बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, ०८ चैत २०८२, ११ : ५२
आइतबार, ०८ चैत २०८२

सारांश

  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
  • पाल्पामा टिपर दुर्घटना हुँदा चार जना, कञ्चनपुरमा कारको ठक्करबाट एक वृद्धा र रूपन्देही तथा मोरङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
  • प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान सुरु गरेको छ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। कञ्चनपुर, पाल्पा, रूपन्देही र मोरङमा यी दुर्घटना भएका हुन्। 

पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित सडकमा चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर शनिबार साँझ दुर्घटना हुँदा त्यसमा सवार चारै जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा अर्घाखाँचीका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार र सोही ठाउँका २६ वर्षीय सुनिल बिक, रूपन्देहीका २६ वर्षीय सुनिल नेपाली तथा पाल्पाका ३३ वर्षीय राजन चिदी रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा पाल्पा र भैरहवाका विभिन्न अस्पतालमा मृत्यु भएको हो।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ। युके ०६ बीएन २८२९ नम्बरको कारको ठक्करबाट ६५ वर्षीय साइकलयात्री मोहन शाहीको शनिबार राति महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। कञ्चनपुरमा भएको यो घटनाले राजमार्गमा तीव्र गतिमा गुड्ने सवारी साधनले पैदल र साइकलयात्रीलाई पुर्‍याउने जोखिमलाई पुनः उजागर गरेको छ।

रूपन्देहीको मायादेवी गाउँपालिका–५ गुरबनियामा पनि आइतबार बिहान अर्को दुखद दुर्घटना भएको छ। लु ६२ प ६७ नम्बरको मोटरसाइकललाई लु १ प १५ नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीय मोटरसाइकल चालक हरि प्रसाद पन्तको मृत्यु भएको छ। गुल्मी घर भएका पन्तको भीम अस्पताल भैरहवामा उपचारका क्रममा ज्यान गएको हो। 

यसैगरी मोरङको रंगेली नगरपालिका–७ पोखरी टोलमा शनिबार राति बीआर ३८ एओ १७५० नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय सन्जु मण्डलको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप