‘कलाकार मात्रै होइन, सबै नागरिकले राजनीति बुझ्नुपर्छ’
सारांश
- गायिका भूमिका गिरीसँग संगीत, करिअर र राजनीतिबारे कुराकानी गरिएको छ।
- उनले राजनीतिमा कलाकारको प्रवेश उचित रहेको तर राम्रो काम गर्नुपर्ने बताइन्।
- गिरीले अहिलेसम्म कुनै दलको सदस्यता नलिएको र २२ देश घुमेको बताइन्।
काठमाडौँ । ‘चोली मैलै भो’, ‘देउरालीमा’, ‘बैनी झ्यालैमा’, ‘फिक्का चिया’, ‘नरिसाऊ सानो कुरैमा’ जस्ता गीतबाट चर्चामा आएकी गायिका हुन् भूमिका गिरी ।
उनले स्वर भरेका ‘बुट्टा भरेको’, ‘विकृति’, ‘उजेली जुनेली’ जस्ता तीज गीतहरु आम दर्शकहरुको मनमा बसेका छन् । दाङको राजपुर गाउँपालिका-१ बेलाबाट उदाएकी भूमिका गीत-संगीतकै माध्यमबाट देश, विदेश पुगिन् ।
गायिका भूमिकासँग करिअर, संगीत र सामाजिक विषयमा आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
- रहरले हो कि लहडले केही कलाकार राजनीतिमा प्रवेश गरे । तपाईंको नजरमा कलाकारले राजनीति गर्नु कति उचित हो ?
जुनसुकै व्यक्तिले पनि देशका लागि हामी काम गर्छौं भन्नु राम्रो हो । कलाकार भन्दा पहिले त हामी नागरिक हो । राजनीतिमा हरेक व्यक्तिले गर्न पाइयो । त्यसबारे म त्यति खण्डन गर्दिनँ । राम्रो काम गरेर देखाउनुपर्यो । त्यो त सकारात्मक कुरा हो नि ।
सबैले राजनीति बुझ्न जरुरी छ । राजनीति मन परेन भन्दैमा राजनीतिबाट भाग्न सकिँदैन । देशका बारेमा चिन्तन, मनन् गर्न जरुरी छ । हामी जति भागे पनि राजनीति हामीबाट टाढा हुँदैन । सच्चा नागरिकले राजनीति बुझ्नुपर्छ । तर जसले जे काम, जे पेसा गर्ने हो, त्यो गर्नुपर्छ ।
- कुनै दलको सदस्य हुनुहुन्छ ?
अहिलेसम्म छैन । म नितान्त स्वतन्त्र नागरिक हुँ । सांगीतिक कार्यक्रमले गर्दा घरबाट टाढा भएर धेरै पटकका चुनावमा भोट हाल्न पाइएको थिएन । यस पटक भोट चाहिँ हालेँ ।
- नयाँ र पुराना दलहरूप्रति तपाईंको बुझाइ के छ ?
पुराना दलप्रति एक प्रकारको निराशा देखिन्छ । पुरानाले केही पनि गरेको छैन भन्न मिल्दैन । सोचे जस्तो नहुँदा जनता निराश भए । व्यक्ति र विचार सही हुनुपर्यो । कमाउनका लागि होइन, समाजलाई योगदान दिनका लागि राजनीति लाग्नुपर्छ । यस्तो बेलामा नागरिकले सही तरिकाले मतको प्रयोग गर्नुपर्छ । मत बेच्नु हुँदैन । गलत पात्रलाई मत दिनु हुन्न ।
- तपाईंलाई मन पर्ने कोही नेता हुनुहुन्छ ?
अहिलेसम्म कसैले मन जित्न सकेका छैनन् । मन जित्ने त कामले हो ।
- मेला, महोत्सवहरुमा कत्तिको व्यस्त हुनुहुन्छ ?
गएको कात्तिक, मंसिर, पुस, माघमा सबैभन्दा बढी व्यस्त भइयो । देश बाहिर पनि जाने मौका मिल्यो । स्विट्जरल्याण्ड, डेनमार्क, फिनल्याण्ड लगायत युरोपियन मुलुकमा कन्सर्ट सकेर फर्किएँ । अब नेपाली नयाँ वर्षमा रसिया जाने कार्यक्रम छ ।
- अहिलेसम्म कति देश पुग्नुभयो ?
२२ वटा देश पुगेँ ।
- घुमेकामध्ये तपाईंलाई कुन देश मनपर्यो ?
नेपालको जस्तै हावापानी भएको स्विट्जरल्याण्ड मनपर्यो । मलाई पहिलेदेखि नै त्यहाँ जान मन थियो । विकासको गति यति तीव्र छ कि मलाई त एकदमै प्रभावित पार्यो । जतासुकै रेलमा पुग्न सकिन्छ, कतै पुग्न गाह्रो छैन ।
- अहिलेसम्म २२ वटा देश घुमिसक्नुभयो । कहिल्यै विदेश बस्ने सोच मनमा आएन ?
भगवानको कृपाले अहिलेसम्म त्यस्तो सोच आएको छैन । भविष्यको कुरा थाहा छैन । म देशप्रेमी हुँ । २२ वटा देश घुमिसकें, बस्ने भए त उहिल्यै बसिसक्थें नि । तपाईंलाई लाग्छ म विदेश बस्छु होला ?
- संगीतमा लागेर जीवन धान्न सकिन्छ ?
अहिलेसम्म त जीवन धानिरहेको छु । आत्मसन्तुष्टि मिलिरहेको छ । म खुसी छु । पैसाले त मानिसलाई कहिल्यै पुग्दैन ।
- एउटा मेला, महोत्सवमा जाँदा पारिश्रमिक कति लिनुहुन्छ ?
आयोजक र कार्यक्रम अनुसार हुन्छ । मैले त्यस्तो पैसा कमाएको छैन । फेरि छापा मार्न आउलान् ।
- तपाईंको नजरमा प्रेम के हो ?
मसँग प्रेमको परिभाषा नमाग्नुस् । आफू त प्रेममा परिएन । व्यक्तिपिच्छे परिभाषा हुन्छ । तर प्रेममा नपरे पनि, नगर्दा पनि कल्पना गर्न सक्छु । प्रेम त नि:स्वार्थ हुन्छ ।
- प्रेम र विवाह के फरक पाउनुहुन्छ ?
प्रेम भएको व्यक्तिसँग विवाह नहुन सक्छ । विवाह भएको व्यक्तिसँग प्रेम नहुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण