पार्टी भएकाले पार्टीका सांसद, नेता र कार्यकर्ताले सञ्जालमा उत्तेजना र आक्रामकता बन्द गर्नुपर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्नुस् । विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने क्रम रोक्नुस् ।’
लामिछानेले सामाजिक सञ्जाल र सार्वजनिक प्लेटफर्महरूमा जिम्मेवार भएर प्रस्तुत हुन, गाली–गलौज र व्यक्तिगत आक्रमणबाट बच्न आग्रह पनि गरे ।
शक्तिमा पुग्न र स्वार्थअनुरुपको काममा ध्यान नदिन निर्देशन दिँदै लामिछानेले सहिदको बलिदानलाई सम्झेर काम गर्न सांसदहरूलाई निर्देशन दिए । ‘म’ केन्द्रित राजनीति त्यागेर देश केन्द्रित राजनीति गर्नुपर्ने उनको भनाइ थियो ।
‘व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेछ । मन्त्री बन्ने, पद पाउने, व्यक्तिगत हैसियत खोज्ने म केन्द्रित राजनीतिबाट बाहिर निस्केर देश केन्द्रित राजनीति गर्नुहोला,’ लामिछानेले भने ।
पार्टीभित्र गुटबन्दी नचल्ने भन्दै गुटबन्दीमा नलाग्न पनि लामिछानेले चेतावनी दिए । उनले पुराना पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई पार्टीभित्र गुट बनाएर जित्न नसकिने भन्दै व्यङ्ग्य गरे । ‘कांग्रेस–एमालेलाई गुट बनाएर जित्न सकिँदैन । घण्टीसँगै सबैलाई हराउन सक्ने तागत छ । पार्टीभित्र गुटको आवश्यकता छैन,’ लामिछानेको भनाइ थियो ।
सांसदहरूलाई बिचौलिया र स्वार्थ समूहसँग साँठगाँठ नगर्न पनि उनले चेतावनी दिए । पार्टीको अनुशासनभन्दा बाहिर गएमा अनुशासनको डण्डा बर्साउने सङ्केत पनि उनले गरे । ‘रास्वपा ठुलो परिवार भएकाले अराजकता रोक्न अनुशासन अनिवार्य छ, अनुशासनमा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘जिम्मेवार बन्नुहोला । अनुशासन सबैलाई लागु हुन्छ ।’
लामिछानेले सांसद र नेताले व्यक्तिगत सपना नभई, समाज र देशले देखेको सपना पूरा गर्नेतर्फ सोच्नुपर्ने बताए । विगतको जस्तो राजनीति अब नचल्ने भन्दै उनले नयाँ पद्धति अनुसार नयाँ ढङ्गले काम गर्नका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । ‘जनताको घरको बाटो बनाउने, धारामा पानी, बिजुली, इन्टरनेट पु¥याउने जस्ता व्यावहारिक समस्या समाधान गर्नुपर्नेछ । त्यसका लागि कानुनमा पनि समय सापेक्ष तरिकाले संशोधन गर्नुपर्नेछ,’ उनले भने, ‘तसर्थ कानुन निर्माताको रूपमा सांसदहरूको जिम्मेवारी अत्यन्त गहन छ । संविधान कार्यान्वयनका लागि कानुनहरू बन्न सकेका छैनन् । ती कानुन बनाएर व्यावहारिक समस्या समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ ।’
नागरिकले सांसद र नेताका हरेक गतिविधि हेरिरहेकाले जनताको चेतनालाई चुनौती दिन नहुने उनको भनाइ थियो । ‘अघिल्लो चुनावमा दुई तिहाइ नदिनुको कारण नयाँलाई हेर्न र पुरानालाई सच्चिने अवसर दिनु रहेको थियो । त्यो विवेकलाई दुई तिहाइ पाएको सरकारले चुनौती दिन सक्दैन । काम गरेर देखाउनुपर्छ । त्यसका लागि अर्को चुनाव जित्न नभई, अर्को पुस्ता नहारोस् भनेर काम गर्नुपर्नेछ,’ उनले भने ।
रास्वपाको घण्टी नेपाली जनताको लागि बजाउनुपर्ने लामिछानेको आशय थियो । पार्टीले जन्मदेखि नै विभिन्न प्रहार र मुद्दाहरूको सामना गर्दै यहाँसम्म आइपुगेकाले पुराना दलको प्रवृत्ति त्यागेर नयाँ सोचका साथ अगाडि बढ्न उनले निर्देशन दिए । पुराना पार्टीबाट रास्वपा प्रवेश गरेकालाई पनि पुरानो प्रवृत्ति मुक्त भएर आउन आग्रह गर्दै भने, ‘पुरानो पार्टीबाट आएकाहरूलाई स्वागत गरिएको छ, तर उहाँहरूले पुरानो प्रवृत्तिबाट मुक्त भएर काम गर्नुपर्छ । यो सर्त हो ।’
नेता र सांसदका अभिव्यक्तिमा पनि बन्देज लगाउने रास्वपाको तयारी छ । त्यो तयारीको सङ्केत पनि सभापति लामिछानेले दिए । ‘यो सामान्य चुनाव नभई शहीदको बलिदानबाट आएको अवसर हो । हल्काफुल्का अभिव्यक्ति नदिनु होला । सांसदले गर्ने हरेक गतिविधिले मतदाताको शिर झुक्ने अवस्था आउन दिनुहुन्न । त्यो पार्टीको सिद्धान्त र अडान हो,’ लामिछानेले भने ।
उनले निजी क्षेत्रलाई आश्वस्त पार्न पनि भ्याए । निजी क्षेत्रलाई निर्धक्क काम गर्ने वातावरण बनाइने भन्दै लगानी गर्न आह्वान गरे । विदेशी लगानीकर्ताको लगानी नीतिगत रूपमा सुरक्षित हुने, विश्वविद्यालय, उद्योग, कलकारखाना चलाएर रोजगारी सिर्जना गर्ने रास्वपाको नीति रहेको उनले प्रस्ट पारे ।
उनले लोकतान्त्रिक पद्धति, संविधान र व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताए । संघीयता र प्रदेशप्रति नकारात्मक रहेका लामिछाने बुधबार त्यसको विपरीत देखिए । उनले संविधानमा रहेको व्यवस्था भरपुर पालना गर्ने बताए । ‘व्यक्तिगत इच्छाभन्दा संविधान, नियमावली र पार्टी विधानलाई प्राथमिकता दिइनेछ,’ लामछिानेले भने ।
सधैँ विपक्षीलाई कटाक्ष गर्ने लामिछानेको अभिव्यक्तिमा यस पटक त्यो देखिएन । उनले त्यसको उल्टो विजयको उन्मादमा विपक्षीप्रति कटाक्ष नगर्ने बताएर अब सहमति र सहकार्य गरेर सन्तुलित रूपमा अगाडि बढ्ने संकेतसमेत गरे ।
सुशासनमा नयाँ मानक स्थापना गरी आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण