बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इनिशा विक मृत्यु प्रकरण : दोषीमाथि कारबाही गर्न सांसदहरूको माग

आइतबार, ०८ चैत २०८२, १८ : ०४
आइतबार, ०८ चैत २०८२

पोखरा । देशमा भइरहेका हरेक जसो आपराधिक क्रियाकलापमा गण्डकीले विरोध गर्दै आएको छ । प्रदेश सभामा सांसदहरूले खुलेर अपराधको विरोध गर्छन् र दोषीमाथि कारबाहीको माग राख्छन् । 

आइतबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै उनीहरुले इनिशा विकको बलात्कारपछि हत्याको घटनालाई उप्काए । सांसदहरूले शून्य समयमा आफ्ना धारणा राख्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।

उनीहरुले निर्मला पन्तदेखि इनिशा विकसम्मका घटनाले राज्यको उपस्थिति र न्याय प्रणालीमाथि नै प्रश्न उठाएको भन्दै सरकार भएको महसुस गराउन आग्रह गरे । सांसद दमयन्ती रुचालले निर्मला पन्तले न्याय नपाउँदै इनिशा विक जस्ता अबोध बालिकाहरूले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन्।

‘निर्मला पन्तदेखि इनिशा विकसम्मको घटनाक्रम हेर्दा यो बीचमा थुप्रै अबोध छोरीहरूको बलात्कारपछि हत्याजस्तो जघन्य र बर्बर घटना निरन्तर भइरहेको छ,’ उनले भनिन्, ‘यी घटनाक्रमले हाम्रो देशमा छोरीहरू सुरक्षित छैनन् भन्ने प्रस्ट पार्छ । घटना घट्छ, बिस्तारै सेलाउँछ, राज्य जवाफविहीन र मौन देखिन्छ।’ 

उनले इनिशा विकको घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कडा कानुनी सजाय दिन जोडदार माग गरिन्। सांसद दिलमाया पौबीले फागुन २३ गते भएको घटनाको अहिलेसम्म छानबिन र दोषी पक्राउ नपर्नु राज्यकै कमजोरी भएको बताइन् । ‘किन अपराधीलाई कानुनको डर छैन ? यो परिवारको पीडा मात्रै होइन, सिङ्गो समाजको असफलता हो,’ उनी भन्छिन्, ‘जबसम्म अपराधीले कडा सजाय पाउँदैन, न्याय छिटो र निष्पक्ष हुँदैन, तबसम्म यस्ता घटनाहरू दोहोरिइरहन्छन् । अपराधीको मानसिकता बदल्न अपराध गर्नुभन्दा पहिला दस पटक सोच्ने खालको कडा कानुन बन्न जरुरी छ ।’

अर्की सांसद नन्दकला नेपाली दमाईले अन्तर्राष्ट्रिय महिला दिवसकै अभियानको समयमा जघन्य अपराध हुँदा दिवसका कार्यक्रमहरूले पनि हिंसा घटाउन पर्याप्त काम नगरेको बताइन् ।

‘अन्तर्राष्ट्रिय महिला दिवसको अभियान चलिरहेकै बेलामा यस्तो जघन्य अपराध भएको छ । यसले छोरीहरूको जीवन कति सुरक्षित छ भन्ने कुराको चुनौती खडा गरेको छ,’ अघि भनिन्, ‘यस्तै घटनाहरू घटिरहे भने समाजलाई कतातिर डोर्‍याउँछ ? कुनै कसर बाँकी नराखी हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याइयोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप