बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

न्युकासलमाथि बार्सिलोनाको गोल वर्षा, ७–२ गोल अन्तरको जित निकाल्दै क्वार्टरफाइनल प्रवेश

बिहीबार, ०५ चैत २०८२, ०१ : ३२
बिहीबार, ०५ चैत २०८२

सारांश

  • बार्सिलोनाले च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा न्युकासल युनाइटेडलाई ७-२ ले पराजित गर्यो।
  • बार्सिलोनाले समग्रमा ८-३ को नतिजासहित क्वार्टरफाइनलमा स्थान पक्का गर्यो।
  • राफिन्हा र लेवान्डोस्कीले बार्सिलोनाका लागि २-२ गोल गरे।

काठमाडौँ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा स्पेनिस महारथी बार्सिलोनाले इंग्लिस क्लब न्युकासल युनाइटेडमाथि ७–२ को फराकिलो जित दर्ता गरेको छ । बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सानदार प्रदर्शन गर्दै बार्सिलोना समग्रमा ८–३ को नतिजासहित प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेग १–१ को बराबरीमा सकिएको अवस्थामा दोस्रो लेगमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक फुटबल खेलेको थियो । बार्सिलोनाका लागि राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई–दुई गोल गरे । राफिन्हाले खेलको छैटौँ र ७२औँ मिनेटमा गोल गरे भने लेवान्डोस्कीले ५६औँ र ६१औँ मिनेटमा गोल थपेका थिए ।

यस्तै, बार्सिलोनाका युवा स्टार लामिन यमलले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे । मार्क बर्नालले १८औँ र फर्मिन लोपेजले ५१औँ मिनेटमा एक–एक गोल गर्दै टोलीको विशाल जित सुनिश्चित गरे ।

न्युकासलका लागि एन्थोनी इलाङ्गाले दुई गोल फर्काए पनि त्यो टोलीको हार टार्न पर्याप्त भएन । उनले खेलको १५औँ र २८औँ मिनेटमा गोल गर्दै खेललाई केही बेर प्रतिस्पर्धात्मक बनाउने प्रयास गरेका थिए । तर, दोस्रो हाफमा बार्सिलोनाको सशक्त आक्रमणका अगाडि न्युकासलको रक्षापंक्ति निरीह बन्यो ।

यस जितसँगै बार्सिलोना बलियो लयका साथ च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप