मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अष्ट्रेलियामा शरणको माग त्याग्दै इरानी महिला फुटबल खेलाडीहरू स्वदेश फिर्ता

बुधबार, ०४ चैत २०८२, २२ : ४६
बुधबार, ०४ चैत २०८२

सारांश

  • इरानको महिला फुटबल टोलीका ५ सदस्यले अस्ट्रेलियामा शरणका लागि दिएको आवेदन फिर्ता लिई स्वदेश फर्केका छन्।
  • खेलाडीहरूले टर्कीको बाटो हुँदै इरान प्रवेश गरेका थिए, उनीहरूले स्वदेश फर्केपछि कारबाहीको डरले यस्तो निर्णय लिएका थिए।
  • मानवअधिकारवादीहरूले खेलाडीहरूलाई परिवारमाथि दबाब दिएर निर्णय बदल्न बाध्य पारिएको आशंका गरेका छन्।

काठमाडौँ । अष्ट्रेलियामा शरणका लागि दिएको आवेदन फिर्ता लिँदै इरानको राष्ट्रिय महिला फुटबल टोलीका पाँच सदस्यहरू स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा सम्पन्न एसियन कपका क्रममा शरणको माग गरेका उनीहरू बुधबार दिउँसो टर्कीको सीमा हुँदै इरान प्रवेश गरेका हुन् ।

टोली मलेसिया र ओमान हुँदै टर्कीको इग्दिर विमानस्थल पुगेको थियो, जहाँबाट बसमार्फत उनीहरूलाई इरान लगिएको हो । एसियन कपको पहिलो खेलमा राष्ट्रिय गान बजिरहेका बेला मौन बसेपछि स्वदेश फर्कँदा कारबाही भोग्नुपर्ने डरले खेलाडीहरूले सुरुमा मानवीय भिसाका लागि अष्ट्रेलिया सरकारसँग आग्रह गरेका थिए ।

मानवअधिकारवादीहरूले भने खेलाडीहरूलाई उनीहरूको परिवारमाथि धम्की दिएर निर्णय बदल्न दबाब दिइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । शरणको आवेदन फिर्ता लिनेहरूमा टोलीकी कप्तान जहरा घानबारीसहित जहरा सुल्तान मेस्केहकार, मोना हमौदी र जहरा सरबाली रहेका छन् । अर्का एक खेलाडीको नाम भने खुलाइएको छैन । टोलीका अन्य दुई सदस्यले भने अष्ट्रेलियामै शरण लिएर बसेका छन् ।

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले सुरुमा पाँचै जना खेलाडीलाई सुरक्षित स्थानमा राखेर भिसाको प्रक्रिया अघि बढाएका थिए । तर, पछि खेलाडीहरूले आफ्नो निर्णय बदलेपछि उनले खेलाडीहरूले निकै कठिन परिस्थितिमा यस्तो निर्णय लिएको बताएका छन् ।

यसअघि इरानी सरकारी टेलिभिजनमा एक कार्यक्रम प्रस्तोताले राष्ट्रिय गानका बेला मौन बस्ने खेलाडीहरूलाई ‘देशद्रोही’ भन्दै सजाय दिनुपर्ने टिप्पणी गरेका थिए । सोही दबाबका कारण खेलाडीहरूले पछिल्ला दुई खेलमा भने राष्ट्रिय गान गाएका थिए ।

यसैबिच, इरानको खेलकुद मन्त्रालयले यसलाई ‘शत्रुको योजना असफल’ भएको र खेलाडीहरूमा ‘राष्ट्रिय भावना र देशभक्ति’ देखिएको भन्दै प्रशंसा गरेको छ । इरानी सञ्चारमाध्यमहरूले अष्ट्रेलियाले खेलाडीहरूमाथि मनोवैज्ञानिक युद्ध छेडेको आरोप समेत लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप