बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ह्युमन थ्रिडी प्रिन्टर : गाजरमा दाँतले कलाकृति कुँदेर विश्वलाई चकित पार्दै चिनियाँ युवती

आइतबार, ०८ चैत २०८२, १२ : ३२
आइतबार, ०८ चैत २०८२

सारांश

  • चीनकी चेन किन आफ्नै दाँतले गाजरमा कलाकृति कुँद्ने क्षमताका कारण चर्चामा छिन्।
  • उनले कुनै औजार प्रयोग नगरी गाजरमा जटिल कलाकृति बनाउँछिन्, जसलाई 'ह्युमन थ्रिडी प्रिन्टर' भनिन्छ।
  • चेनले अहिलेसम्म १०० भन्दा बढी गाजरका कलाकृति बनाइसकेकी छिन्, जसमा ग्रेट वाल र येलो क्रेन टावरका संस्करण लोकप्रिय छन्।

हुबेई । चीनको हुबेई प्रान्तकी २५ वर्षीया चेन किन यतिबेला आफ्नो एउटा अनौठो र अद्भुत क्षमताका कारण विश्वभर चर्चित बनेकी छिन्। उनले कुनै चक्कु वा आधुनिक औजारको प्रयोग नगरी केवल आफ्नै दाँतले गाजरमा जटिल कलाकृतिहरू कुँद्ने गर्छिन्।

उनलाई ‘ह्युमन थ्रिडी प्रिन्टर’ को उपनाम दिइएको छ भने उनले आफूलाई विश्वको एक मात्र ‘टुथ कार्भर’ (दाँतले कुँद्ने कलाकार) का रूपमा चिनाएकी छिन्। चेनले सिर्जना गर्ने कलाकृतिहरूमा कुनै पनि कृत्रिम औजारको सहयोग लिइँदैन।

यो अनौठो कलाको सुरुवात पूर्ण रूपमा संयोगवश भएको चेनको भनाइ छ। गत वर्षको स्प्रिङ फेस्टिभलका बेला भिडियो स्ट्रिमिङ गरिरहँदा उनले गाजर खाइरहेकी थिइन् र रमाइलोका लागि दाँतले गाजरलाई एउटा आकार दिने प्रयास गरिन्। दर्शकहरूबाट निकै प्रशंसा पाएपछि उनले विभिन्न तरकारीहरूमा प्रयोग सुरु गरिन्।

Chen-Qin-carrots2-750x422

सुरुमा उनले मूलाहरूमा पनि प्रयास गरेकी थिइन्, तर त्यसले पेटमा समस्या निम्त्याएपछि उनी पुनः गाजरमै फर्किएकी हुन्। गाजरको सुन्तला रंग र यसको कडापन दाँतले कुँद्नका लागि उपयुक्त हुने उनको अनुभव छ।

चेनले गाजरलाई पहिले नै कुनै आकारमा नकाटी सिधै दाँतको सहायताले कुँद्न सुरु गर्छिन्। यस प्रक्रियामा उनले प्रायः अगाडिका दाँत र कहिलेकाहीँ बंगाराको पनि प्रयोग गर्छिन्।

सूक्ष्म विवरणहरू निकाल्नका लागि उनी आफ्नो अनुभव र महसुसका आधारमा दाँतको दबाब नियन्त्रण गर्छिन्। उनले अहिलेसम्म १०० भन्दा बढी गाजरका कलाकृतिहरू बनाइसकेकी छिन्। उनका सिर्जनाहरूमध्ये चीनको ग्रेट वाल र येलो क्रेन टावरका संस्करणहरू सबैभन्दा बढी लोकप्रिय छन्, जसमा किल्ला र बुर्जाहरूको समेत निकै मसिनो काम गरिएको छ।

आफ्नो बहुमूल्य दाँतको सुरक्षाका लागि चेनले अहिले गुलियो खानेकुरा कम गर्ने, कोल्ड ड्रिंक्स नपिउने र दिनको दुई पटक ब्रस गर्ने नियम बनाएकी छिन्।

लामो समयसम्म कुँदिरहँदा दाँतमा झमझमाउने समस्या हुने भए पनि उनले यसलाई निरन्तरता दिइरहेकी छिन्। सामाजिक सञ्जालमा कतिपयले खानाको बर्बादी गरेको आरोप लगाए पनि उनले त्यसको खण्डन गरेकी छिन्।

उनले कुँदिएका गाजरहरूलाई पछि तरकारीमा प्रयोग गर्ने र बाँकी रहेका टुक्राहरू सुँगुर वा कुखुराको दानाका रूपमा प्रयोग गर्ने भएकाले केही पनि खेर नजाने स्पष्ट पारेकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप